कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बीपी राजमार्ग: मिलेमतोमा मापदण्ड विपरीत सवारी

राजकुमार कार्की

सिन्धुली — प्रहरी र व्यवसायीको मिलेमतोमा सर्वोच्च अदालतको अन्तरिम आदेश लत्याउँदै बीपी राजमार्गमा बढी भारवहन क्षमताका सवारी साधन पुन: सञ्चालन गरिंदै आएको छ ।

बीपी राजमार्ग: मिलेमतोमा मापदण्ड विपरीत सवारी

मिलेमतोमा हुने त्यस्ता कार्यको व्यवसायीबाटै विरोध भए पनि स्थानीय प्रशासनले भने कानमा तेल हाल्दै आएको छ । प्रहरीले बढी भारवहन क्षमताका सवारीसाधन नियमन गर्न कमलामाई नगरपालिका ४ को हिरापानीमा चेकिङ युनिट राखेको छ ।

राजमार्गको हिरापानीमा ट्राफिकसहित राखिएको प्रहरी युनिटले २४ घण्टा नै ड्युटी गर्छ । तर, जिल्लाबाट आएको आदेशपछि बढी भारवहन क्षमताका सवारी साधन भने छाड्ने गरेको छ । केही व्यवसायीको प्रलोभनमा परी मापदण्डविपरीतको सवारी साधन धमाधम छाड्न थालेपछि अन्यले समेत चलाउन पाउनुपर्ने माग गर्न थालेका छन् ।

‘मिलाउन सक्नेको छाड्ने र अन्यको रोक्ने कार्यले मिलिभगत प्रस्ट भएको’ एक व्यवसायीले बताए । छोडा सबैको सवारीसाधन छोड्नुपर्‍यो, नियमविपरीत भए कि सबैको रोक्नुपर्छ, वितरक संघका जिल्लाध्यक्ष अच्युतम ढकालले भने, ‘केही मात्र छोडा व्यवसायीबीच भेदभाव भएको र आर्थिक चलखेलसमेतको आशंका हुन थालेको छ ।

सेटिङमा छाडिने मापदण्डविपरीतका सवारीसाधन प्राय: रातको समयमा पास गर्ने गरिएको छ । हिरापानीका एक स्थानीयका अनुसार रातको १२ बजेपछि मापदण्ड विपरीतका सवारीसाधनको लर्को नै लाग्ने गरेको छ । ‘कति गन्तव्यतर्फ प्रस्थान गर्छन्, कति फर्किन्छन्,’ उनले भने, ‘यो प्रक्रिया महिना दिनदेखि नै चल्दै आएको छ । चेकिङमा रहेका एक प्रहरीका अनुसार मापदण्डबाहेकको सवारी साधनलाई फर्काउने गरिएको तर जिल्लाबाट आदेश आएपछि छाड्ने गरिएको स्विकारे । बीपी राजमार्गमा बढी भारवहन भएका सवारी साधनलाइ रोक लगाउन परेको रिटमा सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले गत जेठ २१ गते बढी भारवहन क्षमताका ठूला सवारीलाई रोक लगाउन अन्तरिम आदेश जारी भएको थियो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले गत जेठ १३ मा बीपी राजमार्गमा ठूला सवारी साधनसमेत चल्न पाउने निर्णय गरेका थिए । त्यसविरुद्ध अधिवक्ता कैलाशराज दाहालले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । मापदण्डविपरीत र रुट परमिट नभएका सवारी साधनलाई रोक लगाइएको ट्राफिक कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक चन्द्र श्रेष्ठले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले नियमविपरीत कुनै काम नभएको दाबी गरे । १० टन क्षमताका मालबाहक सवारी र मझौला यात्रुबाहक सवारीसाधन चल्न दिएको प्रजिअ ज्ञानप्रसाद ढकालको भनाइ छ ।

यातायात व्यवस्था विभागले बीपी राजमार्गमा बढी भारवहन क्षमता भएका सवारीसाधनलाई चल्न दिने निर्णय गरेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गरेको आदेशअनुसार जरुरी सूचना नै प्रकाशन गरेर मापदण्ड तोकी बढी भारवहन क्षमता भएका सवारीसाधनलाई चल्न दिने यातायात व्यवस्था विभागले निर्णय गरेकामा कानुनविपरीत भएको भन्दै रिट परेको हो ।

यातायात व्यवस्था विभागले यात्रुबाहक सवारीसाधन ह्विलबेस चार हजार दुई सय २५ एमएमको चालकसहित ३२ सिट भएको बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म चल्न दिने नयाँ निर्णय गरेको थियो । यातायात व्यवस्था विभागले मालबाहक सवारी साधनमा समेत ६ टन भारवहन क्षमता वृद्धि गरि चल्न दिने निर्णय गरेको थियो ।

प्रकाशित : असार १८, २०७५ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?