कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

अनुगमन टोली आउने थाहा पाएपछि खुलेनन् औषधि पसल

विनय आजाद

सिरहा — औषधि व्यवस्था विभागको अनुगमन टोली आउने थाहा पाएपछि बुधबार सिरहाका औषधि पसल नै खुलेनन् । औषधि व्यवस्था विभागको शाखा कार्यालय, विराटनगरबाट अनुगमन टोली बुधबार सिरहा आएको छ । तर व्यवसायीले अनुगमन आउने पूर्वसूचना पाए । बुधबार दिनभर सिरहाका औषधि व्यवसायी पसल बन्द गरेर फरार भएका छन् । 

अनुगमन टोली आउने थाहा पाएपछि खुलेनन् औषधि पसल

अनुगमन टोली बुधबार गोलबजार, मिर्चैया, सिरहा, लहान लगायतका स्थानमा औषधि पसल खोज्दै हिडेको थियो । विभागका निमित्त प्रमुख निकेश श्रेष्ठले बुधबार बिहान टोली सप्तरी हुँदै सिरहा गएको बताए ।

'हाम्रो टोली अनुगमनका लागि सप्तरी हुँदै बिहानै सिरहा गएको हो,' उनले कान्तिपुरसँग भने, 'टोली अझै उत्तै छ ।' औषधि बिक्री गर्न पसलमा अनिवार्य ‘फर्माशिष्ट’ पढेको व्यक्ति हुनुपर्दछ । तर, जिल्लाका अधिकांश औषधि व्यवसायीहरूले फर्माशिष्ट नराखी औषधिको बिक्रीवितरण गर्ने, औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिसमेत बिक्री गर्दै आएका छन् ।

यतिमात्र नभई जिल्लामा सञ्चालित अधिकांश औषधि पसल अवैध रूपमा सञ्चालित छन् । जसका कारण उनीहरू जब-जब अनुगमन टोली आउँछ, पसल नै बन्द गरेर भाग्ने गर्छन् ।

श्रोतका अनुसार, विभागसँगको मिलेमतोमै अवैध रूपमा औषधि पसलहरू सञ्चालन र अवैध औषधि बिक्रीवितरण हुँदै आएका छन् । त्यसैले औषधि व्यवसायीहरू अनुगमन टोली आउनुपूर्व नै आउन लागेको सूचना पाउँछन् र पसल बन्द गरेर भाग्छन् ।

'सेटिङमै यो काम हुन्छ,' नाम नबताउने शर्तमा एक व्यवसायीले नै भने, 'अनुगमन टोली त देखाउनकै लागि आउँछन् । अनुगमन टोली आउनुअघि नै पसल बन्द हुनुले यसलाई प्रष्टै पार्छ नि ।'

यस विषयमा विभागका निमित्त प्रमुख श्रेष्ठ भने केही पनि बोल्न मानेनन् । अनुगमन टोली आउनुअघि नै पसलेहरू जानकारी पाउँछन्, तपाईंहरू नै सूचना चुहाएर आउनुहुन्छ भन्ने सुनिन्छ नि ? भन्ने प्रश्नमा उनले भने, 'यो विषयमा म केही भन्न सक्दिनँ ।'

प्रकाशित : जेष्ठ ९, २०८१ २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?