सर्लाहीको विष्णु गाउँपालिकामा भीषण आगलागी, ७२ घर जलेर नष्ट
सर्लाही — भारतसँग सीमा जोडिएको सर्लाहीको विष्णु गाउँपालिकाको एक बस्तीमा भीषण आगलागी भएको छ । आगलागीबाट ७२ घर जलेर नष्ट भएको छ ।
विष्णु गाउँपालिका-१ बाराउद्योरणस्थित एक बस्तीमा बिहीबार दिउँसो आगलागी हुँदा ७२ परिवार घरबारविहीन बनेका हुन् । स्थानीय चन्द्रेश्वर राउत, बिकी राउत, रामु राउत, श्यामु राउत, चतुरभुज राउतलगायतको घर जलेर नष्ट भएका हुन् ।
बाराउद्योरणका स्थानीयका अनुसार शत्रुधन राउतको घरबाट आगलागी सुरु भएको हो । आगलागी भएपछि उनको घरमा रहेको ग्यास सिलिण्डर विस्फोट भएपछि आगो गाउँतिर फैलिएको र पटक-पटक आधा दर्जन ग्यास सिलिण्डर विस्फोट हुँदा आगलागीले भीषण रुप लिएको थियो ।
घटनास्थलमा रहेका सशस्त्र प्रहरी १० नम्बर गणका प्रमुख प्रहरी उपरीक्षक विनोदराज खनालले आगलागी नियन्त्रणमा आइसकेको जानकारी दिए । उनका अनुसार ७२ परिवार घरवारविहीन भएको जानकारी आएको छ ।
आगलागीबाट क्षतिसहित विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।