२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

‘वीरगन्जलाई मेडिकल हब बनाउन नीतिगत बन्देज छ’ 

२०४२ सालमा नेपालमा काम गर्न आउँदा मेरो वीरगन्जमा मेरो पोस्टिङ भयो । त्यो बेला यहाँ डाक्टरको संटक देखेपछि मेडिकल कलेज स्थापना गर्ने सपना पलाएको थियो ।  त्यो बेला म एक्लैले डाक्टर, नर्स, सर्जनका रुपमा काम गर्नुपर्यो । मेडिकल कजेज भइदिए स्वास्थ जनशक्ति उत्पादन गर्न सकिन्थ्यो र त्यो नेपालका लागि पनि राम्रो काम हुन्छ भन्ने मलाई लाग्यो ।

‘वीरगन्जलाई मेडिकल हब बनाउन नीतिगत बन्देज छ’ 

तर, त्यस्तो ठूलो प्रोजेक्ट वीरगन्जमा कसरी सुरु गर्ने भनेर म खोजी र अध्ययनमा लागेँ । वीरगन्जबाट चुनाव जित्नु भएको कृष्णप्रसाद भट्टराईलाई यसबारे प्रस्ताव राख्दा उहाँले सहयोग गर्न इच्छा देखाउनु भयो । उहाँकै उत्साहले गर्दा मेडिकल कलेज स्थापना गर्न सफल भइयो ।

डाक्टर, नर्स, प्राविधिक लगायत स्वास्थ जनशक्ति उत्पादन गर्न र गुणस्तरीय एवम् गरिबका लागि सुलभ स्वास्थ सुविधा दिन यो संस्था सफल भएको छ । गरिबले पनि डाक्टर पढ्न सक्ने गरी मेडिकल कलेज बनाउने हाम्रो सधैँको लक्ष्य थियो । त्यसका लागि वीरगन्जका राजनीतिकर्मी र यहाँका सामाजिक संस्थाहरूबाट सहयोग पायौं । वीरगन्जलाई देश-विदेशमा मेडिकल शिक्षामा पहिचान दिलाउने यो नै पहिलो संस्था बन्यो । अझै पनि निजी क्षेत्रमा सबैभन्दा राम्रो मेडिकल कलेजका रूपमा परिचित छ ।

हाम्रो मेडिकल कलेज कुनै बेला वीरगन्जको प्रख्यात पर्यटकीय स्थल थियो । यसको पूर्वाधार अन्य संस्थाकोभन्दा फरक र आकर्षक छ । नेपालको मेडिकल पर्यटनमा हाम्रो संस्थाको पनि योगदान छ । वीरगन्ज वा नेपालमा मेडिकल शिक्षाको उच्च संस्था छ भनेर देश-विदेशमा पहिचान दिन सक्नु हाम्रो विशेषता हो । यहाँ एक ताका युरोप अमेरिकाका विद्यार्थीहरू पढ्थे । स्वास्थ सेवामा वीरगन्जलाई सबै किसिमका सेवा सरल, सुलभ र सस्तोमा उपलब्ध गरायौं । हाल वीरगन्ज महानगरपालिकामा सबैभन्दा धेरै रोजगारी सिर्जना गर्नेमा संस्थामा नेसनल मेडिल कलेज अग्रपंक्तीमा छ । हाल प्रत्यक्ष रूपमा २ हजार र परोक्ष रूपमा ५ हजारलाई रोजगारी दिएका छौं ।

सरकारले बीचमा केही समय विदेशी विद्यार्थी लिन बन्द गरिदिएको थियो । अब फेरि खुला गरेको हुनाले वीरगन्जका होटलहरू समेत अब पुन: चल्छन् भन्ने लागेको छ । वीरगन्ज सरकारलाई सबैभन्दा धेरै कर तिरेर हामीले आर्थिक सहयोग गर्दै आएका छौं । कोभिड महामारीका बेला कोभिड अस्पताल सुरु गर्ने हामी पहिलो संस्था थियौं, स्वास्थ मन्त्रालयसँग सम्झौता गरेर सो अस्पताल खोलेका थियौं । त्यसको पैसा हामीले अहिलेसम्म पाएका छैनौं । मधेश प्रदेशभर डिजास्टर व्यवस्थापन प्रणाली हामीसँग मात्रै छ ।

हालै म काठमाडौंको नेसनल मेडिकल कलेज गएको थिएँ । त्यहाँ महानगरको सहयोगमा ६५ वर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई उपचार खर्चमा सहुलियत दिने व्यवस्था रहेछ । उहाँहरूले ४० प्रतिशत मात्र खर्च गरे पुग्ने रहेछ । स्तन क्यान्सर आङ खस्ने समस्या भएकाले सित्तैमा उपचार पाउँदा रहेछन् । हामी पनि त्यस्तो कार्यक्रम सञ्चालन गर्न चाहन्छौं । वीरगन्ज महानगरको सहयोग प्राप्त भयो भने हेल्थ म्यानेजमेन्ट प्याकेज निर्माण गर्ने प्रस्ताव राख्न चाहन्छु ।

हामी वीरगन्जलाई मेडिकल हब बनाउने सोचमा छौं तर धेरे बाधा झेल्नुपरेको अवस्था छ । चितवन, विराटनगर लगायत ठाउँहरुमा दुईभन्दा धेरै मेडिकल कलेज खुले तर वीरगन्जमा एकभन्दा बढी स्थापना हुन सकेका छैनन् । नेपाल सरकारले जुन नीति लिएको छ, त्यसले थप मेडिकल कलेज आउँछन् कि आउँदैनन्, यो मूल प्रश्न हो । अहिले स्वदेशी लगानीकर्तालाई बढावा दिने भन्ने सुनिन्छ तर यसको ठीक विपरित अभ्यास भइरहेको छ । मेडिकल एकुजेकसन कमिसनमा एमबीबीएस पढ्न १३/१४ हजारले परीक्षा दिनेमा ७ हजार हुन्छन् । उनीहरुका लागि जम्मा १९२५ वटा सिट छ । बीएससी नर्सिङमा पनि उस्तै हालत छ । परीक्षा दिने ८ हजार हुन्छन् भने उत्तीर्ण हुनेको संख्या ४ हजार छ । उनीहरुका लागि जम्मा १७२० सिट उपलब्ध छ ।

पछिल्लो समय विदेशमा एमबीबीस पढ्न जानेको संख्या ७ सय छन् भने नेपालमा पढ्न चाहने विद्यार्थी ९०० छ भने उनीहरूका लागि ५ सय सिट छ । आठ महिनामा ८० अर्ब १४ करोड रूपैयाँ विदेशिएको छ । मेडिकल कलेजले जति विदेशी पैसा आर्जन गर्नुपर्ने हो, त्यो गर्न सकिरहेको छैन । किन ? किनभने सरकार नै ठूलो बाधक बनेको छ । निजीलाई बन्देज लगाइएको छ । अहिले जति पनि निजी मेडिकल कलेज छन्, यी सबै अबको पाँच वर्षमा कि त सरकारले लिन्छ कि बन्द हुन्छ ।

हाम्रो नेसनल मेडिकल कलेज पनि बन्द हुन्छ । कसैले निजी मेडिकल कलेज चलाउन चाहन्छ भने उसले तीन सय बेडको अस्पताल तीन वर्षसम्म चलाउनुपर्छ । यो नियम सरकारका लागि भने लागू हुँदैन । यस्तो दुनियाँ यस्तो नियम कहीँ पनि छैन जहाँ सरकारको लागि एउटा र जनताको लागि अर्को व्यवस्था होस् । त्यस्तै, एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई लाइसेन्स दिन नपाउने व्यवस्था छ । यसअनुसार सबैले पाँच वटालाई लाइसेन्स दिइसके, नयाँलाई कसले दिन ! यसको अर्थ, अब कसैले मेडिकल कलेज खोल्दैन । हामी विदेशीलाई चाहिँ लगानी गर्न आह्यवान गरिरहेका छौं, तर स्वदेशीलाई लगानी गर्न दिइरहेका छैनौं । यसरी त शिक्षा-उद्योग कसरी चल्छ !

-डा. जैनुद्दिन अन्सारी नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका अध्यक्ष हुन् ।

प्रकाशित : चैत्र २८, २०८० १३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?