कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

घटेन हुन्डी कारोबार

शंकर आचार्य

पर्सा — प्रहरीले प्रतिबन्धित भारतीय नोटसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार पश्चिम चम्पारण पोस्ट भंगाहा जसौलीका ३५ वर्षीय लालु मिया छन् । मियालाई प्रहरीले पर्सागढी नगरपालिका–१ मनवा बजारबाट शनिबार पक्राउ गरेको हो । 

घटेन हुन्डी कारोबार

प्रहरी चौकी मनवाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा बीआर २२ एजे ३१९९ नम्बरको मोटरसाइकल रोकी जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार मियाको शरीर खानतलासी गर्दा उनको पाइन्टको खल्तीबाट प्रतिबन्धित भारु ५ सय दरका नोट २ सय ४९ थान, भारु १ सय दरका नोट २ थान र भारु २० दरका नोट ३ थान गरी भारु १ लाख २४ हजार ७ सय ६० रुपैयाँ फेला परेको थियो ।

हुन्डी कारोबारी पक्राउ परेको यो पछिल्लो घटना हो । नियमित रुपमा यसरी कारोबारी पक्राउ परिरहे पनि जिल्लामा हुन्डी कारोबार घटेको भने छैन । यसरी पक्राउ पर्नेमा अधिकांश भरिया रहेका छन् ।

१ लाख रुपैयाँभन्दा बढी नगदको बैंकिङ कारोबार गर्दा समेत बैंक तथा वित्तीय संस्थाहरुले कडाइ गरिसकेकाले स्रोत नखुलेको ठूलो रकम बोकेर हिँड्दा बरामद हुने रकम अधिकांश हुण्डी कारोबारको हुने ठहर प्रहरीले गर्ने गरेको छ ।

जिल्ला प्रहरी कार्यालयको तथ्यांक हेर्दा आव २०७९/०८० मा जिल्लाका विभिन्न स्थानबाट २२ कारोबारी पक्राउ पर्दा उनीहरूको साथबाट १ करोड ९३ लाख ६६ हजार ३ सय रुपैयाँ बरामद भएको छ । आव २०७८/०७९ मा पनि २२ कारोबारी नै पक्राउ पर्दा उनीहरुको साथबाट १ करोड ६५ लाख १३ हजार ६ सय २० रुपैयाँ बरामद भएको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी दीपक गिरी खुल्ला सिमाना र नेपाली उपभोक्ता भारतीय बजारमा किनमेल गर्न जाने प्रवृत्ति रहुन्जेल हुन्डी कारोबार नघट्ने बताउँछन् । विगतमा भारु बढी भित्रिने गरेकोमा पछिल्ला दिनहरुमा भने भारतबाट नेपाली रुपैया हुन्डी कारोबार गरी ल्याउने प्रवृत्ति बढेको उनी बताउँछन् । नेपालीहरू किनमेल गर्न सीमावर्ती भारतीय बजार पुग्दा त्यहाँ नेपाली रुपैयाँमा विनिमय गरेपछि दैनिक ठूलो परिमाणमा नेपाली मुद्रा त्यहाँ जम्मा हुने गरेको र यसरी भारत पुगेको नेपाली रुपैयाँ उनीहरूलाई उपयोगी नहुने भएकाले त्यस्तो रकम पुनः नेपाललै फर्काउने गरेको हुन सक्ने डीएसपी गिरी बताउँछन् ।

प्रकाशित : श्रावण २२, २०८० १८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतिप्रति तपाईंको के टिप्पणी छ ?