२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

सिजन सकिने बेला भारतीय गोलभेडासँग प्रतिस्पर्धा

उत्पादनको सुरुदेखि नै प्रतिस्पर्धा गर्नुपर्दा लगानी उठ्न नसकेको किसानको गुनासो
ओमप्रकाश ठाकुर

सर्लाही — बर्सेनि निख्रिने बेलामा गोलभेडाको भाउ अकासिने गरेकोमा यस वर्ष भने मूल्य निरन्तर ओरालो झरिरहेको छ । मूल्य झर्दा किसान मारमा परेका छन् । भाउ ओरालो झर्नुको मुख्य कारण भने भारतीय गोलभेडा नेपाल भित्रिनु हो । साताअघि किसानले किलोको ३० देखि ३५ रुपैयाँमा बेच्दै आएको गोलभेडा अहिले घटेर प्रतिकिलो १२ रुपैयाँमा झरेको छ । 

सिजन सकिने बेला भारतीय गोलभेडासँग प्रतिस्पर्धा

भारतबाट ठूलो परिमाणमा गोलभेडा भित्रिएकाले भाउ ओरालो लागेको किसानहरू बताउँछन् । जिल्लाका प्रायःजसो हाटबजारमा भारतीय गोलभेडा छ्याप्छ्याप्ती भेटिन्छन् । मूल्यको हिसाबले नेपाली गोलभेडाभन्दा भारतीय सस्तो हुने गरेको छ ।

दुई विघामा गोलभेडा खेती गरेका हरिवन नगरपालिका–२ अत्रौलीका किसान सुरेन्द्र मण्डलले यस वर्ष गोलभेडाबाट चाहे अनुसारको आम्दानी लिन नसकेको बताए । उनले उत्पादनको मुख्य समयदेखि नै भारतीय गोलभेडा भित्रिएपछि मूल्य नपाएको गुनासो गरे ।

मण्डलले चिसो मौसममा बोट जोगाउन लागेको खर्च र ठेक्कामा लिएको बारीको लागत जोड्दा मिहनेत अनुसारको आम्दानी हुन नसकेको बताए । ‘यस वर्ष भारतीय गोलभेडाले हामी नेपाली किसानलाई पछार्‍यो, उत्पादनको मुख्य समयदेखि नेपाली बजारमा हाबी भएको भारतीय गोलभेडाले उक्सन दिएको छैन,’ उनले भने, ‘बारीको ठेक्का, औषधि र मलमै हाम्रो अधिक खर्च भयो, आम्दानी हुन सकेन ।’

अत्रौलीकै अर्का किसान अर्जुन महतोले भारतीय किसानको लागतभन्दा नेपाली किसानको उत्पादन लागत बढी हुने गरेको बताए । उनले भारतीय किसानले अनुदान पाउने गरेकामा नेपाली किसानले राज्यबाट अनुदान नपाएको गुनासो पोखे । भारतीय गोलभेडासँग प्रतिस्पर्धा गर्दा किसानको आम्दानी घटेको महतोको बुझाइ छ । उनका अनुसार भारतीय गोलभेडामा विषादीको मात्रा बढी भए पनि सस्तोका कारण बजार ओगट्न सफल भएको छ ।

‘नेपाली किसानले गोलभेडा उत्पादन गरेको मुख्य समयमै भारतीय गोलभेडा भित्रिन्छ, जसले नेपाली गोलभेडाको मूल्य घटाइदिन्छ,’ उनले भने, ‘भारतीय किसानले राज्यबाट विभिन्न किसिमका अनुदान पाउँछन्, जसले लागत कम हुन्छ भने नेपाली किसानको लागत नै बढी लाग्ने गर्छ ।’

भारतीय गोलभेडा नेपाली बजारमा आएपछि यहाँको उत्पादनको माग घटेको व्यापारीहरू बताउँछन् । भारतीय गोलभेडा निकै कम मूल्यमा बजारमा रहेकाले प्रतिस्पर्धामा यहाँ उत्पादन भएको गोलभेडाको मूल्य कम हुन गएको व्यापारी उमेश चौधरीले बताए । उनका अनुसार यहाँका गोलभेडाको मूल्य काठमाडौंको खरिद मूल्यका आधारमा तय हुन्छ ।

‘भारतीय गोलभेडा नेपाली बजारमा भित्रँदा नेपाली गोलभेडाको मूल्य घट्ने गरेको छ, जसको मार यहाँका किसानलाई परेको छ,’ व्यापारी चौधरीले भने, ‘यहाँका गोलभेडा स्वादमा राम्रो भए पनि मूल्यका हिसाबले भारतीय गोलभेडा सस्तो हुन्छ, प्रतिस्पर्धामा उत्रिँदा स्वदेशी गोलभेडा उत्पादन गर्ने किसान मारमा पर्दै आएका छन् ।’ गोलभेडा समयमा बिक्री नगरे कुहिएर नष्ट हुने भएकाले बजार भाउअनुसार बिक्री गर्नुपर्ने बाध्यता किसानको छ ।

प्रकाशित : वैशाख ६, २०८० ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?