कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रित्तो कारागारमा ६ कर्मचारी

अमन कोइराला

सर्लाही — कैदीबन्दी नै नभएको मलंगवा कारागारमा वर्षाैंदेखि कामै नगरी कर्मचारीले दिन बिताइरहेका छन् । कारागार जीर्ण भएपछि सबै कैदी बन्दी सारेर २०६९ माघ देखि भवन निर्माण हुँदै छ । निर्माण नसकिएकाले कारागार रित्तो छ ।

रित्तो कारागारमा ६ कर्मचारी

कारागारमा १२ जना कर्मचारी दरबन्दी भए पनि कैदी बन्दी नभएपछि ६ जना काजमा अन्यत्र गएका छन् । कारागार प्रमुख, नायब सुब्बा, लेखापाल र ३ जना कार्यालय सहयोगी काम नभएर त्यसै बसिरहेका छन् ।

कारागार अति जीर्ण भएपछि नयाँ बनाउन ठेक्का लागेर काम सुरु भएपछि कैदी बन्दी स्थानान्तरण गरेर खाली गरिएको थियो । ठेकेदारले समयमा कामै नगरिदिएका कारण भवनको काम जगमै सीमित छ । कारागार प्रमुख अनिलकुमार आचार्यले पहिलो ठेकेदारले कामै नगरी समय गुजारेपछि पुन: अर्काेलाई ठेक्का दिइएको बताए । ‘दोस्रो ठेक्का लागेको २ वर्ष भइसक्दा पनि काम अघि बढेको छैन,’ उनले भने, ‘ठेकेदारले काम नगरिदिएका कारण ६ वर्षदेखि कारागार रित्तो छ ।’

यसअघि २ सय ५० कैदी बन्दी राख्दै आएको कारागार भवन नबनेकै कारण रित्तो भएको हो । कारागारका कर्मचारीको अहिलेको काम भनेको पुर्पक्षका लागि थुनामा परेका बन्दीलाई प्रहरी हिरासतमा राख्दा सिधा खुवाउनेमा सीमित छ ।पुर्पक्षका लागि थुनामा परेकालाई झुम्का र महोत्तरी कारागार लग्नुपर्ने भएकाले केही दिन प्रहरीले नै हिरासतमा राख्ने गर्छ । ट्रकमा अट्ने कैदी बन्दी पुगेपछि मात्र कारागार लैजाने गरिएको छ । ‘अहिले हाम्रो काम भनेको कारागार नलगुन्जेल अदालतको आदेशले थुनामा राख्नुपर्नेलाई सिधा खुवाउने मात्र हुन पुगेको छ,’ आचार्यले भने, ‘यही कामका लागि बसेका छौं । अरूले हेर्दा सुतेरै तलब खाएका छन् भने जस्तो छ ।’

जागिरे जीवनको १८ वर्ष लगातार मलंगवा कारागारमा बिताएका आचार्यले कैदी बन्दी नहुँदा काम गरे जस्तै नभएको सुनाए । ‘काम त गरेका छौं,’ उनले भने, ‘तर, काम गरे जस्तो देखिएको छैन । कारागार नहुँदा चौतर्फी समस्या थपिएको छ ।’पुर्पक्षका लागि थुनामा परेकालाई अर्काे जिल्लाको कारागारसम्म लैजाने खर्च कसले बेहोर्ने भन्ने पनि समस्या छ । प्रहरीले कारागारलाई कैदी बन्दी ओसारपसार गर्ने खर्चका लागि भन्ने गर्छ । आचार्यले बजेट नै नभएपछि खर्च दिन सक्ने कुरै नभएको बताउँछन् ।

‘हामीसँग बजेट नभएकाले प्रहरीले नै कैदी बन्दीलाई अर्काे जिल्लाको कारागार पुर्‍याउँदै आएको छ,’ उनले भने, ‘छिटो भवन बनाइदिए यस्ता समस्या समाधान हुन्थे ।’महिलातर्फ २५ जना अट्ने र पुरुषतर्फ ७५ जना अट्ने भवन निर्माण हुन लागेको हो । महिला कैदी बन्दीका लागि बन्दै गरेको भवन सम्पन्न हुने अवस्थामा छ । पुरुषतर्फको भने भर्खर जगको काम भइरहेको छ ।आचार्यले काम नगर्ने ठेकेदारलाई थुन्ने गृहमन्त्रीको चेतावनीपछि केही दिनदेखि कारागार निर्माणको काम तीव्र भएको बताए । ‘पहिले यसरी काम भइदिएको भए बनिसक्थ्यो,’ उनले भने, ‘बल्ल काम सुरु गरेका छन् । कहिले बन्ने टुंगो छैन ।’

प्रकाशित : जेष्ठ २४, २०७५ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?