२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

'स्किल अप फ्राइडे' कार्यक्रम सञ्चालन गर्ने मेयर थापाको प्रतिबद्धता

इलाम — इलाम नगरपालिकाले 'स्किल अप फ्राइडे' र दुर्व्यसनमुक्त नगरपालिका घोषणा कार्यक्रमलाई अघि बढाउने भएको छ । नगर प्रमुख केदार थापाले बिहीबार नगरपालिका क्षेत्रमा यही वर्षदेखि 'स्किल अप फ्राइडे' कार्यक्रम लागू गर्ने र दुर्व्यसनमुक्त नगरपालिका घोषणा गर्न पहल गर्ने प्रतिबद्धता जनाएका हुन् । 

'स्किल अप फ्राइडे' कार्यक्रम सञ्चालन गर्ने मेयर थापाको प्रतिबद्धता

युवा र विद्यार्थीहरुका माग लिएर बिहीबार नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पासहित नेता कार्यकर्ताको टोली नगरपालिका पुगेको थियो ।

नेविसंघले बिहीबार ७५३ वटै स्थानीय तहमा ज्ञापनपत्र बुझाउने कार्यक्रमअन्तर्गत अध्यक्ष शेर्पासहित नेता कार्यकर्ताहरु इलाम नगरपालिका पुगेका हुन् । अध्यक्ष शेर्पाले नेविसंघले बिहीबार एकै प्रकृतिको ज्ञापनपत्र ७५३ वटै स्थानीय तहमा बुझाएको बताए ।

नेविसंघले विद्यालय शिक्षा पूर्णत: निशुल्क गर्न, नेपालको आधारभूत र माध्यमिक तहसम्मको विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि एवं उन्नयन गर्न र पालिकामा शैक्षिक अवस्थाको अनुगमन, अध्ययन एवं अनुसन्धान गर्न भन्दै १७ बुँदै ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापनपत्रमा नेविसंघले विद्यार्थीलाई विद्यालय तहबाटै सीप र व्यवहारिक ज्ञानको विकास गराउन 'स्किल अप फ्राइडे' कार्यक्रम लागू गर्न माग गरेको छ । त्यस्तै, अधिकांश विद्यालयहरूले विद्यार्थी एवं अभिभावकबाट भर्ना शुल्क, परीक्षा शुल्क, मासिक शुल्क, वार्षिक शुल्क, पाठ्यपुस्तक शुल्क, प्रमाणपत्र शुल्क लगायत अन्य शुल्क उठाउँदै आइरहेको भन्दै विद्यार्थी र अभिभावकलाई मार पर्ने गरी त्यस्ता अतिरिक्त शुल्क असुल नगर्न र संविधानको व्यवस्थाको मर्म र भावनालाई अवलम्बन गर्न आग्रह गरेको छ ।

नेविसंघले हरेक शुक्रबार एक दिन 'स्किल अप फ्राइडे' कार्यक्रम घोषणा गर्न समेत माग गरेको छ । नेविसंघको त्यही मागबमोजिम इलाम नगरपालिकाका मेयर थापाले तत्कालै नगरपालिकाले सो कार्यक्रम लागू गर्ने बताएका हुन् ।

प्रकाशित : वैशाख ६, २०८१ १५:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?