कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

बेपत्ता भएको ३६ वर्षपछि घर फर्कँदा...

धनकुटा — धनकुटा नगरपालिका-७ बसपार्कमा सानो होटल छ । त्यहाँ रहेकी ६५ वर्षीया लक्ष्मीमाया तामाङको छेउमा आएको अपरिचित मानिसले एकतमास हेर्दा पसलमा आएको ग्राहक अनुमान गरिन् । तर, अपरिचित व्यक्तिले तपाईको छोरा हुँ भन्दै जिकिर गर्दा अचम्मित बनिन् । 

बेपत्ता भएको ३६ वर्षपछि घर फर्कँदा...

आइतवार दिउँसो पसलमा एक महिलाका साथ आएका ती व्यक्तिले आफु ३६ वर्ष पहिले हराएको छोरा भनेर आफ्नो जिद्धि छोडेनन् । तर, लक्ष्मीमायाले रत्तिभर बिश्वास गरिनन् । यहि क्रम केही घण्टा चलिरहृयो । आफन्त बोलाएर केरकार गरियो ।

फटाफट आफ्ना भाइबैनी, छरछिमेक र आफन्तको नाम भन्दै खोजी गर्न थालेपछि लक्ष्मीमाया र आफन्तजन पत्याउन बाध्य भए । आमा लक्ष्मीमायाले भनिन्, ‘भुपाल माईला, गोपाल साईला, बैनीहरु मिना, कृष्ण सबैलाई सोध्यो । २०४५ सालको भुकम्पपछि जन्मिएकी बैनी खोइ भन्दा बेपत्ता भएको छोरा हो कि भन्ने लाग्यो ।’ विगतका एकपछि अर्को गर्दै कुरा गर्न थालेपछि विश्वास लागेको उनले बताइन् ।

चार मध्ये जेठो सन्तान पूर्ण भारतमा बसोबासका क्रममा पुरन सिं भएका छन् । कर्नाटककी जया सिं सँग सन् १९९७ मा विवाह बन्धनमा बाँधिएका उनी श्रीमतीका साथ घर फर्किएका छन् ।

भाइ गोपालका अनुसार पधेरामा पानी लिन जाँदा बाटैबाट दाजु गाग्री छोडेर भागेका थिए । ‘होलीको दिन थियो, दाजुभाइमा सामान्य विवाद हुँदा दाजु घर छोडेर हिँड्नु भयो,’ उनले भने, ‘दुइ/चार दिनमा फर्कने होला भन्दाभन्दै नफर्किएपछि हामीले माया मारेका थियौं ।’ पुरनले आफुले किन घर छोडे भन्ने बिर्सिएको बताए ।

उनले २०४५ को फागु पूर्णिमाका दिन १४ वर्षको उमेरमा घर छोडेको बताए । यतिबेला घर फर्कदा उनको परिवारजनमा खुसीयाली छाएको छ । दक्षिण भारतको कर्नाटकमा बसोबास गर्ने उनी यत्तिका वर्षपछि घर फर्किएका हुन् । आफु हिँड्दा पहिलेको ठाउँमा घर नभएपछि उनले चिनेका हुलाकटोलका नारायणगोपालसँग सोधखोज गरेर पत्ता लगाएको बताए ।

‘बसपार्कमा जाँदा आमालाई भेटे,’ उनले भने, ‘छेउमा उभिएर अनुहार हेरें, आफु हराएको छोरा भन्दा पनि ३ घण्टासम्म बेवास्ता गर्नुभयो ।’ उनी गएपछि परिवारसँग टेलिफोन समेत भएको थिएन । घर छोडेपछि धरानबाट पोखरा गएको र त्यहाँ ९ महिना बसेर फेरि काठमाडौंमा ६ महिना बसेको उनले सुनाए । त्यसपछि साथीको सम्पर्कबाट भारततिर गएको उनले बताए ।

कर्नाटकको महेश्वर पुगेर होटलमा काम गरेको बताए । सुरुवाती दिन मै त्यहाँ रहँदा २० वर्षकी केटीसँग चिनजान भएपछि उनैसँग विवाह भएको उनले बताए ।

साथमा रहेकी जया सुरुमा नेपाली मान्छेले धोका दिएर भाग्ला कि भन्ने डर लागेको बताइन् । उनी नेपाली भाषा बोल्न र बुझ्न सक्दिनन् । पुरनलाई फर्केर नेपाल आउन मन नलागे पनि आफ्नै करले फर्किएको बताए । ‘सानैमा घर छोडेपछि आमा र आफन्तले के भन्लान् ठानेर फर्कन मनै लागेन,’ पुरनले भने, ‘श्रीमतीले नेपालका परिवार र आफन्तसँग भेट गराउनु भनेर कर गरेपछि आएँ ।’

बेपत्ता भएपछि पोखरामा भएको थाहा पाएर आमा र आफन्त खोज्न गएका थिए । तर त्यहाबाट पनि उनी काम गर्ने ठाउँ हटेको थाहा पाएपछि घर फर्किएको आमा लक्ष्मीमायाले सुनाइन् । भारतमा सुरुमा होटलमा काम गरेका उनी पछि सेक्युरिटी गार्ड पनि भएका थिए । उनीहरुका २५ र २० वर्षका छोरा दुवै जागिरे छन् । यत्तिका वर्षपछि घर आएका उनी एक साता बसेर कर्नाटक नै फर्कदैछन् । रेलमा ४८ घण्टाको यात्रापछि उनी नेपाल आएका थिए ।

प्रकाशित : फाल्गुन २१, २०८० २०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×