कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

१० दिनदेखि अवरुद्ध फिदिम-ताप्लेजुङ खण्ड अस्थायी रुपमा खुलाइयो

लक्ष्मी गौतम

पाँचथर — बाढी पहिरोले पुल बगाएपछि आवागमन ठप्प भएको हेवा खोलास्थित मेची राजमार्ग १० दिनपछि पुन: संचालनमा आएको छ । मंगलबारदेखि यातायातका साधन अस्थायी रुपमा आवतजावत गर्न थालेका छन् ।

१० दिनदेखि अवरुद्ध फिदिम-ताप्लेजुङ खण्ड अस्थायी रुपमा खुलाइयो

मेची राजमार्ग अन्तर्गत फिदिम ४ र हिलिहाङ ७ लाई जोड्ने हेवा खोलाको पुल असार २ गते राति आएको बाढीले बगाएपछि १० दिनयता अवरुद्ध थियो ।

हृयुम पाइप राखेर खोला डाइभर्सन गर्दै मंगलबार यो सडक खुलाइएको हो । खोलामा डाइभर्सन गर्न सडक डिभिजन इलामका प्राविधिक र कामदारसँगै ठूलो संख्यामा स्थानीयहरू तीन दिनसम्म खटेका थिए ।

डाइभर्सन गर्ने काम सकिएसँगै मंगलबार अपराह्न २ बजेपछि यातायात र ढुवानीका साधन ओहोर दोहार गर्न थालेका हुन् ।

बाढीले पुल बगाएपछि संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले तत्काल बेलीब्रिज निर्माण गर्न सडक डिभिजन इलामलाई निर्देशन दिएका थिए ।

सामग्रीसहित आएका प्राविधिकले बेलीब्रिज बनाउन थाले पनि सम्पन्न गर्न लामो समय लाग्ने भएपछि खोलामा डाइभर्सन गरेर अस्थायी विकल्प खोजिएको सडक डिभिजन कार्यालय इलामका प्रमुख (इन्जिनियर) विदुर पोखरेलले बताए ।

उनका अनुसार खोलामा १६ वटा हृयुम पाइप राखेर डाइभर्सन गरिएको छ । डाइभर्सन गरिएसँगै हेवा खोला वारिबाट ताप्लेजुङसहित पाँचथरका हिलिहाङ, याङवरक र फालेलुङ जान रोकिएका सवारी र ढुवानी साधन आफ्नो गन्तव्यमा प्रस्थान गरेका छन् ।

यस्तै हेवा खोला पारि रोकिएका सयभन्दा धेरै साधनलाई ट्राफिक व्यवस्थापन गर्दै गन्तव्यमा पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

बाढीले पुल बगाएपछि हेवा पारिको पाँचथर र ताप्लेजुङमा खाद्यान्नसहित दैनिक उपभोग्य वस्तु पठाउन कठिनाइ भएको थियो भने मानिस र कृषिजन्य वस्तु पार गर्न फड्के पुल र तुइन निर्माण गरिएको थियो ।

प्रकाशित : असार १२, २०८० १५:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतिप्रति तपाईंको के टिप्पणी छ ?