३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

कांग्रेसको बहिष्कारबीच कोशीमा विश्वासको मत

विराटनगर — कांग्रेस सांसदको बहिष्कारबीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार विश्वासको मत लिएका छन् । संसद्मा उपस्थित ६२ मध्ये ५७ सांसदले उनलाई विश्वासको मत दिए । कांग्रेसले बहिष्कार गर्दा विपक्षमा शून्य मत रह्यो । राप्रपाका ५ सांसद तटस्थ बसे । 

कांग्रेसको बहिष्कारबीच कोशीमा विश्वासको मत

प्रदेश प्रमुख परशुराम खापुङले एमाले–माओवादीको समर्थनमा गत बिहीबार कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए । उनको नियुक्तिविरुद्ध कांग्रेस नेता तथा निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा रिटसमेत दायर गरेका छन् । उक्त रिट विचाराधीन हुँदाहुँदै विश्वासको मत लिन र संसद् बैठक गर्न सरकार हतारिएको भन्दै कांग्रेसले बैठक बहिष्कार गरेको हो ।

कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङले हतारमा वर्षे अधिवेशन आह्वान गरिनु गलत भएको भन्दै संसद् बैठक बहिष्कार गरिएको बताए । ‘सरकार गठनविरुद्धको रिटको पेसी जेठ ९ मा छ । रिट किनारा नलागी हतारमा वर्षे अधिवेशनका नाममा विश्वासको मत लिने काम गलत हो,’ उनले भने । ९३ सदस्यीय प्रदेशसभामा कांग्रेसका २९ सांसद छन् ।

मुख्यमन्त्री कार्कीले एमालेको ३९, माओवादीको १३, एकीकृत समाजवादीको ३ र जसपाको एकसहित ५७ मत पाएका छन् । एकीकृत समाजवादीको दलका नेता राजेन्द्र राई पार्टी केन्द्रीय बैठकका क्रममा काठमाडौंमा रहेकाले अनुपस्थित रहे । ‘आइतबार साँझसम्म कार्कीलाई मत दिने टुंगो थिएन,’ समाजवादीका एक सांसदले भने, ‘आइतबार मध्यराति मत दिनु भन्ने केन्द्रीय निर्देशन आएको हो ।’

समाजवादीका सांसद कमल जबेगूले संसद्मा बोल्दै मुख्यमन्त्रीलाई विश्वासको मत दिए पनि आफ्नो पार्टी प्रतिपक्षको बेन्चमा बस्ने जनाएका थिए । विश्वासको मत पाएपछि मुख्यमन्त्री कार्कीले माओवादीसँग छलफलपछि यसै साता मन्त्रिपरिषद् विस्तार गरिने बताए । ‘मन्त्रिपरिषद् विस्तारका लागि माओवादीसँग छलफल भइरहेको छ,’ उनले भने । मुख्यमन्त्री बनेलगत्तै कार्कीले एमालेका राम राना मगर र माओवादीका गणेश उप्रेतीलाई बिनाविभागीय मन्त्री नियुक्त गरेका थिए ।

राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले यही कार्यकालमा ६ पटकसम्म सरकार फेरबदल हुँदा प्रदेश सरकारप्रति जनतामा वितृष्णा बढेको बताए । ‘जनतालाई डेलिभेरी दिनेभन्दा पनि राजनीतिक दाउपेचमा मात्रै प्रदेश सरकार सीमित भयो,’ उनले भने, ‘स्थिर सरकार निर्माणमा सबै दलहरू एकमत हुनुको विकल्प छैन ।’

माओवादी दलका नेता इन्द्रबहादुर आङ्बोले केन्द्रीय सत्ता समीकरणमा आइरहने फेरबदलको प्रत्यक्ष प्रभाव प्रदेशहरूमा पर्ने बताउँदै प्रदेश सरकार अस्थीर बन्नुमा केन्द्रीय सत्ता समीकरण दोषी रहेको जनाए । एमालेका ३९, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादी ४ र जनता समाजवादी पार्टीका एक सांसद रहेको ९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमत पुर्‍याउन ४७ सांसदको समर्थन आवश्यक पर्छ ।

प्रकाशित : जेष्ठ १, २०८१ ०५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?