कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

वर्षाले बाटो अवरुद्ध हुँदा ताप्लेजुङ सुरुमखिमका विद्यालय बन्द, गाडी गाउँमै रोकिए

आनन्द गौतम

ताप्लेजङ — बुधबार बेलुकादेखिको वर्षाले बाटो अवरुद्ध हुँदा सिदिङवा गाउँपालिका-१ सुरुमखिमका विद्यालय बिहीबार बन्द गरिएको छ । 

वर्षाले बाटो अवरुद्ध हुँदा ताप्लेजुङ सुरुमखिमका विद्यालय बन्द, गाडी गाउँमै रोकिए

बालबालिका विद्यालयसम्म आउने बाटो भत्किएपछि विद्यालयले प्रशासनले सूचना निकालेर विद्यालय बन्द गरेको हो । ‘विद्यार्थीहरु आउने बाटो अवरुद्ध भएका छन्, खोला तर्ने तरिका छैनन्,’ प्रधानाध्यापक यज्ञमणि पौडेलले भने, ‘शिक्षकहरु समेत जानसक्ने अवस्था नभएपछि सूचना गर्‍यौं ।’

सिदिङवा-१ का वडासदस्य राजकुमार इम्वुङका अनुसार बिहीबार दिउँसोसम्म पनि त्यस क्षेत्रमा एकदेखि अर्को ठाउँमा जान कठिन छ । दिउँसो २:३० बजेतिर उनले भने, ‘अहिलेचाहिँ पानी अलि कम भएकोले गाउँलेहरु मिलेर भलबाडी ठूलो भएको ठाउॅमा नाली कटाउने, खोलामा रुख राखेर तर्न सक्ने बनाउने, घरतिर बगेको पानी कटाउने जस्ता काम गरिरहेका छौं ।’ उनका अनुसार बुधबार बेलुका ६:३० बजेदेखि वर्षा सुरु भएको थियो । इम्वुङले वडाभित्रका एक बालशिक्षा, तीन आधारभूत र एक मावि बन्द भएको बताए ।

गाउॅपालिका अध्यक्ष मानबहादुर राई सडक अवरुद्ध र खोला बढेपछि झापाको विर्तामोड र ताप्लेजुङ सदरमुकाम फुङलिङ जाने दुईवटा यात्रुवाहक जिप रोकिएको बताउँछन् । अब वर्षा रोकिएर खोला नघटेसम्म ती गाडी गाउॅबाट निकाल्ने उपाय नभएको उनले बताए ।

सिदिङवा र सिरिजंगामा गत वर्षको बाढी पहिरोले मानवीय तथा भौतिक क्षति गराएको थियो । सिदिङवा भारतको सिमावर्ती सिक्किमसॅग सिमाना जोडिएको गाउॅपालिका हो ।

तस्बिर सौजन्य : राजकुमार इम्वुङ

प्रकाशित : जेष्ठ ३२, २०८० १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?