भारतीय कार्ड बनाएर नेपाल छिर्न लागेका चार बंगलादेशी पक्राउ- कोशी - कान्तिपुर समाचार

भारतीय कार्ड बनाएर नेपाल छिर्न लागेका चार बंगलादेशी पक्राउ

पर्वत पोर्तेल

झापा — भारतीय नक्कली आधार कार्ड देखाएर अवैध रुपमा नेपाल प्रवेश गर्न लागेका चार बंगलादेशी नागरिक शुक्रबार नेपाल–भारत सीमाको पानीट्यांकी नाकाबाट पक्राउ गरेका छन् ।

भारतीय नागरिक बनेर अवैध रुपमा नेपाल प्रवेश गर्न लागेका उनीहरुलाई सिमानामा तैनाथ भारतीय अर्ध सैनिक बल (एसएसबी) को ४१ औं बटालीयनको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोहम्मद शोहाग मिया, कामरूल हुसेन, मोहम्मद मानिर हुसेन र सोफी उल आलम छन् । एसएसबीले बंगलादेशीलाई अवैध रुपमा नेपाल प्रवेश गराउन सहयोग गर्ने भारतको जलपाइगुडीका मोहम्मद हुसेन र कोच बिहारका मोहम्मद सिपानलाई समेत पक्राउ गरिएको एसएसबी श्रोतले जनाएको छ ।

अभियुक्तहरुलाई खोरीबारी प्रहरीले सिलिगुडी अदालतमा म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान सुरु गरेको जनाइएको छ ।

प्रकाशित : माघ २१, २०७९ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्

जिल्ला अस्पताल सल्यानमा फिजियोथेरापी सेवा

विप्लव महर्जन

सल्यान — जिल्ला अस्पताल सल्यानमा फिजियोथेरापी सेवा संचालनमा आएको छ । विगतदेखि विभिन्न किसिमका शारीरिक समस्या भोग्दै आएका बिरामीले व्यायाममार्फत सहज उपचार पाउन सकुन् भनेर अस्पतालमा फिजियोथरोपी सेवा संचालन गरिएको अस्पतालले जनाएको छ ।

थेरापीका लागि जिल्लावासीले बाहिर जान नपरोस् र सहज उपचार तथा सल्लाह पाउन सकुन् भनेर फिजियोथेरापी सेवा संचालनमा ल्याइएको जिल्ला अस्पताल सल्यानका ईन्चार्ज एमडीजीपी डा. अभिषेक सिहंले बताए ।

फिजियोथेरापी सेवा संचालनका लागि दरबन्दीमा एक जना थेरापिष्ट आएको र शारीरिक व्यायामका लागि सामग्री आएको उनले जानकारी गराए । उनका अनुसार हाडजोर्नी, ढाडलगायत शरीरका विभिन्न भागको दुखाईबाट लामो समयदेखि पीडितहरु जिल्लाबाहिर उपचार गर्न जानु पर्दा थेरापी सेवाका लागि धेरै खर्च र समस्या झेल्दै आएका थिए ।

थेरापी सेवा सञ्चालन ल्याइए पनि ठाउँ र केही सामग्री अभाव रहेको उनले जनाए । ‘फिजियोथेरापीमा विभिन्न किसिमका शारीरिक व्यायाम गराउनु पर्ने हुँदा छुट्टै ठाउँ चाहिन्छ,’ उनले भने, ‘ठाउँको अभावमा सेवा सुचारु गरे पनि प्रभावकारी बनाउन सकिएको छैन । सेवा प्रभावकारी बनाउन सम्बन्धित निकायसमक्ष पहल भइरहेको छ ।’

थेरापी सेवाका लागि जिल्ला अस्पताल सल्यान आएकी थेरापिष्ट वि.एस.लाडली मण्डलले ठाउँ अभावमा अहिले अस्पतालकै ओपीडी कक्षबाट सेवा दिइरहेको बताइन् ।

अस्पताल विकास समितिका अध्यक्ष प्रमोदकुमार श्रेष्ठले थेरापी सेवालाई प्रभावकारी बनाउन सम्बन्धित निकायमा पर्याप्त मात्रामा आवश्यक सामग्री र स्थानका लागि पहल भइरहेको र शारीरिक व्यायामका लागि छिट्टै ठाउँको व्यवस्था गरिने बताएका छन् ।

हाल धेरै बिरामी नआए पनि प्रचारप्रसार भएमा बिरामी बढ्ने उनले बताए । जिल्लामा फिजियोथेरापी गर्ने खालका धेरै बिरामी भएकाले सेवा प्रभावकारी भए जिल्लावासीमात्र नभई रोल्पा, रुकुमका स्थानीय पनि लाभान्वित हुने उनको भनाइ छ ।

जिल्ला अस्पताल सल्यान । तस्बिरः विप्लव महर्जन/कान्तिपुर

प्रकाशित : माघ २१, २०७९ १६:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×