१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

खम्बाछेनको क्यामेरा ट्रयापमा २ हिउँ चितुवा  

आनन्द गौतम

ताप्लेजुङ — हिउँ चितुवा संरक्षण उपसमिति घुन्साकी अध्यक्ष पेञ्जोक्ला शेर्पा यतिबेला खुसीको सन्देश प्रवाह गरिरहेकी छन् । ४२ सय मिटर उचाईको खम्बाछेनमा हिउँ चितुवा ट्र्याक गर्न राखिएको क्यामेरामा सात दिनमा दुईवटा हिउँ चितुवा रेकर्ड भएपछि उनले यो सन्देश गाउँदेखि सहरसम्म प्रवाह गरिरहेकी हुन् । 

खम्बाछेनको क्यामेरा ट्रयापमा २ हिउँ चितुवा  

हिउँ चितुवा प्रशस्त रहेको अनुमान गरिएको तर संख्या यकिन नभएको फक्ताङलुङ गाउँपालिका-६ लेलेपको हिमाली क्षेत्रमा यो वर्ष अध्ययनका लागि ३४ वटा क्यामेरा जडान गरिएको छ । चैत २३ गते राखेको क्यामेरामा चैत ३० गते बेलुका ७ बजेर ५ मिनेटमा दुईवटा हिउँ चितुवा परेको थियो ।

‘दुवै हिउँ चितुवा सँगसँगै रहेको देखिन्छ,’ उनले टेलिफोनमा भनिन्, ‘क्यामेराले एउटाको पुरै शरीर खिचेको छ, अर्कोको चाहिँ पुच्छर मात्रै खिच्न भ्याएछ ।’ ४ हजार २ सय ६६ मिटर उचाइको मेराकमा खिचेको क्यामेराको रेकर्ड भने उनीहरूले ढिलो गरी थाहा पाए । एकपछि अर्को गरेर क्यामेराको मेमोरी हेर्दा केही ढिलो गरी थाहा पाएको तर हिउँ चितुवा परेको देख्दा खुसीको सीमा नभएको उनले बताइन् । खम्बाछेनमा सञ्चार सम्पर्क नभएकाले यो खुसी बाँड्न उनले सात/आठ घण्टा पैदल हिँडेर घुन्सा आउनु परेको सुनाइन् ।

विश्व वन्यजन्तु कोष नेपालको सहयोगमा कञ्चनजंघा संरक्षण क्षेत्रले हिउँ चितुवा संरक्षण उपसमिति मार्फत यो वर्ष क्यामेरा राखेको छ । खम्बाछेनमा अध्यक्ष पेञ्जोक्लाको नेतृत्वमा पेण्डे शेर्पा, इटेन शेर्पा, छेतेन शेर्पा र डण्डु शेर्पा टोलीमा छन् । पेञ्जोक्ला, इटेन र छेतेन महिला हुन् ।

यो क्षेत्रमा १० ठाउँमा २० वटा क्यामेरा राखिएको छ । एक ठाउँमा आमनेसामने बनाएर दुईवटा क्यामेरा राखिन्छ । यहाँभन्दा माथिल्लो क्षेत्र रोनाकमा उपसमितिका सचिव ङिमा टासी शेर्पाको नेतृत्वमा तीन जनाको समूहले क्यामेरा ट्रयाप राख्ने र नियमन गर्ने गर्छन् । यो क्षेत्रमा चार ठाउँमा आठ वटा क्यामेरा ट्र्याप राखिएको छ भने घुन्सामा तीन ठाउँमा छ वटा राखिएको अध्यक्ष पेञ्जोक्लाले बताइन् ।

घुन्सामा कोषाध्यक्ष अङजुक्ला शेर्पाको नेतृत्वमा दुई जनाको टोली छन् । खम्बाछेन क्षेत्रमा सबैभन्दा बढी क्यामेरा राखिएको छ । यो ठाउँमा पहिला पनि हिउँ चितुवालाई पासोमा पारेर स्याटलाइट लगाइएको थियो । ४ हजार ८ सय मिटर उचाइसम्म साम्जोक भन्ने स्थानसम्म क्यामेरा राखिएको उपसमितिले जनाएको छ ।

प्रकाशित : वैशाख १२, २०८१ १२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?