कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७६

पारिवारिक विखण्डनले दसैं खल्लो

अर्जुन राजवंशी

दमक — ‘बाह्र छोरा, तेह्र नाति बुढाको धोक्रो काँधै’ माथि भन्ने उखान उमेरले नेटो काटेका दुर्जधन गुरुङसँग ठ्याक्कै मेल खान्छ  । चार छोरा, चार छोरी र नातिनातिना गरी १६ जना परिवारका अभिभावक ७७ वर्षका दुर्जधन गुरुङले यसपटक उहिलेका दसैंको सम्झना मात्र गर्न पाए  ।

पारिवारिक विखण्डनले दसैं खल्लो

भुटानी शरणार्थी शिविर बेलडाँगीमा उनीजस्तै ३ सय ५० जनालाई दसैंको रमझमले छुन सकेको छैन । कारण, उनीहरू परिवार विखण्डको पीडामा छन् । शिविरमा एक्लै जीवन बिताउन बाध्य छन् । गुरुङका ४ छोरा, ४ छोरी छन् । श्रीमती रणमाया, दुई छोरा र तीन छोरी भुटानमा छन् । दुई छोरा र एउटी छोरी अमेरिकामा छन् । उनी भने एक गिलास पानी पनि आफैले सारेर खानुपर्ने अवस्थामा छन् ।

वृद्धावस्थाका कारण शरीर पूरै गलेको छ । बेलडाँगी २ सेक्टर जी–वान छाप्रा नम्बर ४१ का गुरुङले दसैं आफ्ना लागि नभएको बताए । ‘खोइ कोसँग मनाउनु दसैं ? को छन् र, दसैं आयो भन्नु ?’ उनले भने, ‘हुन त, हामीले जन्मभूमि छाडेकै दिनदेखि मैले दसैं मनाउन छाडेको हुँ । फेरि पनि छोराछोरी सँगै हुँदा पहिला दसैं रमाइलो नै हुन्थ्यो । अहिले त दसैं आयो कि के आयो थाहा नै छैन ।’


गुरुङका छिमेकी रुक्मणि न्यौपाने (८४) लाई पनि पछिल्लो तीन वर्षदेखि दसैं लाग्न छाडेको छ । सेक्टर जी–वान छाप्रा नम्बर ९६ मा एक्लै बसोबास गर्ने उनका श्रीमान, छोराछोरी सबै अमेरिकामा छन् । ‘श्रीमान, छोराछोरी सबै अमेरिका गए । म एक्लै यो छाप्रोमुनि छु । दसैं आयो भन्ने त सुन्दै छु ।

तर, मलाई भने दसैंले छुन सकेको छैन’ उनले भनिन । थपिन, ‘साथमा पैसा छैन । मीठो मसिनो पकाइदिने कोही छैन । सँगै बसेर खाइदिने पनि कोही छैन । अनि, मलाई कसरी दसैं लाग्छ ?’ बेलडाँगी ३, सेक्टर ए–वान छाप्रा नम्बर ६ की मनमाया राई (८३) पनि एक्लै छिन् । उनका छोराछोरी छैनन् । आफन्त, इष्टमित्र सबै अमेरिका गए । शारीरिक रूपमा निकै कमजोर भइसकेकी राई सकि/नसकि आफैंले चुलो बालेर पेट भर्दै आएकी छन् ।


‘दसैं किन नमनाउनु र, आफन्त, इष्टमित्र हुँदा मीठो मसिनो जेजस्तो हुन्थ्यो खाएर दसैंमा रमाइलो गथ्र्यौं । तर, अहिले त म आफै अशक्त भएकी छु । अब त के को दसैं’ उनले दु:ख सुनाइन । बेलडाँगी २ सेक्टर डी–वान छाप्रा नम्बर १९ का ओमप्रकाश सापकोटा (४४) लाई पनि दसैंको रमझमले छोएको छैन । बुबा, दुई जना आमा, दुई जना भाई, चार जना दिदीबहिनी सबै अमेरिकाको ओहायोमा छन् । उनी एक्लै शिविरमा छन् । ६ वर्षदेखि उनी एक्लो जीवन बिताउन बाध्य छन् ।


परिवारसँग बिछोडिएपछि उनको चाड पर्व, रमाइलो, हर्ष, खुसी सबै हराएको उनले बताए । ‘दसैं उल्लासको पर्व हो । रमाइलो गर्ने, मीठो मसिनो खाने, परिवारसँग बस्ने पर्व हो । तर, मेरो को छ र ? रमाइलो सँग दसैं मनाऊँ’ उनले भने, ‘शिविरभित्रको यो एक्लो बसाई निकै दर्दनाक भइरहेको छ । न त शिविर छाडेर कतै जान सकेको छु । न त शिविरमा कुनै सेवा सुविधा वा आफन्तसँग बस्न पाएको छु ।’


नेपाली भाषी भुटानी शरणार्थीको पनि बडा दसैं प्रमुख चाड हो । राष्ट्रियता बाहेक भाषा, संस्कृति, खानपान सबै मिल्ने भएकाले भुटानी शरणार्थीले पनि दसैंलाई उल्लासमय रूपमा मनाउने गर्छन् । तर, पछिल्ला केही वर्ष यता झापा र मोरङका भुटानी शरणार्थी शिविरमा दसैंको चहलपहल हराएको छ । दसैं–तिहार जस्ता ठूला पर्वमा शरणार्थीका अनुहारमा खुसीभन्दा बढी उदासिनता देख्न सकिन्छ । तेस्रो मुलुक पुनर्वास कार्यक्रमले भुटानी शरणार्थीका परिवार छिन्नभिन्न भएका छन् ।

२७ वर्षअघि भुटान सरकारले लखेट्दा धेरै पारिवार आधा नेपालमा आधा भुटानमा भए । भुटानमै छाडिएका आफन्तहरूलाई वर्षौंदेखि भेट्न नपाएका उनीहरूलाई पुनर्वास कार्यक्रमले थप पीडा दिएको छ । शिविरमा शरणार्थीको संख्या अहिले निकै कम भईसकेको छ । सन २००८ देखि सुरु भएको पुनर्वास कार्यक्रम अन्तर्गत १ लाख १३ हजारभन्दा बढी भुटानी शरणार्थी अमेरिका, बेलायत, अस्ट्रेलिया, नेदरल्यान्ड, नर्वे, क्यानडा, डेनमार्क र न्युजिल्यान्ड गएका छन् । सबैभन्दा बढी अमेरिका गएका छन् ।

प्रकाशित : कार्तिक ५, २०७५ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१८ महिना सरकारको नेतृत्व गरेर सत्ता बहिर्गमन भएको माओवादीलाई तपाईंको के सुझाव छ ?

×