रोकिएन खोला दोहन- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोकिएन खोला दोहन

अर्जुन राजवंशी

दमक — झापामा नदी खोलाबाट ढुंगा, बालुवा झिकेर दोहन गर्ने क्रम बढेको छ । स्थानीय सरकार आएपछि खोला दोहन थप बढेको हो । राज्य पुन:संरचनापछि स्थानीय तहको अधिकारभित्र परेका खोलाहरूमा बालुवा, गिटी निकाल्नेको होडबाजी चलेको छ । 

जिल्लामा दुई दर्जनभन्दा बढी खोला–नाला छन् । तीमध्ये १२ वटा खोलामा नदीजन्य सामग्री उत्खननको ठेक्का लागेको छ । साविकका खोलाहरूमा स्थानीय तहहरूले गत वर्षको भन्दा बढी मूल्यमा ठेक्का लगाएका छन् । ठेक्का मूल्य बढेपछि खोलाहरूमा उत्खनन पनि तीव्र बनेको छ ।


सातवटा स्थानीय तहले नदीजन्य सामग्री उत्खनना लागि ठेक्का लगाएका हुन् । दमक नगरपालिकाले रतुवा र मावा, कमल गाउँपालिकाले रतुवा, शिवसताक्षी नगरपालिकाले कनकाई, कनकाई नगरपालिकाले टाङटिङ, विरिङ र कनकाई, अर्जुनधारा नगरपालिकाले टाङटिङ्ग र विरिङ, मेची नगरपालिकाले हडिया, टिमाई, निन्दा र मेची, भद्रपुर नगरपालिकाले हडिया, देउनिया र मेची, बुद्धशान्ति गाउँपालिकाले निन्दा, टिमाई र हडिया तथा बह्रादशी गाउँपालकाले विरिङ नदीमा उत्खननका लागि ठेक्का लगाएका हुन् ।


सात वटा स्थानीय तहले २१ करोडभन्दा बढी मूल्यमा खोला ठेक्का लगाएका छन् । दमकले भ्याट बाहेक ८ करोड २३ लाख, मेचीले ५ करोड २ लाख, कनकाईले एक करोड ३१ लाख, अर्जुनधाराले २ करोड ६१ लाख, शिवसताक्षीले ४५ लाख, भद्रपुरले ७९ लाख ६८ हजार र बाह्रदशीले १८ लाख रुपैयाँमा नदी ठेक्का लगाएका हुन् । गत वर्ष यिनै खोलाहरूमा जिल्ला समन्वय समितिले भ्याटसहित १३ करोड १३ लाखमा मात्र नदीजन्य सामग्री उत्खननका लागि ठेक्का लगाएको थियो ।


उत्खननका विरोध गर्दै आएका स्थानीय यस वर्ष स्थानीय तहले झन बढी मूल्यमा ठेक्का लगाएपछि चिन्तित बनेका छन् । वर्षेनी खोलामा नदीजन्य सामग्रीको उत्खनन बढ्दा पानीको स्रोत सुक्दै गएको छ । नहरमा पानी नचढ्दा किसानले बाली लगाउन पाएका छैनन् । खेतीयोग्य जमिन कटान तथा डुबान रोकथामका लागि निर्माण गरिएका तटबन्ध पनि काम नलाग्ने बनेका छन् । ‘हामीले जति विरोध गरेपनि खोलामा बढ्दो उत्खनन रोक्न सकेनौं’, मावाखोला जग्गा कटान तथा रोकथाम समिति अध्यक्ष दलबहादुर राईले भने, ‘उत्खननको प्रत्यक्ष असर हामीलाई परिरहेको छ । तटबन्ध बेकाम्मे बनेको छ । नहरमा पानी नआउँदा खेत बाँझो बनेको छ ।’


वातावरण अधिकृत ज्ञानेन्द्र चौधरीका अनुसार यस वर्ष जिल्लाका खोलाहरूमा बढीमा एक मिटरसम्म मात्र उत्खनन गर्न पाइनेछ । प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) अनुसार ०.५ देखि एक मिटरसम्म मात्र खोला गहिराइ गर्न पाउने मापदण्ड तोकिएको छ । तर, मापदण्डको ख्यालै नगरी ठेकेदारहरूले जेसीबी लगाएर अहिले नै दुई मिटरभन्दा बढी खोला गहिराइसकेका छन् ।


दमकले रतुवा खोलाको ८ स्थानबाट एक लाख ८६ हजार २ सय घनमिटर बालुवा निकाल्न पाउने आईईई प्रतिवेदनमा उल्लेख छ । मावा खोलाको १२ स्थानबाट एक लाख ७४ हजार एक सय ५२ घनमिटर बालुवा निकाल्न पाइने वातावरण अधिकृत चौधरीले बताए ।

दमक ३ का तारामान भुजेलले खोला उत्खननमा तत्काल कडाइ गर्न स्थानीय तह समक्ष आग्रह गरे । उनले खोला वर्षेनी गहिरिरहेकाले त्यसको असर प्रत्यक्ष रूपमा आफूहरूलाई परिरहेको बताए । उत्खननप्रति अहिलेदेखि नै कडाइ नगरे आर्थिक वर्षको अन्त्यमा खोलाको गहिराइ थप बढ्नेमा स्थानीय चिन्तित छन् । खोला ठेक्का लगाएका स्थानीय तहले नियमित अनुगमन गर्नुपर्ने छ । तर, प्रभावकारी रूपमा अनुगमन नहुँदा खोला दोहन अनियन्त्रित बन्दै गएको छ ।


दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाले स्थानीयले गुनासो गरेजस्तो अवस्था नभएको दाबी गरे । उनले नगरपालिकाका तर्फबाट गर्नुपर्ने अनुगमन नियमित गरिरहेको बताए । ‘हामीले गर्नुपर्ने अनुगमन तथा नियमनको काम गरिरहेका छौं,’ उनले भने, ‘मापदण्ड विपरीत उत्खनन गरेको पाएको छैनौं । त्यस्तो छ भने हामी तुरुन्त कारबाही गर्छौं ।’ उनले विकास निर्माणको काम पनि गर्नुपर्ने भएकाले नदीजन्य सामग्री निकाल्नुको विकल्प नरहेको बताए ।

प्रकाशित : माघ १६, २०७५ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्

माइतीकै सहारा

जितेन्द्र साह

मोरङ — सीमावर्ती क्षेत्रका बसोबासी मोरङको जनजाति एवं आदिवासी समुदायमा बिहे गरिदिएका छोरीको आर्थिक अवस्था सबल नभएमा वा एक्लो परेमा माइती पक्षले सहारा दिने चलन छ । सम्पन्नले जग्गा एवं नगद दिएर र विपन्नले शरण दिएर भए पनि विवाहित छोरीलाई सहयोग गर्छन् । 

मोरङको जहदा गाउँपालिका–४, सोहल टोलका वृद्ध सत्यनारायण मण्डलले एकल महिला साहिली छोरी ४० वर्षीया धनसेरियादेवीको नाउँमा १० धुर घडेरी र खेती गर्नलाई एक कठ्ठा जग्गा पास गरिदिएका छन् । उनी यसका लागि सपरिवार तीन दिनसम्म विराटनगरस्थित भूमिसुधार तथा मालपोत कार्यालय धाए ।

मोरङकै धनपालथान गाउँपालिका–४, कर्सिया सोराभागका सुरेश मण्डलसँग उनको छोरीको बिहे भएको थियो । लामो बिरामीपछि ज्वाइँको डेढ वर्षअघि मृत्यु भएको थियो । यो गाउँपालिकाको पूर्वमा धनपालथान पर्छ । धनसेरियाको दुई छोरा र एक छोरी छन् । छोराहरू कारखानामा काम गर्छन् । छोरी रूबीले गाउँपालिकादेखि नजिकैको भारत विहारको कुआडी बजारको किसान मनोज सिंहसँग बिहे गरेकी छन् ।

श्रीमान् श्रीमतीले मजदुरी गरिरहेका थिए । श्रीमान् सुरेशको निधनपछि धनसेरिया एक्लो परिन् । घरबार नभएकाले पिता सत्यनारायणले छोरी धनसेरियालाई माइत बोलाएर बस्नका लागि १० धुर जग्गा दिए ।

माइतीमै बसेर खेती मजदुरी गरिरहेकी उनलाई पिताले यो वर्ष थप एक कठ्ठा खेतीयोग्य जग्गा दिए । दुई दशकअघि छोरीको बिहे गर्दा पनि उनले नयाँ साइकल र दस हजार नगद दिएका थिए ।

वृद्ध सत्यनारायणका दुई छोरा र चार छोरी छन् । भारतको विहारमा बिहे गरी दिएका दुई सन्तानकी आमा कान्छी छोरी प्रमिलालाई पनि सत्यनारायणले १० धुर घडेरी दिएका छन् । कान्छी छोरीका श्रीमान् मानिक चन्द यही गाउँमा मजदुरी गर्छन् ।

‘गरिब भएकाले दुई छोरीलाई संरक्षण दिनुपर्‍यो,’ धनसेरियाकी आमा झुबिया मण्डलले भनिन् । आफूझैं छोरीले दु:ख नपाऊन् भनेर आर्थिक रूपले सबल परिवार खोजेर आफ्नो एक मात्र छोरी रूबीको बिहे गरेको धनसरियाले कान्तिपुरलाई बताइन् ।

पिताको निर्णयबाट परिवारका अन्य सदस्य पनि खुसी छन् । ‘बुबाले आफैंले कमाएको सम्पत्ति हो, त्यसमा छोराछोरीको बराबर हक लाग्छ,’ सत्यनारायणको कान्छा छोरा ३२ वर्षीय विजयकुमार मण्डलले भने, ‘दिदीबहिनी बेसहारा भएपछि सहयोग गर्नु माइती पक्षको कर्तव्य हो ।’

पिताकै अढाई बिघा जग्गामा दुवै छोराहरूले खेती गर्छन् । यो गाउँपालिकाको उत्तरमा पर्ने मोरङको कटहरी बजारमा बिहे भएकी उनको जेठी छोरी किसनीदेवी र जहदा–५ का डकैता टोलमा घर भएकी माहिली छोरी भुतरीदेवी सम्पन्न छन् ।

‘तर, उनीहरूलाई पनि केही पर्दा सक्दो सहयोग गर्छु,’ सत्यनारायणले भने, ‘विवाह गरिदिएपछि छोरीहरूबाट मुक्त भएँ भन्ने सोच राख्नु हुन्न, उनीहरूको पनि सुरक्षित भविष्यका बारेमा सोच्नु बाआमाको कर्तव्य हो ।’

सत्यनारायणको कान्छी बुहारी बबिता पनि ससुराको निर्णयबाट दु:खी छैनन् । ‘छोरीहरूसँग केही नभएर उहाँले जग्गा दिनु भएको हो,’ उनले भनिन् । धनपाल गाउँपालिका–४, नोचाकी उनको माइती पक्ष कमजोर भए पनि परेको बेला हरसम्भव सहयोग गर्दै आएको बबिताले बताइन् ।

जहदा गाउँपालिकाको सोहल टोलकै गीता मण्डललाई पनि माइती पक्षले डेढ कठ्ठा जग्गा दिएको छ । सोही जग्गामा उनको चिया पसल, घर र खेती छ । डेढ कठ्ठा जग्गा आफंैले जोडेका छन् । उनले जग्गामा अन्न एवं तरकारी बाली उत्पादन गरी वरिपरिको हाटबजारमा बेच्छिन् । गीताकी छोरी स्थानीय बोर्डिङ स्कुलमा पढाउँछिन् भने छोरा किराना पसलमा काम गर्छन् ।

अढाई दशकअघि गीताको धनपालथान अमाहिबरियातीका शंकर मण्डलसँग बिहे भएको थियो । गीताका पिता बौनाइ मण्डलको पाँच वर्षअघि मृत्यु भइसकेको छ । ‘त्यो बेला ससुरा बुबाबाट बिहेमा साइकल पाएको थिएँ, दैनिक ज्यालादारीबाट निर्वाह गर्ने हामीसँग केही नभएकाले ससुराली पक्षले जग्गा दियो,’ पति ३९ वर्षीय शंकरले भने, ‘नत्र हामी अहिले सडकमा हुन्थ्यौं ।’

स्थानीयका अनुसार छोराछोरीमा भेद नगर्ने बौनाइ मण्डलले जेठी छोरी रीताको बिहेमा साइकल र नगद दिएका थिए । ‘उनी यसलाई दाइजोभन्दा छोरीको अधिकार भन्थे,’ समाजसेवी मोहन महतोले भने । जेठी छोरी सम्पन्न भएकाले माइती पक्षले पुन: थप सहयोग गर्नु परेन ।

हाल गाउँकै सरकारी विद्यालयमा शिक्षिका कान्छी सीता मण्डलको बिहेमा समेत पिता बौनाइले पनि एक लाख नगद, एक तोला सुन, फर्निचर र टीभी दिएका थिए । ‘बिहे गरेपछि पनि माइती पक्षले साथ छाडेनन्,’ सीताले भनिन् । हालै दाजुभाइले ट्रयाक्टर किन्नलाई चार लाख र जग्गा किन्नलाई दुई लाख सहयोग गरेको उनले बताइन् । सीताले भनिन्, ‘माइती पक्षले न कहिले ब्याज नै मागे, न त ताकेता नै गरे, अलिअलि फर्काएँ, धेरै बाँकी नै छ ।’

यो गाउँपालिकाका जग्गावाला मातापिता मात्र नभएर गरिब परिवारले पनि आपतविपत पर्दा छोरीको सहाराका लागि अगाडि आउँछन् । स्थानीय ५५ वर्षीया कलशी मण्डलले कान्छी छोरी सनमन्तीलाई माइतीमा शरण दिएकी छन् । उनीसँग छोरीलाई दिनलाई जग्गा छैन ।

मोरङको सुनवर्षी नगरपालिकाको डायनिया बजारमा बिहे भएकी सनमन्तीको एक छोरा र एक छोरी छन् । ‘आर्थिक अवस्था खराब भएकाले छोरीज्वाइँलाई माइतीमै राख्नुपर्‍यो,’ आमा कलशीले भनिन्, ‘जग्गा भए त दिन्थेँ, मिलेर कमाउँछौं, खान्छौं ।’ उनको छोरी सनमन्ती र ज्वाइँ सुखान सिंहले ज्याला मजदुरी गर्छन् । कलशीका दुई छोरी र एक छोरा छन् ।

धनपालथानकै सौराभागमा बिहे भएकी दुई सन्तानकी आमा जेठी छोरी निर्मलाकुमारीको स्थिति ठीक भएकाले मद्दत गर्नु नपरेको उनले बताइन् । यो गाउँदेखि पश्चिमको महानगर विराटनगरको एक साबुन कारखानामा म्यानेजर उनका छोरा सदानन्द परिवारसहित सहरै बस्छन् । ‘बाआमाको सम्पत्तिमाथि जति हक छोराको हुन्छ, त्यति नै हक छोरीको पनि हुन्छ भन्ने हाम्रो परिवारको बुझाइ हो, त्यही भएर झगडा वा विवाद हुन्न,’ उनले भनिन् ।

पूर्वगाविस अध्यक्ष समेत रहिसकेका ५३ वर्षीय कोल्हाय मण्डललले विशेष गरी स्थानीय जनजाति गनगाई (मण्डल/सिंह) समुदायमा बाआमाको छोराभन्दा छोरीप्रति बढी ममता एवं आदर हुने गरेको बताए । उनको भने दुई छोरा मात्र छन्, कान्छा इन्जिनियर, अनि जेठा किसान । ‘मैले बुहारीलाई नै छोरी मानेको छु,’ मण्डलले भने, ‘उनी एवं उनको परिवारको सहयोगका लागि सदैव तयार हुन्छु ।’

स्थानीय किसान ४१ वर्षीय बुद्धिलाल राजवंशीले यहाँको गनगाई, केवट एवं राजवंशी समुदायमा विवाहित छोरीको आर्थिक अवस्था कमजोर भएमा माइतबाट सहारा दिने संस्कृति रहेको बताए । ‘जग्गा एवं नगद दिनुकासाथै घर समेत बनाइदिन्छन्,’ उनले भने, ‘बिहे अगावै छोरीको नाउँमा जग्गा किन्ने बाआमा प्रशस्तै छन, पछि त्यही जग्गा बेचेर/बैंकमा राखेर छोरीको बिहे खर्च टार्छन् ।’

उक्त गाउँपालिकामा छोरीलाई सहयोग गर्नेमा जनसंख्याको झन्डै २५ प्रतिशत रहेको राजवंशीले बताए । ६२.६८ वर्ग किमिमा फैलिएको उक्त गाउँपालिकाको जनसंख्या ४१ हजार ८ सय ९५ छ । बिहे गरेर दिएकी छोरीलाई विपदमा सहयोग गर्नेमा कृषक परिवार बढी छन् । यो गाउँपालिकामा ४ हजार ८ सय ५१ कृषक परिवार छन् ।

राजवंशीकै तीन सन्तानमध्ये एउटी आयुर्वेद, अर्की आईएससी एजी र छोरा कक्षा–७ मा अध्ययनरत छन् । ‘आत्मनिर्भर बनाउन दुवै छोरीलाई प्राविधिक विषय पढाइरहेको छु,’ राजवंशीले भने, ‘शिक्षित र सक्षम भएपछि सहयोग गर्नु परेन नि ।’

आर्थिक अवस्था खराब भएका विवाहित छोरीलाई सहयोग गर्ने चलन पहाडमा जनजाति गुरुङ र मगर एवं मधेसमा मण्डल वा सिंह लेख्ने गनगाई समुदायमा बढिरहेको स्थानीय शैलजा आचार्य स्मृति पोलिटेक्निक कलेजका प्राचार्य सन्तबहादुर अधिकारीले बताए । उनी १५ वर्षदेखि उक्त कलेजमा प्राचार्यको पदभार सम्हालिरहेका छन् । अधिकारीले भने, ‘यसले बाआमा र छोरीबीचको सम्बन्धलाई सदैव जीवित राख्छ ।’

विराटनगरका प्रा.डा.राधेश्याम मण्डलले बिहेपछि पनि छोराझैं छोरीलाई अधिकार दिने तराई–मधेसको यो निकै सुन्दर परम्परा रहेको बताए । ‘माइती र छोरीको सम्बन्धलाई यसले प्रगाढ एवं आत्मिय बनाइरहेको हुनाले यो पछिसम्म पनि कायम रहन्छ,’ उनले भने, ‘बाआमाले दिदीबहिनीलाई सहयोग गर्दा छोराले विरोध नगर्नुले पनि अटुट पारिवारिक सम्बन्धलाई दर्शाउँछ ।’

प्रकाशित : माघ १६, २०७५ १०:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×