कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

साना गाडीको सिन्डिकेट- यात्रु चर्को भाडाको मारमा

एलिसा श्रेष्ठ

भोजपुर — भोजपुर सदरमुकामदेखि ग्रामीण भेगमा चल्ने साना सवारीसाधनले मनोमानी ढंगले भाडादर असुलेपछि यात्रुहरू मारमा परेका छन् । कच्ची सडक र भौगोलिक दुरावस्था भएको भोजपुर–घोरेटार खण्डमा साना ट्याक्सी व्यवसायीले आफूखुसी भाडादरमा सवारी चलाउने गरेका छन् ।

साना गाडीको सिन्डिकेट- यात्रु चर्को भाडाको मारमा

०६७ सालमा ट्रयाक खोलिएको भोजपुर–घोरेटार सडकखण्डमा चल्ने साना गाडीले अन्य क्षेत्रमा चल्ने साना ट्याक्सीले भन्दा बढी भाडा लिने गरेका छन् । सदरमुकामबाट उत्तरी दिङ्ला जोड्ने ४२ किलोमिटर भोजपुर–दिङ्ला सडकखण्डमा ट्याक्सीले प्रतिव्यक्ति ५ सय रुपैयाँ भाडादर कायम गरेका छन् तर यहाँ सोही दूरीमा ८ सय लिने गरेका छन् । उही दूरीमा गाडी चले पनि आफ्नो घर पुग्नलाई भने महँगो भाडा तिरेरै कष्टकर यात्रा गर्नुपरेको घोरेटारका पर्शुराम ओझाले समस्या सुनाए ।

भोजपुरदेखि दिङ्ला, धरान, चखेवा छुट्ने ट्याक्सीले यात्रुलाई मार नपर्ने गरी प्रशासनिक रूपमै भाडादर कायम गरे पनि भोजपुर–घोरेटार चल्ने साना ट्याक्सी व्यवसायीले भने कम्पनीको संगठनमा आबद्ध नभई आफूखुसी भाडादर लगाउने गरेको ट्याम्के मैयुङ यातायात प्रालिका अध्यक्ष राजन राई बताउँछन् ।

करिब साढे ३ वर्षअघि जिल्ला प्रशासन कार्यालयमार्फत नै आफूहरूले यात्रुलाई मार नपर्ने गरी प्रशासनिक रूपमा भोजपुर–घोरेटारको भाडादर ५ सय कायम गरे पनि त्यसको कार्यान्वयन हुन नसकेको अध्यक्ष राईले सुनाए । ‘उनीहरू हाम्रो संगठनमा छैनन् । त्यही भएर समान दूरीमा समान भाडा बनाउनुपर्छ भने पनि उनीहरू मानेनन्,’ उनले भने, ‘संगठनमा आबद्ध नभएकाले ग्रामीण क्षेत्रको सडक स्तरोन्नति भइरहेका बेला पनि उनीहरूले भाडादर आफूखुसी कायम राखेका छन् ।’

अन्य समयभन्दा दसैं/तिहारमा अझै महँगो हुने गरेको स्थानीयको गुनासो छ । त्यतिबेला प्रतिव्यक्ति हजारदेखि १ हजार ५ सय रुपैयाँसम्म भाडा असुल्ने गरेको स्थानीय मनोज खनाल सुनाउँछन् । खनालका अनुसार १२ जना यात्रु अट्ने ट्याक्सीमा २१ जनासम्म यात्रु कोच्ने गरिएको छ ।

गत वर्ष सुलभ र सहज यातायात सेवा प्रवाहका लागि बस सञ्चालन सुरु गरे पनि घोडेटारका

ट्याक्सी व्यवसायीले त्यसलाई चल्न दिएनन् । यता हतुवागढी गाउँपालिकाले कुनै त्यस्तो भाडादर कायम गर्ने प्रक्रिया नबढाइएको जनाएको छ । स्थानीय यात्रुको सहजताका लागि ट्याक्सी व्यवसायीले आपसमा समन्वय गरेर अहिलेका लागि ८ सयमा यात्रु बोकिरहेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । उनका अनुसार व्यवसायीहरू आफैंले भाडादर कायम गरेर एउटा ट्याक्सीले सातामा दुईपटक यात्रु ओहोरदोहोर गराउँछन् ।

जिल्लामा एउटै रुट पर्मिट नभएकाले पनि ग्रामीण भेगमा भाडादर कायम गर्न असहज भएको प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले बताइन् । भोजपुर–लेगुवा ६६ किलोमिटर सडकखण्ड कालोपत्रे भइरहेकाले दसैंअघि जिल्ला प्रशासन कार्यालयसँग बसेको सर्वदलीय बैठकले त्यस क्षेत्रमा दैनिक चल्ने ठूला यात्रुबसलाई प्रतिव्यक्ति सय रुपैयाँ र साना ट्याक्सीलाई प्रतिव्यक्ति ५० रुपैयाँ भाडादर घटाएर भाडादर समायोजन गरेको थियो ।

यसबाहेक अन्य ग्रामीण भेगमा भने पहिलेकै भाडाको दररेट कायम गरेर साना यातायात चलिरहे पनि अहिलेसम्म तोकिएको भन्दा बढी भाडा असुलेको गुनासो कहींकतैबाट नआएको प्रजिअ पौडेलले बताइन् । उनले भनिन्, ‘गुनासा नआएकाले हामीले कुनै कदम चालेका छैनौं ।


प्रकाशित : माघ १७, २०७५ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?