कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

महानगरमा बस टर्मिनल, सञ्चालन कार्यविधि नबन्दा समस्या

मोरङ — विराटनगर महानगरपालिकामा बनाइएको बस टर्मिनल बुधबार उद्घाटन गरिएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले टर्मिनल उद्घाटन गरे । उद्घाटन गरिए पनि निर्माण भएको चार महिना बितिसक्दा टर्मिनल सञ्चालन कार्यविधि निर्माण हुन सकेको छैन । 

महानगरमा बस टर्मिनल, सञ्चालन कार्यविधि नबन्दा समस्या

महानगरले नगर विकास कोषको ऋण सहयोगमा १८ वटा माइक्रोबस र ३५ वटा बस पार्किङ गर्ने स्थल, फुटपाथ, आकर्षक यात्रु प्रतीक्षालय, शौचालयसहितको दुई तले प्रशासनिक भवन भएको बस टर्मिनल निर्माण गरेको छ । ११ करोड ९८ लाख लागत स्टिमेटको बस टर्मिनल ८ करोड ४७ लाखमा गौरी पार्वती निर्माण सेवा काठमाडौंले ठेक्का लिई असोजमा निर्माण कार्य सम्पन्न गरेको थियो ।


नगर विकास कोषको ऋण सहयोगमा मुलुकभरि सञ्चालित योजनामध्ये यस बस टर्मिनलको कार्य प्रगति र गुणस्तर युक्त भएको भन्दै महानगरलाई सम्मानित गरेको थियो । ‘कोषले सम्मानित गरेको योजना समयमै सञ्चालन हुनुपथ्र्यो,’ कोषका अध्यक्ष ध्रुव रिजालले भने, ‘ऋण सहयोगमा निर्माण भएको संरचना सक्दो समयमै उपयोग गर्न सक्नु राम्रो हो ।’


टर्मिनल सञ्चालनमा भएको ढिलाइले महानगरमाथि ऋणको भार थपिएको छ । महानगरले कोषबाट ९ प्रतिशत ब्याज दरमा ऋण लिएर टर्मिनल निर्माण गरेको हो । टर्मिनल निर्माण भएको ४ महिनापछि सञ्चालन कार्यविधिबिनै उद्घाटन भएपछि यातायात व्यवसायी र मजदुर निराश भएका छन् । विराटेश्वर यातायात कम्पनीका अध्यक्ष उत्तम चौलागाइँले निर्माण सम्पन्न भएको ४ महिनापछि सञ्चालन कार्यविधिबिनै उद्घाटन हुँदा यातायात व्यवसायी निराश भएको गुनासो पोखे ।


‘बस टर्मिनलको प्रमुख उपभोक्ता यातायात व्यवसायी र मजदुरलाई महानगरले बेवास्ता गरेर उद्घाटन गर्नुले राम्रो संकेत देखाएन,’ उनले भने, ‘यातायात व्यवसायी र मजदुरको समन्वयबिना बस टर्मिनल सफल सञ्चालन नहुने विषय महानगरले बुझ्न सकेनन् ।’ यातायात व्यवसायी र मजदुरसँग समन्वय बनाएको कार्यविधिले टर्मिनल सञ्चालन सफल नहुने उनको भनाइ थियो ।


बस टर्मिनल बनाउनुपर्ने प्रताव गर्ने यातायात व्यवसायी र मजदुरलाई बेवास्ता गरेर महानगरले सञ्चालन गर्न नसक्ने चौलागाइँको भनाइ छ । ‘दैनिक १० हजारसम्म यात्रुको ओहोरदोहोर हुने बस टर्मिनलमा शौलायसमेत निर्माण गरिएको छैन,’ उनले भने, ‘टर्मिनलभित्रै शौचालय निर्माणर् नगनु गम्भीर त्रुटी भएकाले यसको निदान महानगरले तत्काल खोज्नुपर्ने अवस्था छ ।’ आफूहरूको पहलमा यसअघि निर्माण भएको शौचालयले बस टर्मिनलमा आउने यात्रुलाई थेग्न नसक्ने उनको भनइ छ ।


टर्मिनलमा सेफ्टी टयांक नै नभएकाले शौचालय निर्माण पनि असम्भव भएको चौलागाइँले बताए । ‘महानगरको ढलमा शौचालय जोड्ने योजना छ,’ उनले भने, ‘तर दुई वर्षभित्र ढल सञ्चालन नहुने अवस्था रहेकाले बस टर्मिनलमा यात्रुले सास्ती बेहोरिनुपर्ने अवस्था हुन्छ ।’ नेपाल ट्रेड युनियन महासंघ प्रदेश १ अध्यक्ष किशोर धमलाले जसले यो टर्मिनल उपभोग गर्छ, उसैलाई महानगरले उपेक्षा गरेर अघि बढ्नुले राम्रो नहुने बताए ।


‘यातायात व्यवसायी र मजदुरको समन्वयमा टर्मिनल सञ्चालन कार्यविधि बनाएर सञ्चालन गर्नुपर्छ,’ उनले भने, ‘यसले भविष्यमा टर्मिनल सञ्चालनमा कुनै किसिमको व्यवधान आउँदैन थियो ।’


निर्माणाधीन ६ लेन सडकभन्दा तल निर्माण भएको बस टर्मिनल वर्षायाममा जलमग्न हुने अवस्था रहेको धमलाले बताए । ‘अघिल्लो वर्ष पनि बस टर्मिनल जलमग्न भएको र अहिले झन् कोसी राजमार्गभन्दा तल पारेर निर्माण गर्नु नै गम्भीर त्रुटि हो,’ उनले भने, ‘वर्षायाम नजिकिँदै गएकाले महानगरले तत्काल पानी निकासको व्यवस्था गर्नुपर्छ ।’


यो टर्मिनलमा ५३ वटा मात्रै गाडी अट्ने भएकाले यातायात व्यवसायीको समस्या जस्ताको त्यस्तै रहने भएको छ । ‘विराटनगरमा दैनिक ३ सयदेखि ३ सय ५० वटा यात्रुबाहक सवारीसाधन ओहोरदोहोर गर्छन्,’ उनले भने, ‘यो टर्मिनलमा ५३ वटा मात्रै गाडी पार्किङ गर्ने व्यवस्थाले गाडी सडकमै पार्किङ गर्ने अवस्था अझै रहयो ।’ महानगरले तत्काल अन्य सवारीसाधनको पार्किङको विकल्प खोज्नुपर्ने उनले माग गरे ।


टर्मिनल उद्घाटन कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद दाहालले सञ्चालन कार्यविधि निर्माण भइसकेकाले बिहीबार टर्मिनल ठेक्काको सूचना प्रकाशन गरिसक्ने बताए तर महानगरका प्रवक्ता राजेन्द्र प्रधानले कार्यविधि बन्ने क्रममा रहेको बताए ।


‘अहिले महानगरले अमानतमा बस टर्मिनल सञ्चालन गर्ने व्यवस्था गरेको छ,’ उनले भने, ‘कार्यविधि बनेपछि ठेक्कामा दिएर सञ्चालन गर्छौं ।’ महानगर प्रमुख भीम पराजुलीले टर्मिनल पिपिपि मोडेलमा सञ्चालन गर्ने बताए ।


प्रकाशित : माघ १७, २०७५ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?