जोडिएन ‘माइती गाउँ फर्कने बाटो’
पाँचथर — पाँचथरको याङवरक गाउँपालिका १ फलैंचाकी कल्पना सुब्बा ७ वर्षअघि विवाह गरेर भारतको सिक्किम जाँदा माइती गाउँमा सडक खन्न सुरसार हुँदै थियो । तुलनात्मक रुपमा तीव्र गतिमा विकास भइरहेको भारतको सिक्किमले पनि नेपालतर्फ जोड्दै छ भन्ने चर्चा सुनेकी थिइन् ।
विवाहका लागि राजी गराउन उनलाई मगनी गर्न आएका दुलहाले पनि चिवा भञ्ज्याङ त अब सडकले चाँडै जोडिन्छ भनेर सुनाएनन् मात्रै, सरर गाडीमै आउजाउ भइहाल्छ नि भनेर फुर्ती पनि लगाए । उनलाई लागेको थियो, ‘सिक्किमले त चाँडै जोडिहाल्छ, नेपालले चाहिं अक्करे भीरमा बाटो निकाल्दैन, गफै मात्रै गरेको होला ।’
जंगलै जंगल भएका ठाउँमा सडक पनि कसरी निस्किएला र जस्तो अनुभूति हुन्थ्यो । नुन, तेल, चामलजस्ता दैनिक उपभोग्य वस्तुका लागि अभिभावकसँगै सिक्किमको उत्तरे पुग्ने उनी दुवै देशको सिमावर्ती क्षेत्रका विषयमा जानकार थिइन् तर उनले सोचेको भन्दा ठीक विपरीत भएको छ ।
उनी माइती आउँदा नेपालको सडकमा आक्कलझुक्कल गाडी चढ्न पाइरहेकी छन् । नेपालको सिमानादेखि नै गाडीमा चढेर माइतीघरसम्म पुगेकी छन् । सिक्किमतर्फ भने सडकको ट्रयाकले जोडिन बाँकी नै छ । अहिलेसम्म पनि उनी सिक्किमको उत्तरेसम्म पैदल यात्रा गरिरहेकी छन् । बेहुली भएर जाँदा पनि यहींबाट गाडी चढेकी थिइन् । उत्तरे नेपालीका लागि चिवा भञ्ज्याङबाट नजिकको बजार हो ।
कल्पनाजस्ता सयौं चेली सिक्किमका बुहारी छन् । सिक्किमका चेली पनि नेपालका बुहारी छन् । उनीहरू माइतीघर आउजाउ गर्दा पैदलयात्रा गर्छन् । दुई हप्ताअघि मात्रै माइती आउँदाको अनुभूति सुनाउँदै कल्पनाले थपिन्, ‘हामी ३२ जनाको टोली आएका थियौं । उत्तरे (सिक्किम) देखि उकालो चढेपछि नै हिउँ पर्न थाल्यो । चिवा भञ्ज्याङ निस्कदा त हिउँले हामीलाई पनि छोप्यो, सडक पनि छोप्यो । भारतीय प्रहरीकोमा एक घण्टाजति बसेर नेपालको ओरालो आयौं । एकादुई जना मात्रै भए त पार गर्नै सकिँदैनथ्यो, धेरैजना भएकाले ताते सर्दै राती ११ बजेतिर माइती घर आइपुग्यौं ।’ छोटो बाटो हिउँले पुरिएकाले सडकैसडक घुमेर आएको उनले सुनाइन् ।
पूर्वको नाकामा भारतसँग जोडिने मध्यपहाडी लोकमार्गको चिवा भञ्ज्याङ भारतबाट अझै जोडिएको छैन । १७ किलोमिटरको हाराहारीमा ट्रयाक ओपनको काम बाँकी छ । सडक कहिलेसम्ममा जोडिन्छ चिवाभञ्ज्याङमा बसेका सुरक्षा अधिकारीलाई त्यसको पनि जानकारी छैन । चिवा भञ्ज्याङको डाँडाबाट तल सोकपाखा भन्ने गाउँमा सडक आइपुगेको भने देखिन्छ । एक भारतीय सुरक्षा अधिकारीले सशस्त्रको बेसक्याम्प भएसम्म ल्याउने भन्ने चाहिं निश्चित भएको तर चिवा भञ्ज्याङ जोड्ने विषयमा कुनै जानकारी नभएको बताए ।
उनले भने, ‘सिक्किमको वनको नियम कडा छ । एउटा रुख ढल्ने भयो भने त्यसको पूर्ण विवरण तयार गर्नुपर्छ । ढाली सकेपछि पनि त्यसलाई वन कार्यालयमा बुझाएपछि मात्रै थप काम गर्न पाइन्छ ।’ चिवा भञ्ज्याङ पुग्ने नेपाल र भारत दुबै देशका हरेक नागरिकको प्रश्न यही सडकको विषयमा हुने तर प्रस्ट जवाफ दिन नसकिने सुरक्षाकर्मीहरू बताउँछन् । भारतले दुई देशको दशगजा छेउमै अर्धसैनिक बल र सिक्किम प्रहरीको पोस्ट राखेको छ ।
सिक्किमले सिमानासम्म सडक पुर्याए नेपाल सिक्किमसँग सिधै सडक सञ्जालले पहिलो पटक जोडिन्छ । सुरक्षा अधिकारीका अनुसार नेपाल र भारतको सिक्किम प्रान्तको सिमाना दूरी ९९ किलोमिटर छ । सिक्किम झाक्री ढुंगाका सामाजिक अगुवा अशोक क्षेत्री पर्यटन प्रवद्र्धन हुने भएकाले आफूहरूले पनि सिक्किम सरकारलाई चाँडो सडक जोड्न अनुरोध गरेको बताउँछन् । नेपालसँग सिधै सडक सम्बन्ध स्थापना हुने भएकाले यसलाई तीव्रता दिन सिक्किमका जनताले पनि माग गरिरहेका छन् ।
सिक्किम सरकारका खाद्य तथा नागरिक आपूर्ति विभाग र सहरी विकास तथा आवास विभागमन्त्री एनके सुब्बाले असोजमा आफ्ना नागरिकलाई डिसेम्बरसम्ममा सक्ने गरी काम बढाएको बताएका थिए । ६० प्रतिशतभन्दा बढी काम सकिएको बताएका उनले २४ करोड ३८ लाख भारतीय रुपैयाँ छुट्याइएको पनि भनेका थिए तर त्योअनुसारको काम भएको छैन । सोकपाखाबाट चिवाभञ्ज्याङ जोड्न १७ किलोमिटर छ ।
सिक्किम सरकारले पहिल्यै जोड्न चाहे पनि कञ्चनजंगा नेसलन पार्क भएर ल्याउनुपरेकाले केन्द्र सरकारको अनुमतिका लागि समय लागेको क्षेत्रीको बुझाइ छ । केन्द्र सरकारले तीन वर्षपछि बल्ल अनुमति दिएको हो । हिसिला यमी भौतिकमन्त्री भएका बेला सुरु भएको र आफूले प्रधानमन्त्री हुँदा राष्ट्रिय गौरवको आयोजनाको रुपमा विकास गरेको सडक भारतसँग नजोडिनु दुर्भाग्य भएको पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई बताउँछन् ।
पार्टीको जनसंवाद अभियान लिएर आएका उनले काठमाडौं फर्किएपछि सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङसँग कुरा गर्ने बताए । ‘म सांसद पनि भएको र संसदीय समितिमा समेत रहेकाले आफ्नो तर्फबाट सक्दो पहल गर्छु,’ उनले थपे, ‘धेरै काम भारतको पहिला हुन्थ्यो, सिमानासम्म सडक ल्याउने काम हामीले पहिला गर्यौं, यसमा पनि गर्व मान्नुपर्छ ।’ घुम्न जाने र भारत नेपाल आउजाउ गर्नेबाहेक अरू व्यापारिक कारोबार नभएकाले भारततिर सडक नहुँदा नेपालको लोकमार्गको सुरुवाती विन्दु पनि अलपत्रजस्तै भएको छ ।
सडकले जोडिएपछि ताप्लेजुङ, पाँचथर र तेह्रथुमको व्यापारिक कारोबार सिक्किम हुन्छ । यी तीनै जिल्ला यो सडकको लाभमा पर्छन् । सिमाना आसपासमा उस्तै भूगोल हुनुका साथै पोखरी, गुराँसको राजधानीजस्तै रहेको र हिमालय शृंखला नजिकै देखिने भएकाले पर्यटकको बढोत्तरी हुने निश्चित छ ।
सांस्कृतिक सम्बन्धसमेत रहेको दुई छिमेकीबीच कुटुम्बेरी साइनो महत्त्वपूर्ण छ । दुई छिमेकीबीच मागी तथा भागी दुवै विवाह चल्छ । सिक्किमतर्फको सडकका लागि सरकारले पहल गर्नुपर्ने स्थानीयको माग छ । याङवरक गाउँपालिका अध्यक्ष लेखनाथ घिमिरेले त्यसका लागि सांसददेखि उच्च ओहदाका जोकोहीसँग अनुरोध गरिरहेको बताए ।
चिवा भञ्ज्याङमा सडक नआउने भए नेपालको सडक फालोटतर्फ लगेर पनि सिक्किमसँग जोड्नुपर्ने माग जनताको रहेको घिमिरेले बताए । यसका लागि आफूले ताप्लेजुङका सांसद योगेश भट्टराई, पाँचथरका वसन्त नेम्बाङलगायतलाई सिमानासम्मै पुर्याएर वस्तुस्थिति बुझाएको सुनाए ।
सडक भए ठूलो संख्यामा पर्यटक पाँचथरको च्याङथापु, फलैंचा, ताप्लेजुङको सिदिङवा गाउँपालिकाको कालिखोला, सादेवा आउने अपेक्षा स्थानीयको छ । ‘तिम्बुङ पोखरी, कञ्चजंघा हिमालको आधार शिविरसम्म जाने रुट यहीँबाट पर्छ,’ सिदिङवाका सविन बानियाले भने, ‘त्यसैले सिक्किम आउने भारतको युपी, बिहारका पर्यटक पनि आउने अपेक्षा गरेका हौं ।’
पाथीभरा जाने दशनार्थीले पनि यही बाटो प्रयोग गर्न सक्नेछन् । दक्षिणी सिक्किमको उत्तरे, बेगा, देन्ताम, सोपाखालगायतका गाउँलाई यो सडकले जोड्नेछ । सिक्किम राज्यभरिका नागरिक चिवा भञ्ज्याङ भएर पूर्वी नेपाल आउन सक्छन् । सडक जोडिए व्यापारिक गतिविधि बढ्ने च्याङथापुका भीष्म लिम्बु बताउँछन् । सांस्कृतिक सम्बन्ध अझै प्रगाड हुने उनको बुझाइ छ ।
प्रकाशित : माघ १७, २०७५ ११:२६