३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

ओझेलमा पुराना सहर

पूर्वपश्चिम राजमार्ग बन्न थालेपछि भद्रपुर र शनिश्चरे बजारमा चहलपहल कम
कान्तिपुर संवाददाता

काँकडभिट्टा — राजमार्ग बन्नुअघि दक्षिण झापाको भद्रपुर र उत्तरतिरको शनिश्चरे बजारमा चहलपहल थियो  । पूर्वपश्चिम राजमार्ग बन्न थालेपछि यी दुई पुराना सहरहरू प्रभावित भए  ।

ओझेलमा पुराना सहर

राजमार्ग निर्माणसँगै काँकडभिट्टा, धुलाबारी, बिर्तामोड, सुरुंगा, दमकजस्ता साना बजार भने विस्तारित भइरहेका छन् । भद्रपुर र शनिश्चरेको अवस्था झन् पिछडिएको जस्तो बनेको छ । भद्रपुर कुनै समय पूर्वकै चल्तीको बजार थियो । प्रजातन्त्र पुन:स्थापनालगत्तै २००८ सालमा नगरपालिका बनेको भद्रपुर नेपालकै पुरानो नगर हो । धान चामल व्यवसायमा भद्रपुरको अलग पहिचान थियो । ०१६ सालदेखि चिया खेती पनि सुरु भयो । केही समय यी दुवै व्यवसायले सँगसँगै फष्टाउने मौका पाए ।


झापा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजेन्द्र घिमिरे बजार क्षेत्रसँग प्रत्यक्ष रूपमा राजमार्ग नजोडिनु नै भद्रपुरका लागि दुर्भाग्य सावित भएको टिप्पणी गर्छन् । ‘राजमार्गसँग भद्रपुर नजोडिनु नै दुर्भाग्य भयो’, घिमिरे भन्छन्,‘ पूर्व–पश्चिम राजमार्ग वन्न थालेपछि भद्रपुरको चमक विस्तारै हराउँदै गयो ।’ उनका अनुसार ०३४ सालताका मुख्य भन्सार कार्यालय नै भद्रपुरमै थियो । राजमार्ग निर्माणपछि काँकडभिट्टामा स्थान्तरण भयो । स्थानीय पत्रकार गोपाल गिरी भन्छन्, ‘मूल भन्सार भएको भए यहाँ पहिले नै पुल बनिसक्ने थियो ।’ तर, भद्रपुर छोटी भन्सार स्तरोन्नती भई मूल भन्सार बनेकाले स्थानीयवासी हर्षित छन् ।


भद्रपुर बजारको इतिहास २००० सालभन्दा अघिदेखि नै सुरु हुन्छ । नजिकैको भारत विहार राज्यबाट आएका केही व्यक्तिले सुरुआती दिनमा फुटपाथमा बजार थालेका थिए । कालान्तरमा त्यही फुटपाथे बजारले बृहत् भद्रपुर बजारको रूप लियो । यहाँ मारवाडी समुदायको बाहुल्यता छ । सरकारले भद्रपुरबाट बिर्तामोडसम्मको सडक विस्तार गरी ६ लेनको वनाउने घोषणा गरिसकेको छ । केचना चारआली सडक पनि कालोपत्रे हुन थालेको छ । अव भने भद्रपुरको मुहार फेरिन सक्ने अनुमान स्थानीयको छ । हुलाकी राजमार्गको प्रस्थान विन्दु पनि भद्रपुर नै हो ।


पूर्व–पश्चिम राजमार्ग बनेपछि उत्तरतिरको पुरानो बजार शनिश्चरेको हालत पनि भद्रपुरको जस्तै बन्यो । राजमार्ग निर्माणपछि समग्र झापामै ठूलो परिवर्तन त ल्यायो । साथमा पुराना र चल्तीका बजारको बेहाल गरिदियो । शनिश्चरे बजार विस्तारै विस्थापित भयो, बिर्तामोडले अप्रत्यासित प्रगति गर्‍यो । शनिश्चरेका पुराना बासिन्दा जयप्रसाद ढकाललाई यति बेला लागेको छ, नकलबन्दाको रूटबाट राजमार्ग निर्माण भएको भए शनिश्चरे बजार मुर्झाउने थिएन । ‘अहिलेको बिर्तामोडको आकार शनिश्चरेले ग्रहण गर्ने थियो’, ढकाल दाबी गर्छन्, ‘माथिल्लो रूटबाट राजमार्ग बन्न नसक्नु दुर्भाग्य भयो ।’


२०१८ सालअघि पूर्वपश्चिम राजमार्गलाई नकलबन्दा–शनिश्चरे हुँदै निर्माण गर्ने योजना तत्कालीन सरकारको थियो । सर्भे भयो । तर, उक्त रूट अनुपयुक्त ठहर गरी तत्कालीन यातायात सहायक मन्त्री ललीतबहादुर बमले काँकडभिट्टाबाटै राजमार्ग खन्न आरम्भ थिए । ढकालका अनुसार शनिश्चरेबाट ताप्लेजुङ जोड्ने सोझो र छोटो बाटो भए पनि त्यसको निर्माण सरकारको ध्यान जान सकेका छैन । माई, पुवा, जोगमाईलगायत नदीमा पुल बन्न जरुरी छ । ‘यो बाटो निर्माण गर्न सके शनिश्चरेलाई पहिलाकै अवस्थामा फर्काउन सकिन्छ’, ढकालको दाबी छ ।

प्रकाशित : आश्विन २४, २०७५ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?