१० वर्षमा बन्यो ताप्लेजुङको दोभान पुल 

आनन्द गौतम

ताप्लेजुङ — दोभानको तमोर नदी माथिकाे पुल १० वर्ष पछि सोमबार देखि सञ्चालनमा आएको छ । २०६६ मा निर्माण सुरु भएको पुल बल्ल सम्पन्न भएको हो । पुल सञ्चालनमा आएसँगै ताप्लेजुङ अब मेची र कोशी राजमार्ग दुवैसँग जोडिएको छ ।  

ताप्लेजुङको दोभानमा तमोर नदीमाथि बनेको पुलमा गाडी चल्न थालेपछि हौसिदै युवाहरु । तस्बिर : कान्तिपुर         

सोमबार बिहान ठूला तथा साना सवारीसाधन पुलबाट गुड्न सुरु भएको उद्योग वाणिज्य संघ दोभान शाखाका अध्यक्ष चन्द्र प्रसाद पौडेलले जानकारी दिए ।

पौडेलकाअनुसार पुल तारेर मेरिङदेन, आठराई त्रिबेणी, मैवाखोला गाउँपालिकाका केन्द्रसम्म गाडी पुऱ्याइएको छ । वर्षौको प्रतिक्षापछि पुलमा गाडि चल्दा दोभानमा भेला भएकाहरु उत्साही भएका थिए ।
प्रादेशिक संरचना अनुसार दुई निर्वाचन क्षेत्र रहेको ताप्लेजुङको दुई क्षेत्रलाई पनि यही पुलले जोडेको छ । आठ गाउँपालिका र एक नगरपालिका रहेको जिल्लाका एउटा बाहेक सबै स्थानीय तह अब सदरमुकाम फुङलिङसँग सडक सञ्जालले जोडिएका छन् । मिक्वाखोला गाउँपालिकाको केन्द्र साँवामा भने मोटरबाटो पुगेको छैन ।

यो पुलको निर्माण सम्झौता २०६६ साल मंसिर ८ गते भएको थियो । सडक डिभिजन कार्यालय इलामले गरेको टेण्डरमा कन्काइ, मैनाचुली र याक्थुङहाङ जेभी गरी तीनवटा कम्पनीले टेण्डर पारेका थिए ।

११ करोड १६ लाखको टेण्डर माग गरिएकोमा १० प्रतिशत कम १० करोड ३५ लाख ६७ हजारमा दुई बर्षमा सक्ने गरि सम्झौता भएको थियो । पुल निर्माणको प्रगतिअनुसार डिभिजन कार्यालयले ६ करोड ७५ लाख भुत्तानी दिएपनि ढिलासुस्ती भएपछि ७१ सालदेखि भुत्तानी रोकिएको थियो । यो एकतर्फी चल्ने ट्रष्ट ब्रिज हो ।

प्रकाशित : आश्विन ८, २०७५ १३:२१
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

माल्दिभ्सको राष्ट्रपतिमा विपक्षी नेता इब्राहिम विजयी

रासस/एएफपी

माले, माल्दिभ्स — माल्दिभ्सका विपक्षी नेता इब्राहिम मोहमद सोलिह राष्ट्रपतिमा निर्वाचित भएका छन् । चुनावमा धाँधलीको आशंका गरिए पनि निकै शक्तिशाली मानिएका वर्तमान राष्ट्रपति अब्दुल्ला यामीन आश्चर्यजनक रुपमा पराजित भएका छन्। 




निर्वाचन आयोगले सोमबार बिहान सार्वजनिक गरेको चुनावी मतपरिणाम अनुसार इब्राहिमले ५८दशमलव ३ प्रतिशत मत प्राप्त गरेका छन्।

निर्वाचनको नतिजा सार्वजनिक भएलगत्तै सोलिहको माल्दिभियन डेमोक्रेटिक पार्टी (एमडीपी) का समर्थकहरुले सडकमा खुशीयाली मनाउँदै नाचगान शुरु गरेका छन्। चुनावी नतिजाप्रति राष्ट्रपति यामीनले कुनै प्रतिक्रिया दिएका छैनन्।

सोलिहको पक्षमा विपक्षीहरुले गठबन्धन निर्माण गरी चुनावी प्रचारमा उत्रिएका थिए। राष्ट्रपति यामीनले सञ्चार माध्यममाथि लगाएका प्रतिबन्धहरुले चुनावमा धाँधली हुने आशंका व्यक्त गरिएको थियो।

आइतबार सम्पन्न चुनावमा धेरैजसो विपक्षी नेताहरु जेलमा वा निर्वासनमा रहेका कारण सोलिह बाहेक अन्य विपक्षी नेताहरु चुनावी मैदानमा थिएनन्। निर्वाचनमा विजयी घोषित नवनिर्वाचित राष्ट्रपति सोलिहले एक टेलिभिजन अन्तर्वार्तामा भनेका छन्, 'म जनताको इच्छालाई सम्मान गर्न राष्ट्रपति यामीनसँग आग्रह गर्दछु र सत्ताको शान्तिपूर्ण, सहज हस्तान्तरणका हुने अपेक्षा गर्दछु।'

उनले राजनीतिक बन्दीहरुलाई तत्काल जेलमुक्त गर्न पनि आग्रह गरेका छन्।

चुनाव हुनुअघि एमडीपी समेत विपक्षी दलहरुका कार्यालयमा प्रहरीले छापा मारेको थियो, तर कसैलाई पक्राउ गरिएको थिएन।

पूर्व राष्ट्रपति समेत रहेका एमडीपीका अध्यक्ष मोहमद नसीदले यो मतदानले मुलुकलाई लोकतान्त्रिक मार्गमा पुनः ल्याउने विश्वास व्यक्त गरे। राष्ट्रपति यामीनले हार स्वीकार्नुबाहेक अर्को विकल्प नरहेको पनि उनले बताए। मोहमद नसीद हाल निर्वासनमाछन्।

यो निर्वाचनलाई चीन र भारतले महत्वका साथ हेरिरहेका छन्। संयुक्तराज्य अमेरिका र युरोपेली युनियनले चुनाव स्वतन्त्र र स्वच्छ रुपमा सम्पन्न नभए आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए।

माल्दिभ्समा यस चुनावमा २ लाख ६२ हजार मतदाता रहेका थिए।माल्दिभ्सको आन्तरिक मामिलामा विगतमा निकै प्रभावी रहेको भारतले सन् १९८८ मा सम्भावित सत्ताविद्रोह दबाउन सेना र युद्धपोत पठाएको थियो। भारतले चुनावी नतिजाले लोकतान्त्रिक मूल्यमान्यतालाई पुनर्वहाली गर्ने विश्वास लिएको छ।

पछिल्ला वर्षहरुमा राष्ट्रपति यामीनमाथि चीनसँग नजिकिएको आरोप लाग्दै आएको थियो। माल्दिभ्सका ठूला पूर्वाधार परियोजनाका लागि चीनले करोडौं डलर ऋण प्राप्त गरेका थिए।

प्रकाशित : आश्विन ८, २०७५ १३:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×