कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युवाको मागः ‘सुरक्षा र रोजगारी प्रत्याभूत’

कान्तिपुर संवाददाता

धनकुटा — ‘नारीलाई देवी मानेर पुजिने समाजमा नारी आफैं असुरक्षित किन ?’ यस्तो लेखिएको प्ले कार्ड बोकेर धनकुटा बजारमा युवा जमात घरदैलो गर्दै थिए ।

युवाको मागः ‘सुरक्षा र रोजगारी प्रत्याभूत’

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा हिंसा न्यूनीकरण र युवा जमातलाई सृजनात्मक गतिविधिमा संलग्न गराउन राज्य पक्षबाट अवसर प्रदान गरिनुपर्नेमा उनीहरूले जोड दिए ।

जिल्ला युवा समितिले आयोजना गरेको र्‍यालीका क्रममा उनीहरू सहभागी थिए । खासगरी हिंसाजन्य क्रियाकलाप तथा कुलत अनि रोजगारीको सवालमा हुने जोखिमपूर्ण कार्यमा युवा जमातको संलग्नता हुने भएकाले यसको न्यूनीकरणका लागि सहभागीले जोड दिए ।

श्रमको दुरुपयोग, जातीय तथा साम्प्रदायिक दंगामा युवा शक्तिको प्रयोग हुने साथै आप्रवासनमा समेत असुरक्षित हुनु परेको युवा समितिका अध्यक्ष अर्जुन छाराहाङले बताए । मुलुकका ४० प्रतिशत युवा जनशक्तिका लागि राज्यले सम्बोधन नगरेको गुनासो पोखे । ‘वैदेशिक रोजगारमा जान बाध्य ठूलो जनशक्तिले पठाएको रेमिटेन्सको हिसाब गर्दै दंग पर्ने अवस्थाको अन्त्य गर्नुपर्छ, उनले भने, ‘यथासक्य चाँडो युवाका लागि आकर्षक र समयसापेक्ष नीति कार्यक्रम ल्याउन जरुरी छ ।’ उनले हिंसाजन्य क्रियाकलापभन्दा सिर्जनात्मक गतिविधिमा युवा जमातको उपस्थिति रहनुपर्ने जोड दिए ।

त्रिभुवन विश्ववद्यालयबाट अनुसन्धानका लागि धनकुटा पुगेकी नम्रता मानन्धरले युवा शक्तिलाई सही बाटो निर्देश गर्न राज्यले नीति बनाउन जोड दिइन् । सहभागी कल्पना सुवेदीले शिक्षित युवा जमात समेत बेरोजगारी रहनुपर्ने बाध्यता दुखद पक्ष रहेको तर्क राखिन् । प्रदेश सांसद इन्द्रमणी पराजुली तथा निरन राईले पनि युवा जनशक्तिलाई नीति बनाएर मुलुकभित्रै रोजगारको व्यवस्था गर्न जरुरी रहेको बताए ।

प्रकाशित : श्रावण २८, २०७५ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?