कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मौलिक पहिरन जोगाउँदै महिला

दमक — धिमाल समुदायका महिलाहरू मौलिक पोसाक संरक्षणमा जुटेका छन् । आधुनिकताका कारण संकटमा पर्दै गएपछि उनीहरू संरक्षणमा लागेका हुन् ।

मौलिक पहिरन जोगाउँदै महिला

धिमाल महिलाहरूले लगाउने ‘दाबोना’ अर्थात् पेटानी नयाँ पुस्तामाझ आकर्षण बढाउन उनीहरूले गाउँमै पेटानी बुन्ने गरेका छन् । दमक नगरपालिका ३ दोघरेमा धिमाल महिला समाजले ‘दाबोना उद्योग’ स्थापना गरेको छ ।

उक्त उद्योगमा अहिले १० तान छन् । स्थानीय धिमाल महिलाहरूले आफू र परिवारका लागि आवश्यक पर्ने पेटानी त्यही बुन्ने गर्छन् । व्यावसायिक रूपमा पेटानी बनाउन चाहनेलाई दैनिक ज्यालासमेत दिने गरिएको छ ।

‘हाम्रो जातीय पहिचान झल्काउने एउटा ठूलो आधार हो, महिलाहरूले लगाउने पेटानी’ स्थानीय हरिलाल धिमालले भने, ‘तर, यही पेटानी लोप हुने खतरा बढेपछि हामीले गाउँमै उद्योग स्थापना गरेका हौं ।’ उनले पछिल्लो ६ वर्षदेखि धिमाल महिलालाई आवश्यक पर्ने पेटानी उत्पादन गर्दै आएको बताए । उद्योग स्थापना भएपछि २ सय बढीले तालिम लिएको उनले बताए ।

आफ्ना लागि पेटानी बनाउँदै गरेकी गंगा धिमालले गाउँमा उद्योग स्थापना भएर जातीय पोसाक लगाउन पाएकोमा खुसी व्यक्त गरिन् । उनले भनिन्, ‘घरनजिकै उद्योग भएकाले आफ्ना लागि पेटानी बनाउन भ्याएका छौं ।’

उनका अनुसार ढिलोमा २ दिनमा एउटा पेटानी तयार गर्न सकिन्छ । धिमाल महिलाहरूले ४ किसिमका पेटानी लगाउने गर्छन् । दाबोना, इटाङ्गी, पातलोई र सामोढी पेटानी हुन्छ । पेटानी बुनाउने तालिम लिइरहेकी शान्ति धिमालका अनुसार दाबोना पेटानीको बजार मूल्य दुई हजार ५ सय पर्छ भने इटाङ्गी, पातलोई र सामोढी एक हजार ५ सय प्रतिगोटा पर्दछ ।
पेटानी बनाउने तानको मूल्य धेरै भएकाले उद्योगमा पेटानीको माग पछिल्लो समय बढदै गएको उनले बताइन् । उनले एउटा तानको मूल्य २५ हजार पर्ने गरेको बताइन् ।

‘तान राखेर घरमै पेटानी बनाउन सबैका लागि सहज हँुदैन । बजारमा धिमाल पेटानी खोजेजस्तो नपाइने गरेकाले लोप हुने अवस्था थियो,’ उनले भनिन्, ‘उद्योग स्थापनापछि धेरै सजिलो भएको छ । हामीले काम पनि पाएका छौं ।’ उद्योगमा पेटानी बनाउन सिक्न आउनेलाई धिमाल महिला समाजकी अध्यक्ष शान्ति धिमालले सिकाउने गरेकी छन् । मेडेप नेपाल र घरेलु तथा साना उद्योग कार्यालयको सहयोगमा उद्योग सञ्चालन गर्दै आएको उनले बताइन् । पेटानी धिमाल महिलाले लगाउने प्रमुख पोसाक हो ।

प्रकाशित : असार १८, २०७५ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?