२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७१

बकैनाको डालीमा कोचलगाँडे [तस्बिर]

रमेशकुमार पौडेल

चितवन — सुकेको धोद्रो रुखमा गुँड लगाउने ‘कोचलगाँडे’ लाटोकोसेरो आइतबार बिहान खैरहनी कठार गाउँमा बकैनाको हरियो रुखमा देखियो । भर्खरै पालुवा लागेको बगैनाको हाँगोमा दुईवटा ‘कोचलगाँडे’ घरि यता घरि उता गरिरहन्थे । प्राय सुर्यास्तपछि सक्रिय हुने पन्छी हो लाटोकोसेरो । तर सुर्योदय भएको लामो समयसम्म पनि ती जोडीले बकैनाको बुटो छाडेनन् ।

स्थानीयका अनुसार त्यसले आडैमा रहेको परेवाको खोरमा गुँड लगाएको छ । त्यसैले हत्तपत्त बकैनाको रुख छाड्दैन । चरा संरक्षणका लागि अभियान चलाउने संस्था सौराहाको बर्ड एजुकेशन सोसाइटीका पुर्व अध्यक्ष बासु बिडारीको बछौलीको घरमा रहेको परेवाको खोरमा पनि यसका दुईवटा गुँड छन् । मुसा खाने भएका कारण यो लाटोकोसेरो किसानहरुको सहयोगी जीव हो । तर गुँड लगाउने ठाउँ खोज्न यसलाई सकस हुँदै गएको छ ।लाटोकोसेराको संरक्षणमा सक्रिय संरक्षणकर्मी राजु आचार्यका अनुसार नेपालमा २३ प्रजातिका लाटोकोसेरोहरु पाइन्छन् । तीमध्ये ‘गोठे लाटोकोसेरो’ र ‘कोचलगाँडे लाटोकोसेरो’ गाउँ बस्तीमा पनि बस्ने खालका हुन्छन् । ‘गोठे लाटोकोसेरो त सहर बजारमा पनि बस्छ । तर कोचलगाँडे त्यस्तो भिडभाडमा हैन कि अलि शान्त खालको बस्ती, खेतहरु भएको ठाउँमा र जंगल वरपर बस्छ’ आचार्यले भने ।सुकेको धोद्रो रुख ‘कोचेल्गाँडे’ले गुँड लगाउने उपयुक्त ठाउँ हो । तर वनमा सुकेका रुखहरु प्राय काट्ने गरिन्छ । त्यसैले गुँड बनाउने ठाउँ खोज्दै यी गाउँघर तिर छिर्न थालेका छन् । ‘गाउँघर तिर पनि गुँड लगाउन मिल्ने पुराना स्टाइलका घरहरु कहाँ छन् र ? ढलान गरेका घरहरुमा गुँड लगाउन मिल्ने खाली ठाउँ हुँदैनन् । पहिला पुराना दुई पाखे र घरले छाएका पाली निस्केका घरमा हुन्थे’ आचार्यले भने ।त्यसैले परेवाको खोर तिर गएको हुन सक्ने आचार्यको भनाइ छ । ‘कोचलगाँडे लाटोकोसेरो’ले मुख्य गरेर मुसा अनि फट्याङ्ग्रा, छेपारा, खपटे किरा र स–साना चराहरु नै पनि खान्छ । किसानको बाली नोक्सान गर्ने जीवहरु यसको मुख्य आहारा हो । त्यसैले यो मान्छेको सहयोगी चरा हो । मान्छेलाई यसले कुनै हानी क्षति गर्दैन । तर मान्छेका कारण गुँड बनाउने ठाउँ पाउन पनि यसलाई सकस हुन थालेको छ’ संरक्षणकर्मी आचार्यले भने ।नेपालको तराई मधेसका सवै जिल्ला र पहाडी जिल्लामा पनि समुन्द्र सतहदेखि १५ सय मिटर उचाइसम्म कोचलगाँडे लाटोकोसेरो पाइएको उनले जानकारी दिए । चिर्रर, चिर्रर र उचुचुचु उचुचुचु आवाज निकाल्ने यो लाटोकोसेरोका बारेमा नेपाल र विश्वमै कम चासो दिने गरेको आचार्यले बताए । नेपालमा यसको संख्या कति छ भन्ने पनि यकिन भएको छैन । विभिन्न समस्याहरुले लाटोकोसेरोलाई पिरोलेको उनले बताए ।‘अवैध सिकार पनि समस्या छ । यो रोक्नु पर्दछ । गुँड बनाउन संकट पर्दै गएको छ । खेतिबालीमा विषादी प्रयोग बढेपछि खाने आहारा पनि नासिने भए । यसले किरा फट्याङ्ग्राहरु खान्छ । खेतिमा विषादी छरेपछि सवै किरा मर्दछन्’ आचार्यले भने । सेता आँखीभौं, तालुमा सेतै थोप्ला, अनुहार खैरोखैरो र घाँटीमा सेतो माला जस्तो हुने भएका कारणले यसले ‘कोचलगाँडे’ नाम पाएको हो । 


प्रकाशित : वैशाख ९, २०८१ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्