२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३७४

‘ब्रेक थ्रु’ हुनै लागेको नागढुंगा सुरुङ

४ मिटर मात्र खन्न बाँकी
तस्बिर : अंगद ढकाल, विमल खतिवडा

काठमाडौँ — नागढुंगा–सिस्नेखोला सुरुङको अहिले धादिङ र काठमाडौं दुवैतर्फ खन्ने काम अन्तिम चरणमा छ । तीन सिफ्टमा गरेर निर्माण भइरहेको मुख्य सुरुङ ४ मिटर मात्र खन्न बाँकी छ । छिट्टै नै ‘ब्रेक थ्रु’ गर्नेगरी निर्माणको काम भइरहेको नागढुंगा-सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाका उपआयोजना निर्देशक गोविन्द दुमरुले बताए ।

‘ब्रेक थ्रु’ भएपछि त्यसलाई फिनिसिङ गरेर यातायातका साधन चलाउन थप एक वर्ष लाग्ने छ । सुरुङ खन्न २ मिटर बाँकी भएपछि एक कार्यक्रमबीच खनेर ‘ब्रेक थ्रु’ गरिने उनको भनाइ छ । ‘कहिले ब्रेक थ्रु गर्ने भनेर निर्णय भइसकेको छैन,’ उनले भने, ‘छिट्टै नै यसको मिति तय गरिने छ ।’ अहिले थानकोटमा फ्लाईओभर निर्माण धमाधम भइरहेको छ । फ्लाईओभरबाट सुरुङ मार्गसम्म पुग्ने २.३० किलोमिट दुई लेन सडकमा ग्राभेल र कालोपत्र काम हुँदै छ ।

‘ब्रेक थ्रु’ को समय नजिकिदै जाँदा स्थानीयले खानेपानी, सिँचाइलगायतका माग राखेर एक महिना काम ठप्प पारेका थिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्रालय र स्थानीयसँग नौ बुँदे सहमति भएपछि चैत ६ गतेबाट पुनः निर्माणको काम सुरु भएको थियो । १४ मिटर सुरुङ खन्न बाँकी छँदा स्थानीयले काम रोकेका थिए । गत फागुन २३ मा ‘ब्रेक थ्रु’ गर्ने समय निर्धारण गरिएको थियो । तर त्यो भन्दा पहिल्यै स्थानीयले नयाँ पुराना माग राखेर काम ठप्प पार्दा तोकिएको समयमा सुरुङको ‘ब्रेक थ्रु’ हुन नसकेको आयोजनाले जनाएको छ ।

आपत्कालीन सुरुङको ‘ब्रेक थ्रु’ भने गत साउन २२ मा भएको थियो । जसको दूरी २५५७ मिटर छ भने मुख्य सुरुङको दूरी २६८३ मिटर छ । सुरु सम्झौताअनुसार आयोजनाको समयावधि ०८० वैशाखमा सकिएको हो । उक्त समयभित्र काम नसकिएपछि ०८१ वैशाख १३ सम्मलाई म्याद थपिएको छ । ०७६ कात्तिकमा निर्माण थालिएको सुरुङको काम सम्झौताअनुसार ४२ महिनाभित्र सकिनुपर्ने थियो ।


प्रकाशित : चैत्र १९, २०८० १३:३४
प्रतिक्रिया
पठाउनुहोस्