कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तस्बिरमा यस्तो देखियो सेतो मछिन्द्रनाथको जात्रा

तस्बिर : इलिट जोशी/कान्तिपुर

काठमाडौँ — सहकालका देवताको रुपमा लिइने सेतो मछिन्द्रनाथको जात्रा सुरु भएको छ । प्रत्येक वर्ष चैत शुक्ल अष्टमीका दिन सेतो मच्छिन्द्रनाथको रथ तान्ने गरिन्छ ।

चैत्र शुक्ल अष्टमीका दिन तीनधारा पाठशालाबाट सुरु हुने रथयात्रालाई आइतबार तानेर असनसम्म पुर्‍याइन्छ । दोस्रो दिन असनबाट हनुमानढोकास्थित कालभैरवसम्म, तेस्रो दिन कालभैरवबाट लगनटोलसम्म पुर्‍याइन्छ । चौथो दिन लगनमा रथ घुमाइन्छ । पाँचौँ दिन मूर्तिलाई सानो रथमा राखी लगनटोलबाट मच्छेन्द्रबहालसम्म यात्रा चलाइन्छ । यसरी चैत १५ गते सेतो मच्छेन्द्रनाथको रथ यात्रा सकिने गुठी संस्थान काठमाडौँ शाखाका प्रमुख बैकुण्ठ रेग्मीले जानकारी दिए ।

यसवर्ष रथ निर्माणका लागि रु चार लाख र रथयात्रा चलाउने एवं मच्छेन्द्रनाथको पूजाआजा चलाउने रैरकमीलाई खानगीलगायत शीर्षकमा रु चार लाख बजेट व्यवस्था गरिएको उनले बताए । मच्छेन्द्रबहालमा रथ ल्याएपछि पूजा गरी प्रसाद खाइन्छ । यसपछि घर घरमा भोज खाने चलन छ । यो विधि अपनाएमा देशमा अनिकाल हटी सहकाल आउँछ भन्ने स्वयम्भू पुराणको बुद्धवचनमा उल्लेख छ ।

आइतबार बिहान अष्टमी हुँदा नै सूर्योदय हुने भएकाले सेतो मच्छेन्द्रनाथको रथयात्रा पनि आजै सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेका पात्रोमा उल्लेख गरिएको अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।


प्रकाशित : चैत्र ११, २०७४ २०:१५
प्रतिक्रिया
पठाउनुहोस्