कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बलेवामा २६ बर्षपछि जहाज

प्रकाश बराल

बागलुङ — २६ बर्षदेखि बन्द भएको बागलुङको बलेवा बिमानस्थलमा सोमबार परिक्षण उडान गरिएका छ । यो उडानले यहाँको बिकासमा नयाँ ढोका खुलेको स्थानीयले बताएका छन् ।

नेपाल नागरिक उड्ययन प्राधिकरणले कर्मचारी र प्राविधिक सहित १० राखेर पहिलो पटक तारा एयरलाइन्सको १८ सिट क्षमताको ९ एन एकेएल जहाज बागलुङको बलेवा मैदानमा अवतरण गरेको हो । बागलुङ नगरपालिकाको अगुवाईमा दुई महिना अघिदेखि थालिएको तयारी स्वरुप जहाज आएको हो । पहिलो उडान हेर्न यहाँका सयौं मानिस बिमानस्थल वरपर भेला भएका थिए । उनीहरुले जहाज अवतरण गर्दा ताली बजाएर स्वागत पनि गरे । साथै उडानमा आएका पाईलट र प्राविधिकलाई फूलमालाले स्वागत पनि गरेका थिए ।

चैत ९ गते देखि यात्रीका लागि नेपाल एयरलाइन्स र तारा एयरलाइन्सले नियमित उडान भर्ने सहमति अनुसार सोमबार परीक्षण गरिएको प्राधिकरणका पोखरा स्थित निर्देशक भोलाप्रसाद गुरागाईंले बताए । पहिलो उडानका क्रममा पाईलटहरु सन्तोष शाह, प्रभाकर घिमिरे र संजीव श्रेष्ठ तथा कोपाईलट सिर्जना हुमागाईंलगायतको टोली आएका थिए । टोलीले मैदानलाई अझै सम्याउन, जहाजको पार्किङ स्थल तथा यात्री प्रतिक्षालय बनाउन प्राधिकरण र नगरपालिकालाई सुझाव दिएका छन् ।

चालक शाहका अनुसार बलेवादेखि काठमाडौंस्थित त्रिभूवन बिमानस्थलमा पुग्न ४५ मिनेटको उडान हुनेछ । २०१८ सालमा निर्माण भएपछि नियमित संचालन भएको बिमानस्थल २०४८ सालमा पोखरा–बागलुङ राजमार्गको ट्रयाक खुलेपछि जहाज आउन छाडेको थियो । तस्बिरहरु: प्रकाश बराल/कान्तिपुर ।


प्रकाशित : चैत्र ५, २०७४ १५:०१
प्रतिक्रिया
पठाउनुहोस्