कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रित्ता थाल बजाएर सदरमुकाम माग्दै [तस्बिरसहित]

कान्तिपुर संवाददाता

रुकुम (पूर्व) — गत बिहीबार बसेको मन्त्री परिषद् बैठकले जिल्लाको सदरमुकाम अन्यत्रै सार्ने निर्णय गरेपछि रुकुमकोट र त्यस आसपासका स्थानीय आन्दोलित भएका छन् । निर्णय भएको केही समयमै आन्दोलन सुरु गरेका उनीहरुले आन्दोलनको सातौं दिन बुधबार रित्ता थाल बजाउँदै सदरमुकाम सार्ने निर्णय खारेजी माग गरे ।

अस्थायी सदरमुकाम रहेको रुकुमकोटमा स्थायी सदरमुकाम भएको घोषणा गर्नुपर्नेमा सदरमुकाम नै सार्ने निर्णय गरेको भन्दै आन्दोलनकारीले सात दिनदेखि विभिन्न आन्दोलनका कार्यक्रम गरिरहेका छन् । प्रधानमन्त्रीको पुत्ला दहनदेखि यातायातका साधन ठप्प, सरकारी कार्यालयमा तालाबन्दी गरेर आन्दोलनका उत्रिएकाहरु निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी रहने बताउँछन् ।

हरेक दिन भिन्दाभिन्दै प्रकृतिका कार्यक्रम गरेर सदरमुकाम फिर्ताको निर्णय गराउन दबाब दिइरहेका उनीहरुले बुधबार भने रित्ता थाल चम्चाले बजाएर रुकुमकोट बजार परिक्रमा गरेका छन् । छिप्रिदहबाट सुरु भएको र्‍याली, चोक बजार, कमलदह हुँदै फेरि पनि छिप्रिदहमै आएर कोणसभामा परिणत भएको थियो । सरकारी तथा निजी विद्यालय समेत बन्द गरेका आन्दोलनकारीले बजार पनि पूर्ण रुपमा बन्द गराएका छन् ।

भौतिक पूर्वाधार, सडक सञ्जाललगायत कुराले पूर्ण भएको सदरमुकाम अन्यत्रै सार्ने निर्णय गलत भएको आन्दोलन समितिका संयोजक नन्दलाल शर्माले बताए । सिस्ने गाउँपालिका ५ र ६ रुकुमकोटमा रहेको अस्थायी सदरमुकाम अब पुथाउत्तरगंगा गाउँपालिका-१२, को गोखारामा सार्ने निर्णय सरकारले गरेको छ । यसअघि छुट्टै जिल्ला हुँदा रुकुमकोट नै जिल्ला सदरमुकाम भनेर उद्घाटन समेत गरिएको थियो ।


प्रकाशित : माघ १७, २०७४ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्