कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

निजी स्तरबाट पर्यटनमा प्रोत्साहन

पाठक पत्र

सरकार पर्यटन प्रवर्द्धनमा उदासीन देखिँदै आएको यथार्थ कसैबाट लुकेको छैन । यो कुरा भ्रमण दशक घोषणा गरेको डेढ वर्ष बित्दा पनि सत्ताधारी कानमा तेल हालेर बसेको सन्दर्भबाट पुष्टि हुन्छ । सहकारी ठगीका कारण अर्थतन्त्र ध्वस्त बनेको दयनीय अवस्था एकातिर छ भने अर्कातिर अर्थतन्त्र सुधार गर्ने वैकल्पिक योजना सरकारसँग छैन ।

निजी स्तरबाट पर्यटनमा प्रोत्साहन

कृषि, औद्योगिक क्षेत्रको उत्पादन निराशाजनक रहेको स्थितिमा सरकारका पदाधिकारीको अर्जुनदृष्टि रेमिट्यान्सबाट प्राप्त रकममाथि मात्र टाँसिएको छ । लुटेरा प्रवृत्ति बोक्नेहरूको हालीमुहाली बढिरहँदा कमिसनको चक्करमा अन्तर्राष्ट्रिय विमानस्थल, ठूला जलविद्युत् आयोजना निर्माण, विमान खरिद, सरकारी जग्गा हिनामिना, मानव एवं सुन तस्करीलगायतका क्रियाकलापमा कतिपय शीर्ष नेतृत्वको नाम जोडिएको सन्दर्भ जगजाहेर छ ।

कमिसन नआउने र सानो लगानीबाट सञ्चालन गर्न सकिने पर्यटन प्रवर्द्धनमा नेतृत्वको ध्यान नगएपछि निराशा बढेको छ । नेपालका प्राकृतिक सौन्दर्य, संरचना विश्वभर चर्चित हुँदा पनि तिनीहरूको सदुपयोग गर्न नसक्दा अर्थतन्त्रमा नयाँ खुड्किलो थप्न सकिएको छैन ।

धेरैले अपेक्षा गरेअनुसार मुलुकको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान कम्तीमा २५ प्रतिशत हुनुपर्ने थियो । तर यो ओझेलमा परेपछि आशातित उपलब्धि हासिल हुन सकेको छैन । तथापि विदेशी पर्यटकको वृद्धि एवं स्वदेशी पर्यटकको समेत घुमफिरमा लगाव बढेका कारण अहिलेसम्म यस क्षेत्रको अर्थतन्त्रमा योगदान १.९७ रहेकामा चालु आर्थिक वर्षको अन्तसम्म २.४२ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ ।

पर्यटकले खर्च गरेको कुरा उठाउँदा चालु आर्थिक वर्षको आठ महिना अर्थात् फागुनसम्म ५१ अर्ब ३९ करोड रुपैयाँ देखिन आउँछ, जुन गत आर्थिक वर्षको सोही अवधिमा भएको खर्चभन्दा ४२.१ प्रतिशत बढी छ । केही वर्षदेखि हिमालदेखि तराईसम्म घुमफिर गर्ने संस्कार बढेका कारण जताततै आन्तरिक पर्यटकको भीड देख्न सकिन्छ ।

यसले व्यवसायी प्रोत्साहित भएसँगै अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको देखिन्छ । पर्यटन व्यवसायी, राष्ट्रिय पर्यटन विकास बोर्ड, सरकार र सरोकारवालाहरूको तत्त्वावधानमा घोषित भ्रमण दशकको अवधिभित्र पर्यटन उद्योगबाट अर्थतन्त्रमा कम्तीमा २० प्रतिशत योगदान पुर्‍याउने संकल्प बोकेर अभियान थाल्नु जरुरी देखिन्छ ।
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

प्रकाशित : जेष्ठ १६, २०८१ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×