२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

डाक्टरको सुरक्षा सवाल

पाठक पत्र

अस्पतालमा ल्याइएका बिरामीको उपचारका क्रममा मृत्यु हुँदा डाक्टरमाथि कुटपिट र अस्पताल हाताभित्र हुलहुज्जत गर्ने प्रवृत्ति नौलो रहेन । बिरामी भएका सबै मानिसलाई जस्ताको तस्तै बचाउने डाक्टर भगवान् त होइनन् नि । डाक्टरमाथि हमला कुनै पनि हालतमा क्षम्य हुँदैन र हुनु पनि हुँदैन । त्रासमा रहेर कुनै पनि डाक्टरले बिरामीको उपचार गर्न सक्दैनन् ।

डाक्टरको सुरक्षा सवाल

सबै डाक्टर ठीक हुन्छन् भन्ने होइन, डाक्टरले गल्ती नै गर्दैनन् भन्ने पनि होइन, काम गर्ने क्रममा डाक्टरहरूबाट पनि त्रुटि नभएका घटना पनि छैनन् । डाक्टरको गल्तीमा उजुरी गर्ने, सुनुवाइ गर्ने निकाय छन् । ती निकायबाट उपचार खोज्नुपर्नेमा सिधै डाक्टरमाथि आक्रमण गर्नु अपराधी मानसिकताको पराकाष्ठा हो ।

डाक्टरी पेसा त्यसै पनि संवेदनशील छ । यो पेसा मानिसको ज्यानसँग जोडिएको हुन्छ । कहिलेकाहीं सामान्य त्रुटिले बिरामी ठीक नहुने अवस्था पनि आउन सक्छ । कहिले प्रयत्न गर्दागर्दै पनि बिरामी ठीक नहुन सक्छन् । जादुजसरी बिरामी डाक्टरको छेउमा हुँदा केही हुँदैन भन्ने सोच्नु गलत छ ।

डाक्टरमाथि आक्रोशित भएर कुटपिट गर्नु भनेको चिकित्सा क्षेत्रलाई नै त्रसित बनाउनु हो । डाक्टरमाथि हुने गरेका सांघातिक आक्रमणलाई सरकारले गम्भीर रूपमा लिनुपर्छ । सरकारले भयरहित वातावरणमा बिरामीको उपचार गर्ने अवस्था तयार गरिदिनुपर्छ ।

जुनसुकै अस्पतालमा पनि डाक्टरको सुरक्षालाई प्राथमिकता दिनुपर्छ । डाक्टरमाथिको आक्रमणलाई अनदेखा गरी चिकित्सा क्षेत्रलाई नै डरको भुमरी बनाउनु राम्रो हुँदैन । जहाँ जतिखेर पनि व्यक्तिगत आक्रमण गर्नु भनेको यो मुलुकमा कुनै राज्य नै छैन, जसले जे गरे पनि हुन्छ भन्ने मान्यता स्थापित गर्नु हो ।
– गोविन्द विक, बूढानीलकण्ठ–१२, काठमाडौं

प्रकाशित : वैशाख २६, २०८१ ०६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?