सांसदहरूलाई प्रश्न

आफ्नो खातामा आउने रकमबारे सांसदहरूलाई पत्तो हुँदैन भने उनीहरूको खातामा महिनामा कतितिरबाट कति रकम जम्मा हुन्छ ?
लीला लुइँटेल

काठमाडौँ — काठमाडौंमा घर भएका सांसदहरूले संसद सचिवालयबाट घरभाडा बुझेको यथार्थ अहिले चर्चामा छ । यस्तो सुविधा लिनेमा उद्योगी, व्यापारी लगायत विभिन्न दलका ठूला भनिएका नेतासमेत छन् ।

अझ सुविधामा पाएको मन्त्री आवास उपयोग गर्नेले पनि घर भाडामाथि रालचुहाउनुले के बुझिन्छ ?

यथार्थ बाहिर आइसकेपछि कतिपय सांसदले आफूले घरभाडा लिएको थाहै नपाएको भनी जनताका आँखामा धुलो छ्यापेर पानीमाथिको ओभानो हुन खोजिरहेका छन् । यदि आफ्नो खातामा जम्मा हुनआएको रकमबारे थाहा पाउँदैनन् भने ती सांसद हिसाबै गर्न नजान्ने गोबर–गणेश त होइनन् होला नि ?

आफूले पाउनुपर्ने रकमको हिसाब–किताबमा अङ्क र अक्षरै नचिन्ने कतिपय हाम्रा बा–हजुरबाहरूसमेत झुक्किँदैनन् भने देशको नीति निर्माण गर्ने जिम्मा लिएकाहरू यति सानो हिसाब पनि राख्न जान्दैनन् भने यिनीहरूबाट जनताले के, कति र कस्तो अपेक्षा गर्ने ?

अर्काेतिर उनीहरूले संसदबाट प्राप्त भत्ता एवं सुविधा बापत पाउने रकम मासिक घर खर्चका लागि नै प्रयोग गर्नुपर्ने होला । उनीहरूलाई मासिक घर खर्चका लागि उक्त रकम खर्च गर्नु पर्दैन भने मासिक पारिवारिक आमदानीको स्रोत के हो ? आफ्नो खातामा आउने रकमबारे उनीहरूलाई पत्तो हुँदैन भने उनीहरूको खातामा महिनामा कतितिरबाटकति रकम जम्मा हुन्छ ?

आफ्ना कर्तुत सार्वजनिक भइसकेपछि कतिपय सांसदले घरभाडा फिर्ता गर्ने बताएको सुन्नमा आएको छ । सांसदको यस खाले क्रियाकलापले नेपाली भाषामा एउटा उखानको सृष्टि भएको छ, ‘ताक परे घिचुवाराम, पोल खुले ङिच्चाराम ।’ यसबाट कसैले थाहा नपाउन्जेल जे पनि गर्न तम्सने थाहा भयो भने आफू पानीमाथिको ओभानो बन्न खोज्नुले हामीले जनप्रतिनिधि मानेकाहरूको नैतिकता र विवेक कति प्रतिशत रहेछ भन्ने स्पष्ट हुँदैन र ?

एकजना पूर्व मन्त्रीसमेत भइसकेकी सांसदले त ‘मेरो आफ्नै भन्ने कि नभन्ने, छोरीलाई दिन बनाएको घर हो, म यहीं बस्छु’ भनी प्रतिक्रिया दिएको पनि पाइयो । हो, आफ्नो सम्पत्ति
आफ्ना सन्तानलाई दिन पाइन्छ ।

त्यसमा पनि नेपाली समाजमा पैतृक सम्पत्तिमा छोराछोरीकै हक लाग्छ, तर मन्त्रीसम्म भइसकेको उच्च शिक्षित व्यक्तिले छोरीलाई दाइजो दिनकै लागि घर बनाइदिएको भन्दै त्यही घरमा बसेर राष्ट्रिय ढुकुटीको अवैध दोहन गर्ने प्रयास गर्नु अनि यस्तो प्रतिक्रिया दिनु विवेकहीन, नैतिकताविहीन तथा लज्जाविहीनताको पराकाष्ठा होइन र ?

अर्काेतिर छोरीलाई दाइजो दिनकै लागि राष्ट्रिय ढुकुटीको दोहन गर्ने दुष्प्रयासले मधेसमा व्याप्त दाइजोरूपी क्यान्सरलाई बढावा दिँदैन र ? मधेसी महिला मुक्तिका लागि राजनीति गरेर नेतृत्वमा पुगेको धाक दिने यस्ता लज्जाहीनहरूले दाइजो नल्याएका कारण लोग्ने र सासूहरूबाट जिउँदै जलाइएका मधेसका चेलीबेटीहरूलाई जिम्मेवार नेतृत्व वर्गको हैसियतले कसरी सान्त्वनादेलान् ? अनि त्यस्ता पीडकलाई कुन नैतिकताका आधारमा कारबाहीका लागि आवाज उठाउने सामर्थ्य राख्लान् ?

कतिपय सांसदले आफ्नो निजी स्वामित्वको घर नभएको र सगोलको घरमा बसिरहेकाले घरभाडा लिएको स्पस्ष्टीकरण दिएको देखियो । आफ्नो निजी स्वामित्वको घर नभए पनि सगोलको घरमा भाडा त तिर्नु पर्दैन होला नि ।

कतिपयले सरकारबाट लिएको घरभाडा सासूलाई तिर्ने गरेको, कसैले बैंकबाट ऋण लिएर किनेको, कसैले आफ्नो घरमा असुविधा भएर भाडाको घरमा बस्नुपरेको बताउँदै घरभाडा लिनुको औचित्य पुष्टि निर्लज्जतापूर्वक गरिरहेका छन् । कसैले निर्वाचन क्षेत्रमा व्यस्त भएकाले घरमा सरेको जानकारी गराउन नपाएको तथा कसैले संसद सचिवालयले त्रुटि गरेको हुनसक्नेप्रतिक्रिया दिएर नौटङ्की देखाइरहेका छन् ।

सबभन्दा हास्यास्पद त संसद सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिलाई लिन सकिन्छ । विज्ञप्तिमा उल्लेख गरिए अनुसार सांसदहरूले घरभाडा लिएको अहिलेको नभएर असोज अघिको भएको, यसमा सामान्य तथ्याङ्कीय गल्ती भएको तथा यसले जनप्रतिनिधिहरूको आत्मसम्मानमा चोट पुगेको उल्लेख छ ।

यस विज्ञप्तिले सङ्घीय संसद सचिवालयमाथि पनि केही प्रश्न सिर्जना गरेको छ । भ्रष्टाचार गरिएको कति समयसम्म त्यसबारे प्रश्न उठाउँदा त्यो उचित हुने व्यवस्था नेपालको कुन कानुनमा उल्लेख छ ? त्यसमा पनि २ महिना अघिको कुरा उठाउनै नपाइने हो र ?

एकातिर केही माननीय सांसदले काठमाडौंमा घर भए/नभएको विवरण उपलब्ध नगराएकाले यो समस्या आएको भनी सार्वजनिक रूपमा स्वीकार गर्नु तथा सामान्य तथ्याङ्कीय गल्ती भएकै हो भनेर विज्ञप्ति निकालिसकेपछि अर्काेतिर यसले जनप्रतिनिधिहरूको आत्मसम्मानमा चोट पुगेको भनी प्रतिक्रिया दिनुले के बुझिन्छ ?

अर्काे, जनप्रतिनिधि भनिएकाहरूको आत्मसम्मान स्वयं उनीहरूले जोगाउनुपर्ने कि जनताले जोगाइदिनुपर्ने ? यसले नेपालीमा प्रचलित ‘दूधको साक्षी बिरालो’ तथा हिन्दीमा प्रचलित ‘चोर–चोर चचेरे भाइ’ भन्ने उखानलाई सम्झाउँदैन र ?

दुई छाक हातमुख जोर्न नपुग्ने तथा भूकम्पले बास उखेलेका कारण बोराले बारी टिनको छानामुनि बस्नुपरेका कारण निमोनिया, दम तथा बाथको रोगी बन्न बाध्य जनताबाट उठाएको करबाट जनप्रतिनिधि भनिएकाहरूले यस खाले गैरकानुनी सुविधा लिन खोज्नुले के बुझिन्छ ? एकातिर आफ्नो कर्तव्य बिर्सेर अधिकांश बैठकमा उपस्थित नै नभई कोरम नै नपुगेर कतिपय विधेयक पास हुन नसकेको कटु यथार्थ सर्वविदितै छ ।

अर्काेतिर उपस्थित नै भएको अवस्थामा पनि जुत्तासमेत फुकालेर निर्लज्ज ढङ्गले कुर्सीमै निदाई दुनियाँलाई तमासा देखाउने पनि यिनै हुन् । अनेक बहानामा आफ्नो कर्तव्यप्रति लापरबाही गर्न र संसदको बैठकमा निद्रा पुर्‍याउना जनताले यिनीहरूलाई चुनेर पठाएका हुन् र ?

अर्काेतिर तलब–भत्ता कम भएर खानै पुगेन भनी रोइलो गर्ने सांसदले आफ्नो खातामा आएको रकमको हिसाब–किताब गर्न नजानेकै हुन् त ? मत नमिलेर संसदमै हातपात गरी तमासा देखाउन सक्ने सांसदहरू पनि भत्ता सुविधा बढाउने विषयमा चाहिँ पक्ष, प्रतिपक्ष जे भए पनि एक भएर पास गर्नु अनि अवैध क्रियाकलाप सार्वजनिक नहुन्जेल हसुर्नमै लिन हुनुले देशको नीति निर्माणका लागि भनी चुनिएकाहरूबाट सर्वसाधारणले के अपेक्षा गर्ने ?

घर भएकाले घरभाडा लिएको यथार्थ बाहिर आइसकेपछि कतिपय सांसदले फिर्ता गर्छु भन्नुलाईउनीहरूका आसेपासेले स्वागतयोग्य भनी प्रतिक्रिया दिए पनि यसमा सांसदहरूकै
बदनियत स्पष्ट हुन्छ ।

प्रकाशित : पुस १२, २०७५ ०८:१८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

आइमाईको बुद्धि !

बुद्धि लैङ्गिक पहिचान गरेर पुरुषकै शरीरमा मात्र स्वचालित एवं अनियन्त्रित ढङ्गले पलाउने र विस्तार हुने ऐंजेरु होइन होला ।
लीला लुइँटेल

काठमाडौँ — परापूर्व कालदेखि पूर्व र पश्चिम दुवैतिर लिङ्गकेन्द्री पुरुष विचारधारा एवं पितृसत्तात्मक दृष्टिकोणले प्रबल रूपमा जरो गाडेकाले समाजमा नारीको अवस्थिति प्रतिकूल र दयनीय बनाइएको पाइन्छ । पूर्वमा वैदिक युगमा महिलाको स्थिति सम्मानजनक थियो ।

यसको समाप्तिपछि महिलालाई मानवभन्दा तल्लो स्तरमा राखेर व्याख्या र व्यवहार गर्न प्रारम्भ भयो ।

पाश्चात्य साहित्यशास्त्रका चिन्तक एरिस्टोटलले ‘केही गुणको कमीका कारण नारी नारी भएको हो’ भन्दै महिलाका त्रुटि एवं कमजोरीतर्फ सङ्केत गरेका छन् । सेन्ट टमस एक्विनसले नारीलाई ‘अपूर्ण मानिस’ भनी नारीकै खोट देखाउन परिश्रम गरे । अर्काेतिर मनोविश्लेषक फ्रायडले नारीमा पाइने ‘शिश्न ईश्र्या’को सन्दर्भ उल्लेख गर्दै नारीको नियतिलाई शारीरिक बनोटगत अपूर्णताको परिणाम भनी व्याख्या गरे ।

फ्रायडले गरेको शिश्न ईष्र्याको सन्दर्भचाहिँ समाजमा कतै–कतै देखिन सक्छ । तर यस प्रकारको शिश्न ईष्र्या नारीभित्र रहेको प्रकृति प्रदत्त गुण वा अवगुणका कारण नभई परिवार एवं समाजद्वारा गरिने लैङ्गिक विभेदले उत्पन्न हुनसक्ने ईष्र्या हो भन्ने नबुझ्ने कोही छैन होला । यसरी अधिकांश दार्शनिक, चिन्तक, वैज्ञानिक, नेता, विद्वान्ले पुरुष भएकैले नारीलाई पुरुषभन्दा हीन ठानेर व्याख्या गरेको स्पष्टै देखिन्छ ।

पूर्वीय एवं पाश्चात्य क्षेत्रमा भएका अनुसन्धानले सन्तानका लागि बुद्धि निर्माण, विकास र विस्तार गर्ने कोषमा बाबुको कि आमाको अंश बढी हुन्छ भनेर निक्र्याेल गर्नसकेको जानकारी कतै पाइँदैन । भू्रण निर्माणमा बाबुको शुक्रकीट अनिवार्य भए पनि यसको विकास र विस्तारमा सम्पूर्ण भूमिका आमाकै रहने ध्रुवसत्य हो ।

भ्रूणका रूपमा रहँदा महिलाकै रगतको भरणपोषणबाट शरीर निर्मित हुन्छ । मानवका रूपमा जन्मिसकेपछि लामो समयसम्म ऊ महिलाकै सेतो रगतमा आश्रित हुन्छ भनी यहाँ व्याख्या गरिरहनु पर्दैन । यस्तो प्रत्यक्ष सत्य दृष्टिगोचर हुँदाहुँदै पुरुषहरूले कुन विवेकलाई साक्षी राखेर ‘आइमाईको बुद्धि हुँदैन’ भन्छन् । बुद्धि लैङ्गिक पहिचान गरेर पुरुषकै शरीरमा मात्र स्वचालित एवं अनियन्त्रित ढङ्गले पलाउने र विस्तार हुने ऐँजेरु होइन होला ।

नेपाली समाजमा पनि महिलाबाट हुने झिनामसिना गल्तीलाई स्वीकार्न नसकेर वा नचाहेर ‘आइमाईको बुद्धि हुँदैन’ भनेर होच्याउने अभीष्टले क्षूद्र टिप्पणी गरिएको जताततै सुनिन्छ । अर्काेतिर ‘दूधगुन बुद्धि कुलगुन ज्ञान’ भनेर सन्तानको बुद्धिमा आमाको प्रत्यक्ष प्रभाव रहने कुरा व्यक्त गरिएको पाइन्छ । तर ‘दूधगुन बुद्धि कुलगुन ज्ञान’ भन्ने उखान पनि कुनै सन्तानले गलत बाटो पहिल्यायो भने आमालाई होच्याउन मात्र प्रयोग गरिन्छ ।

सन्तानले सुमार्ग रोज्यो भने आमालाई श्रेय दिन यस्तो टिप्पणी गरिँदैन । अझ सन्तानले झिनामसिना कुनै गल्ती गर्दा बाबुले ‘हाम्रो छोरो/हाम्री छोरी’ नभनी ‘तेरो छोरो, तेरी छोरी’ भन्दै आमातिरै औँला ठड्याएको देखिन्छ । तिनै सन्तानले राम्रो काम गरेको आभास हुनासाथ नाक फुलाउँदै ‘देखिस्, मेरो छोरो, मेरी छोरी’ भन्दै आमालाई इख्याउँछन् । यसरी लामो समयदेखि नै पुरुषले सकारात्मक सन्दर्भका जशजति आफ्नो भागमा पार्दै नकारात्मक सन्दर्भका दोषजति महिलाकै टाउकोमा खन्याएर आफू महान हुन खोजेको स्पष्टै देखिन्छ ।

विद्युतीय सञ्चारको युगमा पुरुषले गरेका र गर्नसकेका प्रत्येक काम महिलाले सफलतापूर्वक सम्पन्न गरिरहेका उदाहरण प्रशस्तै छन् । तर हाम्रा कतिपय विधिव्यवहार सूक्ष्म रूपमा हेर्ने हो भने महिलाले सहजतापूर्वक गरिरहेका काम सहजतापूर्वक गर्न पुरुषलाई हम्मे परिरहेको पाइन्छ ।

बुद्धि लगाउनुपर्ने भनिएका कुनै पनि काममा पुरुषजत्ति नै अवसर प्राप्त महिलाको सहभागिता उत्साहजनक देखिन्छ । महिला संलग्न भएकै कारण त्यस्ता काम असफल भएको देखिँदैन । सफलता र असफलताको निर्धारण लिङ्गका आधारमा नभएर व्यक्तिले पाएको अवसर तथा उसको लगन एवं परिस्थितिमा भर पर्ने यथार्थ सबैले बुझेकै हुनुपर्छ । अवसर पाएका पुरुषले आफूलाई महान देखाउनकै लागि अवसरबाट वञ्चित आफ्नै आमालाई होच्याउने अभीष्टले यस्तो टिप्पणी गर्नु सभ्य व्यक्तिलाई कत्तिको सुहाउँछ, त्यो व्यक्ति स्वयंले अनुभूत गर्ने कुरा हो ।

लामो समयदेखि फुक्काफाल भएर महिलालाई मानवभन्दा तल्लो स्तरमा राखी शासन गर्ने अवसर पाएको पुरुषले महिलालाई कमजोर ठानेर उसलाई होच्याउन यस्ता टिप्पणी गरेको स्पष्टै देखिन्छ । यस्ता उखानको विरोध गर्नु यस लेखको अभीष्ट होइन ।

विज्ञान सम्मत नभएका अनि व्यवहारले पनि पुष्टि गरिसकेका सत्य–तथ्यलाई समेत बेवास्ता गर्नु र सकारात्मक सन्दर्भका जशजति पुरुषका भागमा पार्न खोज्दै नकारात्मक सन्दर्भका अपजशजति महिलामाथि थोपर्न खोज्ने पितृसत्तात्मक मानसिकताका उपजलाई समाजले त्याग्न ढिलो भइसकेको छ ।

महिला हिंसा शारीरिकमात्र नभई मानसिक पनि हुन्छ । यस खाले टिप्पणी नगरे महिला हिंसा न्यूनीकरण मात्र होइन, स्वस्थ एवं समतामूलक समाज निर्माणमा सघाउ पुग्थ्यो कि?

प्रकाशित : भाद्र २१, २०७५ ०८:०५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT