हामी पनि- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हामी पनि

त्रिविका प्राध्यापकले हामीमाथि दुर्व्यवहार गरेको घटना हाम्रो मानसपटलमा यसरी बसेको थियो कि कुनै यौन हिंसाको समाचार देख्दा त्यसलाई सम्झिएर झसंग हुन्थ्यौं ।
मनीषा लम्साल, निशा साह

काठमाडौँ — मिटु अर्थात् ‘म पनि’ अभियान महिलाले आफूले भोगेको यौनहिंसा र दुर्व्यवहारबारे बोल्ने मञ्च बनेको छ । यो अभियान एउटामात्र देशमा सीमित भएन । महिलाले विशेषगरी आफूले कुनै पनि समयमा भोगेका यौन हिंसाबारे खुला रूपमा बोल्ने क्रम सुरु भएको छ ।

पुरुषले यस्ता यौनहिंसा र दुर्व्यवहार भोगेका छैनन् भन्ने होइन होला । समाजले स्थापना गरिदिएको पुरुषत्वको लाज ढाक्न व्यक्त नगरेको हुनसक्छ । यो विषयमा बेग्लै छलफल गर्न सकिन्छ । महिलाले महिलालाई उत्पीडनमा पारेको विषय नौलो भएन । मि टुबारे विदेशका मिडियामा केही विषय आइरहन्थे । नेपालमा केही वर्षदेखि आक्कल–झुक्कल पढ्न पाइन थालेको छ ।


हामी यहाँ आफूले भोगेको यौन हिंसाबारे व्यक्त गर्दैछौं । यसो गर्न पनि त्यति सहज छैन । हामीलाई यो कुरा गर्न धेरै समय लागेको थियो । जो प्रसिद्ध तथा अनुभवी बौद्धिक हुन्छ, जसले आफ्नो जीवनको आधाभन्दा बढी समय सामाजिक न्याय र लैङ्गिक समानताको वकालत गरेर बिताएको हुन्छ, उसैबाट यौन हिंसामा पर्दा खुलेर बोल्न धेरै कठिन हुन्छ । पीडकको विशेषता सुन्दै एकछिन ऐंँठन हुन्छ ।


सुरुमा मलाई (निशा) आश्चर्य र खुसी लागेको थियो कि उनि कति सहयोगी थिए ! म र मेरा साथीका लागि उनी महत्त्वपूर्ण गुरु थिए । उनी जुनसुकै बेला बिना हिचकिचाहट सहयोगी हात फिँजाउँथे । प्रसिद्ध साथै व्यस्त प्रध्यापक हुँदाहुँदै पनि उनले हाम्रालागि समय निकाल्ने हुनाले म निकै प्रभावित थिएँ । साउन महिना थियो ।


धेरैजसो महिलाले झैं मैले पनि हातमा मेहन्दी लगाएकी थिएँ ।


उनले नरम तरिकाले मेरो हात समाए र भने, ‘मेहन्दी तपाईंको हातमा सुन्दर देखिएको छ ।’ उनले बिना अनुमति मलाई छोएकामा साह्रै असहज महसुस भयो । तर मैले सोचेंँ, म बढ्ता प्रतिक्रिया जनाउन लागेँ । तर त्यो क्रम रोकिएन । म उनको घरमा मेरो थेसिसबारे छलफल गर्न गएकी थिएँ । उनले दोहोर्‍याएर मेरो हात छुनथाले । जुन ल्यापटपमा हामी मेरो दस्तावेजमा काम गरिरहेका थियौं, त्यसैमा उनले ‘पोर्न वेबसाइट’ खोले । उनले सुत्ने कोठैमा आउन भने । म आत्तिएँ । मैले आग्रह गरेपछि उनले ल्यापटप बन्द गरे, तर बिना संकोच र पश्चाताप ड्रिङ्स अफर गरे ।


मलाई (मनिषा) छात्रवृत्ति र अरु शैक्षिक कार्यमा सहयोग गरे पनि उनले भनेका र गरेका विशेषगरी फोहोरी जोक, मेरो तिघ्रामा हातले थिचेको र चलाएको सम्झेर अझै घृणा लागेर आउँछ । उनीबाट घृणित कार्य भए पनि मेरानिम्ति आवेदनलाई समयमै सिध्याउनु थियो ।


हामीले तत्काल जनाउन सक्ने प्रतिक्रिया भनेको प्रस्ताव अस्वीकार गर्नु, झपार्नु र त्यस ठाउँबाट बाहिर निस्कनु हो । त्यसै गर्‍यौँ । त्यसपश्चात हामीले नजिकका केही साथीलाई भन्यौँ, तर सबैको एउटै आशय थियो कि उनी शक्तिको नजिक छन्, केही गर्न सकिन्न । हामीलाई पनि त्यही लाग्छ । हामी हरेक भेटमा यसबारे कुरा गर्थ्यौं, तर यही कारणले टुङ्गोमा पुग्दैनथ्यौं । यो घटनापछि मान्छेले उनको प्रशंसा गर्दा हामी मनमनै दांँत किट्दै भन्ने गर्थ्यौं , ‘उनी कस्ता छन्, राम्रोसँंग थाहा छ ।’


यो घटना हाम्रो मानसपटलमा यसरी बसेको थियो कि कुनै यौन हिंसाको समाचार देख्दा त्यसलाई सम्झिएर झसङ्ग हुन्थ्यौँ । यस्ता घृणित कार्य हामीमाथि हुनुअघि उनलाई धेरै आदर गथ्र्याैं । उहाँ विद्यार्थीलाई धेरै स्नेह र सहयोग गर्नुहुन्छ भन्ने हामीलाई विश्वास थियो । साथीहरूले अरु असभ्य र ब्यस्त प्राध्यापकबारे बताउँदा हामी उनलाई राम्रो प्राध्यापक रूपमा उदाहरण दिन्थ्यौं । उनी ‘सेक्सुअल प्रिडेटर’ हुन् भन्ने ठम्याउन हामीलाई केही समय लाग्यो ।


यो भन्दै गर्दा हाम्रो अवस्था विलकुलै नयाँ हैन । शैक्षिक पक्षमा व्याप्त शक्ति असमानता र यौनहिंसाले पीडित महिलाका निम्ति आश्रय लिने ठाउँ पाउन गाह्रै हुन्छ । करिअर र भविष्य व्यक्तिगत चिनजान र सिफारिस पत्रमा पनि निर्भर पर्ने हुँदा पीडकको जत्थासँग जाइलाग्नु खतरै हुनसक्छ । हामीमाथि यस्तो घृणित कार्य गर्नेसँग ज्ञान, शक्ति, इज्जत छ । बौद्धिक वर्गमा गनिन्छन् । विगतमा त्रिभुवन विश्वविद्यालयमा प्रध्यापकजस्तो विशिष्ट स्थान ओगटेको अनुभव तथा इतिहास पनि छ । उनका विद्यार्थी हामीसँग त्यस्तो स्थान अहिले हुने कुरो भएन ।


उनले हामीलाई दुर्व्यवहारको सिकार बनाए, किनकि उनलाई ती कुरा थाहा थियो । उनले ओहदाकै कारण हाम्रो अपमान गर्न र शिक्षक तथा विद्यार्थीको असल सम्बन्धलाई धमिल्याउन कुनै कसर बाँकी राखेनन् । उनलाइ थाहा थियो, आफू त्रिभुवन विश्वविद्यालयको प्रसिद्ध प्राध्यापक भएकाले कसैले शंका पनि गर्दैन र कुनै माखोले चुनौती दिनेवाला छैन । हामी चुप लाग्ने या लगाइने पक्षमा थिएनौँ (छैनौँ) भन्ने उनलाई थाहा थिएन । यस्तो विषय कसैसँंग भन्न पनि कम्ता आंँट चाहिँदैन । हामी एक–अर्कासंँगको हरेक भेटमा यो कुरालाई कसरी सम्बोधन गर्ने भन्ने भनेर छलफल गर्थ्यौं । कुरा केही समय कुरौं भन्दाभन्दै दुई वर्ष बित्यो । हामीलाई नै किन भन्नेमा हामीसँग केही कारण छन् ।


हामीमध्ये एकजना मधेसी महिला हुँ । हाम्रा पीडकले कुनै बेला भनेका थिए, मधेसी महिला समर्पण गर्छन् र यौनहिंसाको सिकार भए पनि बोल्दैनन्, किनकि उनीहरू सदैव पुरुषबाट दबाइएका हुन्छन् । एकजना भने बाहुन हुँ । बाहुनले बोल्दा उनका अनुयायी उनको पक्षमा स्वत: उभिन्छन्, किनकि ‘बाहुनले सिमान्तकृत जातिलाई अतिक्रमण गर्छ ।’ हाम्रो पीडकले यति साह्रो स्वाङ प्रदर्शन गरेका छन् कि उनी साझा मञ्चमा लैंगिक न्यायको वकालत पनि गर्छन् ।


हामीले आफ्ना साथी र परिवारका सदस्यहरूलाई भोगेको दुर्व्यवहारबारे बतायौं । उनीहरूले पनि विशेषगरी हाम्रै सुरक्षाका निम्ति केही नबोल्न सल्लाह दिए । अहिले हामीले आफ्नो कटु वास्तविकता बाँड्ने कोसिस गरेका छौं । हिंसालाई मलजल गर्ने कतिपय खतरनाक पित्तृसत्ताका विभेदकारी संस्कृतिहरू रोकिनुपर्छ ।


प्रकाशित : पुस ११, २०७५ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्

कर्तारपुर सीमा र नेपाल

कर्तारपुर–डेराबाबा सीमा–नाकाको निर्माण शिलान्यासपछि दक्षिण एसियाली मुलुकमा नयाँ आशा जागेको छ । नाका सञ्चालनले नेपाललाई पनि लाभ मिल्छ । 
बुद्धिनारायण श्रेष्ठ

काठमाडौँ — सन् १९४७ मा इस्ट इन्डिया कम्पनीले भारत छाड्ने क्रममा उपमहाद्वीपलाई तीन टुक्रा पारियो– हिन्दुस्तान र पाकिस्तान (पूर्वी पाकिस्तान हाल बंगलादेश समेत) । विभाजित यी दुई देशबीच २ हजार ९ सय १२ किलोमिटर लामो र्‍याडक्लिफ सीमा लाइन खिचियो । यो सीमारेखामा दुवै देश स्थिर हुनसकेको पाइँदैन ।

पाकिस्तान र भारतबीच रहेको कर्तारपुर–डेराबाबा सीमा–नाका खोल्ने पूर्वाधार निर्माणको प्रधानमन्त्री इमरान खानले हालै शिलान्यास गरेका थिए । तस्बिर : रोयटर्स

खासगरी काश्मिर क्षेत्रको ७ सय ४० किलोमिटर ‘लाइन अफ कन्ट्रोल’मा बेलाबखत झडप र वैमनस्यता हुने गरेको छ । इमरान खानले पाकिस्तानको प्रधानमन्त्री भएपछि वैमनस्य हटाई सीमा व्यवस्थापन गर्ने इच्छा प्रकट गरेको पाइन्छ ।

पाकिस्तान र भारतबीच रहेको कर्तारपुर–डेराबाबा सीमा–नाका खोल्ने पूर्वाधार निर्माणको इमरान खानले हालै शिलान्यास गरे । त्यस समारोहमा दुई केन्द्रीय मन्त्री र पन्जाव प्रान्तका मन्त्रीले भारतका तर्फबाट प्रतिनिधित्व गरेका थिए । यसबाट पाकिस्तान र भारतको सम्बन्ध सुधार हुने लक्षण देखिएको छ । ती दुई देशबीच सम्बन्ध सुधार भई कर्तारपुर र बाघा सीमा–नाका आपसमा खुल्दै आए नेपालले पनि व्यापार वाणिज्य फाँटमा समेत सुविधा पाउन सक्नेछ । चीनको बीआरआई परियोजनासँग सम्बन्धित पाकिस्तानको ग्वादर सामुद्रिक बन्दरगाहबाट समेत नेपालले फाइदा लिन सक्ने हुन्छ ।
पाकिस्तान–भारत सीमा–नाका
पाकिस्तान र भारतबीच चार सीमा–नाका छन् । पहिलो, बाघा–अट्टारी नाका सन् १९७० मा खुलेको थियो । यस नाका भएर जाने–आउने रेलवे लाइनले लाहोर र दिल्लीलाई जोडेको छ । यसै नाका भएर ग्रान्ड ट्रन्क रोडले एसियन हाइवे नेटवर्कलाई पनि जोडेको छ । मलेसिया, थाइल्यान्डबाट भारत भई यसै नाकाबाट दिनको करिब पाँच सय ट्रक पश्चिमको अफगानिस्तान, इरान, टर्कीतर्फ जाने गर्छ ।

बाघा–अट्टारी सीमा–नाका बिहान १० देखि ४ बजेसम्म खुल्छ । सूर्यास्त हुनुअघि यस नाकाको दुवैतर्फको दसगजा क्षेत्रमा प्रत्येक दिन करिब एक घन्टा संवेदनशील तथा रमाइलो बिटिङ द रिट्रिट कार्यक्रम गरिन्छ । त्यसपछि सीमा–नाकाको फलामेद्वार बन्द हुन्छ ।

दोस्रो सीमा–नाका गन्डासिंहवाला–हुसैनवाला हो । पाकिस्तान र भारतबीच तीन पटकको युद्धका कारण यस नाका बन्द गरिएको छ । तेस्रो नाका हो, खोक्रापार–मुनबाओ । यो नाका दुई देशबीच सन् १९६५ को युद्धपछि बन्द गरिएको थियो । फेबु्रवरी २००६ मा यसलाई पुन: सञ्चालनमा ल्याई ३१ जनवरी २०२१ सम्म खुला गर्ने सहमति गरिएको छ । दुवै देशको रेलसेवा जोडिएको यो दोस्रो नाका हो । तर यहाँबाट सातामा एकपटक मात्र रेल आउने–जाने गर्छ ।

चौथो सीमा–नाका कर्तारपुर–डेराबाबा खोल्न पूर्वाधार संरचना निर्माण कार्यको शिलान्यास कर्तारपुरमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले हालै गरे । भारतीय सीमावर्ती क्षेत्रको डेराबाबामा त्यसको दुई दिनअघि भारतीय उपराष्ट्रपति वेनकइह नाइडुले पूर्वाधार निर्माणको सुरुआती शिलान्यास गरेका छन् । रावी नदी किनारका दुवै सीमाञ्चल क्षेत्रमा शिख समुदायको बाहुल्य सीमावर्ती भूभागमा रहेको यो नाका खोल्न दुवैतर्फबाट शिलान्यास गरिएकाले यसबाट पाकिस्तान–भारतको आपसी सम्बन्ध सुधार हुने संकेत देखापरेको छ ।

कर्तारपुर–डेराबाबा कोरिडोर
यस कोरिडोर खोल्ने प्रयासलाई पाकिस्तान–भारत सम्बन्धको नयाँ अध्याय सुरु भएको मान्न सकिन्छ । कोरिडोरले सीमाको दुवैतिरका शिख समुदायलाई एकअर्काे देशमा सजिलै तीर्थाटन गर्न सुविधा मिल्नेछ । दुवै देशको सीमा वारपार गर्न पासपोर्ट भिसाको बदला तीर्थालुलाई सीमा वारपारको गुरुद्वारा मन्दिर जान–आउन विशेष पर्मिट दिइने शिलान्यासका समय बताइएको छ ।

शिलान्यास कार्यक्रममा पाकिस्तानी प्रधानमन्त्री खानले भनेका थिए, ‘दोस्रो विश्वयुद्धका शत्रु देश जर्मनी र फ्रान्स शान्तिपूर्ण छिमेकीका रूपमा रहेका छन् भने काश्मिरलाई लिएर तीनपटक युद्ध गरेका पाकिस्तान र भारत असल छिमेकीका रूपमा परिणत हुन किन सक्दैनन् र ? दुवै देशको राजनीतिक इच्छाशक्ति र अठोट भयो भने काश्मिर मामिलासमेत समाधान गर्न सकिन्छ । मानिस चन्द्रमामा हिँड्न सक्छ भने भारत–पाकिस्तान समस्या समाधान हुन सक्दैन र ?’ खानले भनेका थिए, ‘पाकिस्तान र भारत असल छिमेकी भएर बाँच्नुपर्छ । एकअर्कालाई दोष दिन बन्द गर्नुपर्छ । गल्ती दुवै तर्फबाट भएको हुनसक्छ । शान्तिका लागि भारत एक कदम अगाडि बढ्छ भने पाकिस्तान दुई कदम बढ्नेछ । पाकिस्तान र भारत दुवै आणविक शक्ति भएका देश हुन्, तापनि लडाइँ धान्न सक्दैनन् । यसैले मित्रतारूपी सिमाना नियमन गरिनुपर्छ, बन्द गरिनु हुँदैन (पाकिस्तान टुडे, २९ नोभेम्बर २०१८) ।

समारोहमा भारतीय खाद्यमन्त्री हरसिम्रत कौर बादलले भावुक हुँदै भनेकी थिइन्, ‘बर्लिनको पर्खाल ढल्न सक्यो भने भारत र पाकिस्तानको दुश्मनी, शत्रुता र घृणा खतम पार्न सकिन्छ । अब दूरी कम भएको छ । डेराबाबा–कर्तारपुर कोरिडोरले भारत र पाकिस्तानबीच ममता वृद्धि गर्नेछ ।’ भारत पन्जाब प्रान्तका पर्यटन तथा संस्कृतिमन्त्री नवजित सिंह सिधुले भारत–पाकिस्तान सीमा आवत–जावतका लागि खोलियो भने भारतीय मालसामान पाकिस्तानका विभिन्न भागका साथै अन्य देशमा पनि पठाउन सकिने बताएका थिए । (द न्युज, २९ नोभेम्बर २०१८) ।

क्रिकेट डिप्लोमेसी
कर्तारपुर–डेराबाबा कोरिडोर खोल्ने प्रयास थाल्ने कार्य खासगरी पाकिस्तानी प्रधानमन्त्री इमरान खानको उत्सुकतामा भएको बुझिन्छ । यसमा भारत पन्जाब प्रान्तका मन्त्री सिधुले साथ दिएको समाचार आएको छ । यी दुवै देशका पदाधिकारी आ–आफ्नो देशका नामुद क्रिकेट खेलाडी भएकाले ‘क्रिकेट डिप्लोमेसी’द्वारा आ–आफ्नो देशमा प्रभाव पारी सीमा–नाका खोल्ने प्रयास
भएको छ ।

प्रधानमन्त्री खानले सीमावर्ती कार्यक्रममा आफ्नो क्रिकेट यात्राबारे भनेका छन्, ‘कुनै पनि देशमा दुई प्रकारका क्रिकेटर हुन्छन् । एक खेलाडी, जसले हारिन्छ भनेर मौका नै लिँदैनन् । अर्काे खेलाडी, जसले बुद्धिमत्तापूर्ण जोखिम मोल्छ, ऊ सधैं सफल हुन्छ ।’ आफू राजनीतिमा प्रवेश गर्दा दुई प्रकारका राजनीतिज्ञ फेला पारेको उनले बताएका छन्, ‘एक, जसले आफ्नो फाइदाका लागि सर्वसाधारणको भलाइलाई बलि दिएका थिए । अर्का व्यक्ति, जसले समाज उत्थानको विचार गरे, घृणा फैलाएनन् र मौकामा ठूला निर्णयहरू गरे । उनीहरू सफल भए ।’

अन्त्यमा,
पाकिस्तानी प्रधानमन्त्री भारतसँग तितोपना हटाउँदै शान्तिपूर्ण तरिकाले वार्ता गर्ने मनसायमा रहेको बुझिन्छ । यसले दुवै देशका जनताको आपसी सम्बन्धलाई पुनर्जीवन दिनेछ ।
कर्तारपुर–डेराबाबा सीमा–नाका खुलेपछि दक्षिण एसियाको भूराजनीतिक प्रक्षेप पथलाई पुनर्लेखन गर्नेछ भन्ने आशा गर्न सकिन्छ । यस कोरिडोरको शिलान्यासपछि दक्षिण एसियाली मुलुकमा नयाँ सम्भावनाको आशा जागेको छ ।

यसै क्रममा १९ औं सार्क सम्मेलन हुने सम्भावना बढेको छ । आपसी द्वन्द्वका कारण भारत र पाकिस्तानको मित्रता सुध्रिएन भने र दक्षिण एसियामा गहिरो शान्ति स्थापना गर्ने कार्यमा प्रतिकूल प्रभाव पारियो भने ती दुवै देश भक्षक हुन सक्छन् ।

पाकिस्तान–भारत सम्बन्ध सुमधुर हुँदै दुई देशको सीमा–नाकाबाट चल्ती–फिर्ती बढ्दै गए नेपाल पनि लाभान्वित हुनसक्छ । नेपालबाट भारतीय भूमि भई नेपाली उत्पादन सतहमार्गद्वारा पाकिस्तान तथा पश्चिमी देश पुग्नसके नेपालको निर्यातको मात्रा बढ्न जानेछ ।

चीनको बीआरआई योजनासँग जोडिने पाकिस्तानको सामुद्रिक बन्दरगाह ग्वादरबाट चीनको केरुङ हुँदै नेपालको सीमा भेट्ने सडकमार्ग तथा रेलमार्गले नेपाल र नेपालीको आर्थिक विकास गर्न मद्दत पुग्नेछ । पाकिस्तान एयरलाइन्सको हवाइजहाज भारतीय आकाश भएर नेपाल ओहोर–दोहोर हुनसके पाकिस्तान–भारतको सम्बन्ध सुध्रिँदै पाकिस्तान–नेपालको मित्रता अझ प्रगाढ हुनेछ ।

प्रकाशित : पुस ११, २०७५ ०८:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×