कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विप्रेषणको बलमा विलासी आयात

विप्रेषण र आयातमा आधारित राजस्वले अर्थतन्त्रलाई स्वाभिमानी रूपमा चित्रित गर्दैनन् । दुवैको दीर्घकालीन विकल्प खोज्नु जरुरी छ । 
रमेश पौडेल

काठमाडौँ — अहिले व्यापार घाटाको चर्चा छ । यस सन्दर्भमा अध्ययन, लेख र विश्लेषण धेरै आए । यसका निष्कर्षहरू नीतिका रूपमा आएर कार्यान्वयनै भएनन् । केही नीति बने, तर ती हावादारी छन् ।

विप्रेषणको बलमा विलासी आयात

देशभित्र यो वा त्यो बहानामा निर्यातजन्य उद्योग नचल्ने तर हाम्रो बढ्दो र बदलिँदो उपभोग प्रवृत्तिका कारण व्यापार घाटा दिन–प्रतिदिन बढिरहेको छ । तथ्याङ्कले भन्छ– नेपालको कुल निर्यातको झन्डै १७ गुणा बढी आयात भइरहेको छ । आयात बढेसँगै निर्यात बढ्न नसक्नु अर्थतन्त्रको कमजोरी हो ।

आयात बढ्दा राजस्व असुलीमा लक्ष्यहरू भेटिएका छन् । विगतमा जति मिहेनत गर्दा पनि सरकारको लक्ष्य अनुरुप राजस्व उठ्दैनथ्यो । आज मूलत: आयात बढेकैले त्यो सहज भएको हो । केही शासकीय शैलीका कारण पनि हो । अर्कोतर्फ नागरिकको क्रयशक्ति केही बढेको छ ।

अहिले खासगरी वैदेशिक रोजगारका कारण र बाहिरी जगतसँग हाम्रो सम्बन्ध परिपक्व बन्दै गएकाले नागरिकको एउटा वर्गको क्रयशक्ति बढेको छ । त्यसैले ठूलो व्यापार घाटाका बाबजुद पनि हामी एक हिसाबले चल्नसकेका छौँ । अर्थात् विप्रेषणबाट विदेशी मुद्रा आर्जन गर्ने, त्यही मुद्राको बलमा विदेशबाट आयात गरेर नागरिकको जनजीविका सजिलो बनाउने । यो हाम्रो अर्थतन्त्रको मूल रीति बनेको छ ।

हामी चाहे विप्रेषणमा भर गरौँ या आयातमा आधारित राजस्व, यी दुवैले देशको आर्थिक अवस्थालाई बलियो र स्वाभिमानी रूपमा चित्रित गर्दैनन् । दुवैको दीर्घकालीन विकल्प खोज्नु महत्त्वपूर्ण हो । यी दुवैबाट भएका सहजता र उपलव्धिलाई अधिकतम राष्ट्रिय उपलव्धि प्राप्त गर्नेगरी परिचालन गर्नु अहिलेका कार्यभार हुन् ।

आयातमा आधारित राजस्व र विप्रेषणमा आधारित अर्थतन्त्रका कारण राष्ट्रिय उद्योगमा असर परेको छ, स्वदेशमा रोजगारी कठिन बन्दै गएको छ र प्रकारान्तरले परनिर्भर अर्थतन्त्रको विकास हुँदैछ, भएको छ । त्यसैले राजस्व राम्रो हुँदाहुँदै पनि आयातलाई नराम्रो मान्ने गरिन्छ ।

आयातको योगदान

सरकारी राजस्वमा आयातको योगदान झन्डै ३५ प्रतिशत छ, यो प्रत्यक्ष हो । अप्रत्यक्ष योग्दान अझ बढी छ । यो सानो हिस्सा होइन ।

आयातबाट हुने राजस्वको झन्डै ३० प्रतिशत गाडी र हल्का सवारी साधनबाट आइरहेको छ । हाम्रो आयात बढी विलासिताका वस्तुतर्फ देखिँदैछ । हाम्रो आयातमा आधारित राजस्व कुल गैरकर राजस्वको ३ गुणाभन्दा बढी छ ।

आयातले व्यापार घाटामात्र बढाएको छैन, राजस्वमा ठूलो योग्दान गरेको छ । राजस्वमा आयातको यो योगदानका अतिरिक्त यसले उपभोक्तालाई गुणस्तरीय वस्तु छनोटको

अवसर बढाएको छ । मूल्य पनि धेरै हदसम्म नियन्त्रणमा राख्न सहयोग गरेको छ । आयात

बढ्ने प्रवृत्तिले स्वदेशी उद्योगलाई निरुत्साहित गरेको छ । हाम्रो अर्थतन्त्र कृषिमा आधारितबाट तीव्र गतिमा विप्रेषण र आयात निर्देशित सेवामा आधारित बन्दैछ ।

गत महिना चीनका राष्ट्रपतिले आयात सम्मेलन उद्घाटन गरेर विश्वसामु सन्देश दिए– ‘चीनले निर्यातमात्र गरेको छैन, आयात पनि गरेको छ ।’ विश्वका करिब सबै राष्ट्रका राजनीतिज्ञ, नीति–निर्माता र व्यवसायी निर्यातका सन्दर्भमा चिन्तित भैरहेका बेला गरिएको त्यो सम्मेलनले यस क्षेत्रका जानकार सबैको स्वाभाविक ध्यानाकर्षण गरेको थियो, छ ।

कतिपय अनुसन्धानले पनि सल्लाह दिएका छन् कि आयात आफैमा नराम्रो होइन । के र किन आयात गर्ने भन्ने प्रश्नको जवाफसहित आयात गर्नु राम्रो हो । उत्पादकत्व बढाउन प्रयोग गरिने वस्तुको आयातले प्रकारान्तरले निर्यात बढाउनै सहयोग गर्छ । प्रविधि, मेसिनरी, उपकरण यसका केही उदाहरण हुन् । अत: आयातको योगदान निर्यात बढाउन पनि हुनुपर्छ तर हामी त्यो दिशातर्फ गैरहेका छैनौँ ।


विप्रेषण उपयोग

अहिले आइरहेको विप्रेषण आयातका लागि खर्चिनु नपर्दो हो त त्यसले राष्ट्रिय आय बढाउन राम्रै योग्दान गर्न सक्थ्यो । विदेशी मुद्रा आर्जन गर्ने हाम्रा अरु पनि माध्यम छन्, तर खासै प्रभावकारी तरिकाले कामयावी सावित गराउनसकेका छैनौँ ।

नीति निर्माताले बुझ्नैपर्छ, विप्रेषण हाम्रो सजिलो कमाइ होइन, यो भावी अर्थतन्त्रलाई खुम्च्याउने एउटा अप्ठ्यारो संकेत हो । त्यसैले यसबाट आर्जित आयलाई अलि संयमतापूर्वक परिचालन वा खर्च गर्नुपर्छ । यसका लागि विभिन्न तरिका अपनाउन सकिन्छ । जस्तो– विदेशको आम्दानीको निश्चित समयपछि निश्चित हिस्सा औद्योगिक उत्पादनमा परिचालन गर्ने रणनीति बनाउनु उपयुक्त हुन्छ । जति आउँछ, सबै खाएर पचाउँछ भन्ने तरिकाले अर्थतन्त्रलाई दीर्घकालमा घाटा हुन्छ ।

समस्या कहाँ ?

नेपालको अन्तर्राष्ट्रिय व्यापारको समस्या आयात बढी हुनुमात्र होइन । यो एउटा पक्षमात्र हो । हाम्रो अन्तर्राष्ट्रिय व्यापारको खास समस्या अनुत्पादक, विलासिताका र मध्यम एवं उच्च स्तरका उपभोग्य वस्तु आयात हुनु हो ।

हाम्रो आयातको निर्यातमा कतै साइनो नभेटिनु समस्या हो । राष्ट्रिय उत्पादनमा प्रत्यक्ष योग्दान गर्ने र उत्पादकत्व बढाउने खालका मेसिनरी जम्मा ४ प्रतिशत हाराहारीमात्र आयात छ । आयातको यो प्रवृत्ति राष्ट्रलाई बोझिलो भएको छ ।

हामी कहिलेसम्म विप्रेषणबाट आर्जित विदेशी मुद्राका भरमा आयात गरिरहने हो र जनजीविकालाई सहज बनाउने हो ? यसबाट उम्कन हामीले समय–सीमा तोकेरै योजना बनाउन आवश्यक छ । आयात बढोस्, तर त्यसकै हाराहारीमा हामी कहिलेसम्ममा निर्यातलाई पुर्‍याउन सक्छौँ ? हाम्रा अगाडि ठूलो चुनौती यही हो ।

अर्कोतर्फ हाम्रो उत्पादन र उपभोगमा यति धेरै बेमेल हुनुको कारण खोतल्नैपर्छ । थोरै मिहेनत गर्दा हामीले उत्पादन गर्नसक्ने वस्तुहरू पनि हाम्रा केही नीतिगत कमजोरीका कारण आयात भैरहेका छन् । उदाहरणका लागि हामी ठूलो हिस्सामा लत्ताकपडा आयात गरिरहेका छौं ।

यसलाई एउटा हदसम्म आत्मनिर्भर बनाएर लैजान सक्नुपर्छ । माछा र मासुमा समेत हामी आत्मनिर्भर बन्नसक्दा बाहिरिने विदेशी मुद्राको ठूलो हिस्सा जोगाउन सकिन्छ । सामान्य खाद्यपदार्थ कुकिज र बिस्कुटजस्ता वस्तुमा आत्मनिर्भर बन्न सक्नुपर्ने हो । कृषिप्रधान देशमा खुर्सानीसमेत भारतबाट आयात गर्न केले हामीलाई बाध्य पारेको छ ? यस्ता वस्तुको सूची लामो हुनसक्छ, जसमा देशले थोरै मिहेनत गर्दा स्वदेशमै केही गर्न सकिन्छ, त्यता ध्यान जानुपर्‍यो ।

यस्ता कुरा गर्दा उद्यमशीलता विकासको कुरा जोडिएर आउँछ । उद्यमशीलताको कुरा गर्दा लगानीको विषय चर्को उठ्छ । यो स्वाभाविक पनि हो । उत्पादनमूलक धन्दाका लागि लगानीको समस्या र ब्याज चर्को हुने जटिल समस्या छन् । हाम्रा वाणिज्य बैंकहरूको कर्जा लगानीका रणनीतिहरू केवल सेवामूलक व्यवसायका लागि उपयुक्त हुने खालका भए ।

बैंकिङ र वित्तीय संस्थाहरूको नाफा ३०० प्रतिशतले सम्म बढ्ने तर अर्थतन्त्र चलायमान बनाउन सधैंं कठिन हुने समस्याको समाधान नखोजेसम्म देशमा उत्पादनमूलक व्यवसाय नफस्टाउने प्रस्ट छ । यतातर्फ ध्यान नजानु दु:खद पक्ष हो ।

अत: विप्रेषणको भरमा वस्तु आयातलाई बढाउने होइन, आयातलाई निर्यात बढाउने माध्यम बनाउन सक्दामात्र अर्थतन्त्र दीर्घकालका लागि सजिलो बाटोमा जानेछ । तुलनात्मक लाभ, प्रतिस्पर्धात्मक क्षमता र देशको भौगोलिक अवस्थालाई समेत ख्याल गरेर अन्तर्राष्ट्रिय व्यापार नीति र रणनीति तय गर्न सक्दामात्र यो सजिलो बन्नेछ । अन्तर्राष्ट्रिय व्यापार राष्ट्रिय विषय बन्नु आवश्यक छ, बनोस् ।

प्रकाशित : पुस १०, २०७५ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?