खिर्रोबाट खनखनी पैसा

झाडापखाला, छालाको रोग, पत्थरीको उपचारमा खिर्रोबाट बनेको औषधि प्रयोग हुँदै छ । लामखुट्टेको लार्भा नियन्त्रणमा पनि उपयोगी छ । 
नारायण घिमिरे

काठमाडौँ — भारतीय सरकारको निम्तोमा कृषि इनोभेसनबारे छलफलका लागि नयाँदिल्ली जाँदा दुई दिनका लागि नेपाल पस्न भ्याएँ । वयोवृद्ध बुबाको आशिर्वाद थाप्न हवाई अड्डाबाट सिधै तनहुँको याम्पाफाँट हान्निएँ । ड्राइभर मेरै स्कुले साथी मालतीका भाइ कृष्ण परेछन् ।

मैले उनलाई सोधेँ, ‘बाबु, तिमी गाउँकै धनीको छोरा किन आफैँ केही नगरी अरूकामा मजदुरी गरेको ?’
‘खुरिखन्डै रातो माटोको पन्ध्र रोपनी टाट्नुमा खिर्रो बाहेक केही हुर्कँदैन । अर्को आठ रोपनीको चौटो छ । झाडी बाहेक क्यै हुन्न । म कसरी परिवार पालुँ ? बारीको घैया–कोदोले खान पुग्ने हैन ।’

‘सबै बारीमा खिर्रो लगाए कति बोट होला ?’ मैले सोधेँ ।
‘रोपनीको बीस–पच्चीस बुटाको दरले पनि पाँच सय त होला नि ।’

अलिकति गर्मी बढेका बेला हाम्रै गतिविधिका कारण माटो र पानी दूषित बन्छ, फोहोर पानी र माटोमा तुरुन्तै फैलिने प्रोटोजोवा, स्पोरोजोवा, सिजेला, अमिवाजस्ता किटाणु हात, पाउ, कपडा र अन्य सामानमा टाँसिएर हाम्रो भान्सा रओछ्यानसम्म पुग्छन् ।

हामीले खाएको खाना वा पानीसँगै ती किटाणु हाम्रो आन्द्रामा पुग्छन्, शरीरले पखालामार्फत तिनलाई आन्द्राबाट तत्काल हटाउने कोसिस गर्छ । पखाला चालु गर्न शरीरलाई प्रशस्त पानीको जरुरत पर्छ । त्यो बेला शरीरबाट पानी मात्र जाँदैन, पानीमा घुल्ने इलेक्ट्रोलाइट जस्तै– नुन (सोडियम, पोटासियम, क्याल्सियम, आइरन आदि), तत्काल शक्ति दिने चिनी, भिटामिनका साथै इन्जाइम पनि खेर जान्छ । नुन–चिनी–पानीको कमीका कारण मानिसलाई पखाला हुन्छ ।

पखालाले जब शरीर शिथिल हुन्छ, तब रोगसँग लड्ने शक्ति गुम्छ । त्यसैबेला हाम्रै शरीरमा भएका अवसरवादी पेथोजन जस्तै– ब्याक्टेरिया, भाइरस, प्रोटोजोन र फंगसले शरीरलाई संक्रमित गर्छ । सही उपचार नहुँदा ज्यान जान सक्छ ।

मानिसलाई डिसेन्ट्री (पखाला) हुँदा नुन–चिनी–पानी खाने चलन आउनुभन्दा धेरै पहिले खिर्रोको कमलो डाँठ र बोक्राबाट निकालिएको दूधजस्तो बाक्लो सेतो पदार्थ ‘लेटेक्स’ औषधिका रूपमा दिइन्थ्यो । त्यसैले खिर्रोको वैज्ञानिक नाम होलारिना एन्टिडिसेन्ट्रिका दिइयो । यसलाई रिटिया एन्टिडिसेन्ट्रिका पनि भनिन्छ ।

वेदमा उल्लेख भएअनुसार खिर्रोको बिरुवाको सम्पूर्ण भाग आयुर्वेदिक मूल्यको हुन्छ । सयौं वर्षदेखि विभिन्न जातजातिले खिर्रोको बोक्राको रस डायरिया, कोलेरा, डिसेन्ट्री, छालाको रोग, इपिलिप्सी (छारे रोग), पेट दर्द र छालामा किटाणुको संक्रमण हुँदा प्रयोग गर्दै आएको अभिलेख भेटिन्छ । आज पनि मिर्गौला, युटेरस, गलब्लाडर आदिमा पत्थरी हुँदा दिइने आयुर्वेदिक सप्लिमेन्ट (पूरक) मा खिर्रो हालेको भेटिन्छ ।

संसारका १२ प्रतिशत (भारतकै ११ प्रतिशत) मानिस कुनै न कुनै प्रकारका मिर्गाैला, युटेरस, गलब्लाडर आदिमा हुने पत्थरीको सिकार बनेका छन् । पुरुषमा महिलामा भन्दा ३ गुना बढी पत्थरी भएको भेटिन्छ । मिर्गाैलाको पत्थरीमा ७० देखि ८० प्रतिशतसम्म विभिन्न प्रकारका क्याल्सियम अग्जालेट, १० देखि १५ प्रतिशतसम्म म्याग्नेसियम एमोनियम फस्फेट, ३ देखि १० प्रतिशतसम्म युरिक एसिड र ०.५ देखि १ प्रतिशतसम्म सिस्टिन भेटिन्छ ।

पिसाब एसिडिक भएपछि पत्थरी बन्न थाल्छ । पत्थरी हुन नदिन वा भएपछि त्यसलाई फुटाएर घटाउँदै लान कडा पत्थर बन्ने साल्टलाई जमाउन सघाउने युरिक एसिडलाई तटस्थ बनाउन अल्कलाइन खाना वा ड्रग जरुरी हुन्छ । अल्कलाइन खिर्रोको बोक्राको चूर्णलाई दहीमा मिसाएर खाँदा पत्थरी फुटाएर निकाल्न सकिएकाले यो आयुर्वेदिक औषधिमा परम्परागत रूपमै हाल्न थालिएको हो । पछि तिनै गुणका लागि खिर्राेको झोल र अन्य तत्त्व उपयोगमा आएका हुन् ।

आज लामखुट्टेका कारण मानिसमा हुने ज्वरो र रोग विश्व समुदायका लागि विशाल चुनौती बनेको छ । मुख्यत: क्युलेक्स र एडिस नामक दुई लामखट्टेका कारण संसारले भोगेको आतंक भयावह छ । जब राउन्ड वर्म संक्रमित व्यक्तिलाई क्युलेक्स नामक लामखुट्टेले टोक्छ, मसिनो जीवाणु क्युलेक्स लामखुट्टेमा सर्छ ।

संक्रमित क्युलेक्स लामखुट्टेले स्वस्थ मानिसलाई टोके मसिनो जीवाणु क्युलेक्स लामखुट्टेबाट स्वस्थ मान्छेमा सर्छ । मसिनो लामो धागोजस्तो जीवाणु शरीरभर फैलिएर आँखामा समेत संक्रमण गर्छ, जसलाई फिलारिअल भनिन्छ । फिलारिअलको त्यति सन्तोषजनक उपचार छैन ।

डेंगे भाइरसबाट संक्रमित व्यक्तिलाई एडिस एजिप्टी नामक लामखुट्टेले टोकेपछि लामखुट्टेमा डेंगे भाइरस सर्छ । एडिस नामक डेंगे भाइरसबाट संक्रमित पोथी लामखुट्टेले मानिसलाई टोक्दा स्वस्थ मान्छेमा डेंगे भाइरस सर्छ । डेंगे भाइरसका कारण रगतको बाक्लोपन घट्ने र प्लेट्लेस बढ्ने गर्छ ।

यसले डेंगे ज्वरोमा देखिने अन्य धेरै समस्या निम्त्याउने गर्छ । डेंगे विरुद्ध प्रभावकारी खोप आइसकेको छैन । बस्तीहरूमा डेंगे भाइरसको संक्रमण देखिए वातावरण र पानीको सरसफाइ गर्ने र रोग सार्ने एडिस लामखुट्टेको लार्भा नष्ट पार्नु नै हालसम्मको उपलब्ध उपाय बनेको छ ।

खिर्रोको बोक्रा ताछी कोठाभित्र ३ दिनजति सुक्न दिएर पिँधेपछि चूर्ण बन्छ । २० ग्रामजति चूर्णलाई आधा लिटर पानीमा ४५ मिनेट उमाली कपडाले छानी आएको मनतातो झोललाई खिर्रोको एक्सट्रेक भनिन्छ । जब खिर्रोको १० एमएल एक्सट्रेकलाई ९० एमएल १ मिलिमोल एकक्वास सिल्भर नाइट्रेटको ७.५ पीएचमा ४८ देखि ५२ डिग्रीको तापक्रममा मिसाएर २ घन्टा छाडिन्छ, सुरुमा पहेंँलो हुने तरल पदार्थ खैरो रङमा परिवर्तन हुनथाल्छ ।

जब त्यो गाढा खैरो रंगमा परिवर्तन हुन्छ, तब त्यहाँ सिल्भर नेनोपार्टिकल बन्छ । यो सिल्भर नेनोपार्टिकललाई सेन्ट्रिफ्युज गरी पहिला मिथानोल, त्यसपछि डिस्टिल पानीले धोएर इयर–ड्राइ गरेपछि ठोस सिल्भर नेनोपार्टिकल तयार हुन्छ ।

सिल्भर नेनोपार्टिकल क्युलेक्स र एडिस नामक दुवै लामखुट्टेका लार्भा मार्न सक्ने सबैभन्दा प्रभावकारी विकल्प हो । सिल्भर नेनोपार्टिकलले मानिसलाई कत्ति पनि हानि गर्दैन । यो पर्यावरणीय दृष्टिमा सफा, स्टेबल र सर्वस्वीकार्य छ । मात्र ७२ घन्टामा सिल्भर नेनोपार्टिकलको ५.५३ पीपीएमको प्रयोगले एडिस र १९.२४ पीपीएमको प्रयोगले क्युलेक्स लामखुट्टेको प्रभावकारी नियन्त्रण हुनसकेको छ ।

पछिल्लो समय खिर्रो आयुर्वेदिक महत्त्वको खाना र औषधिका अलवा सिल्भर नेनोपार्टिकलका लागिसमेत नयाँ पुस्ताको रुचिको वनस्पतिमा बनेको छ ।

ठूलो ‘भ्यालुएड’ दिन सक्षम खिर्रोको खेतीले सयौं नेपालीको जीवन कायपलट गरिदिन सक्छ । तर नेपालमा यसको सदुपयोग हुन कति दशक कुर्नुपर्ने हो ?

प्रकाशित : मंसिर ११, २०७५ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

३ हजार रूख काटिए

शिल्पा कर्ण

काठमाडौँ — पछिल्ला वर्षमा राजधानीमा ३ हजारभन्दा बढी रूख काटिएको डिभिजन वन कार्यालय काठमाडौंले जनाएको छ ।

काठमाडौंको चम्पादेवीस्थित सामुदायिक वनमा रूख काट्न चिनो लगाइँदै । फाइल तस्बिर : कान्तिपुर 

पछिल्ला तीन वर्षमा ३ हजार ९ सयभन्दा बढी रूख विकास निर्माणका क्रममा काटिएका छन् । विभिन्न आयोजनाका क्रममा आवश्यक पर्ने स्थान खाली गर्नका लागि रूख काट्ने सिफारिस दिइएको वन कार्यालयका सूचना अधिकृत अनिल रेग्मीले बताए ।

‘मुख्यतया: यहाँको हाइटेन्सन लाइन र सडक विस्तारका क्रममा रूख काटिएका हुन्,’ रेग्मीले भने, ‘यहाँका काँठमा मात्र वन क्षेत्र छन् । ती पनि वैज्ञानिक व्यवस्थापन योजना वा वन पैदावार उत्पादन गर्ने हिसाबका होइनन् ।’ माथिल्लो त्रिशूली ३ ‘ए’ केभी जलविद्युत् आयोजनाका लागि आर्थिक वर्ष २०७५/७६ मा ३ सय ३६ रूख काटिएको तथ्यांक छ ।

वन कार्यालयका अनुसार शून्य दशमलव ९६४ हेक्टर वन क्षेत्रका रूख काटिएका हुन् । त्रिशूलीकै लाइन आयोजनाका क्रममा मातातीर्थस्थित सामुदायिक वनको १ हजार ४ सय ७४ रूख काटिएका छन् । यसैगरी मस्र्याङ्दी–काठमाडौं २ सय २० केभी प्रसारण लाइनका लागि डेढ हेक्टरभन्दा बढी क्षेत्रफलमा फैलिएको १ सय २१ रूख काटिएका छन् ।

विद्युत् प्रसारण लाइन विस्तारका क्रममा आयोजनासँग ठूला पोलले ओगट्ने क्षेत्र र तारमुनिका क्षेत्र जोडेर सो बराबरको जग्गामा रूख रोप्ने सहमति हुने सूचना अधिकारी रेग्मीले जानकारी दिए । पहिले विद्युत् प्रसारण लाइनका लागि रूख काटिँदा एक रूख बराबर २५ वटा रूख रोपिने भए तापनि हाल वन विभागसँगको सम्झौताअनुसार उपलब्ध गराइएको जग्गामा दुइटा रोप्ने गरिएको उनले बताए ।

थानकोट–चित्लाङ सडक आयोजनाका लागि आर्थिक वर्ष २०७३/७४ मै चन्द्रागिरी सचेत महिला सामुदायिक वन क्षेत्रमा पर्ने १ सय ७० वटा रूख बिरुवा काटिएको तथ्यांक छ । सोही वर्ष भक्तपुर, नगरकोट, सिपाघाट, बल्खु र दक्षिणकाली सडकको सडकसीमाभित्र पर्ने विभिन्न जातका २ सय १२ रूख काटिएका छन् । ती सबै सरकारी रूख रहेको वन कार्यालयले जनाएको छ । यसै क्षेत्रका तीन सामुदायिक वनभित्र पर्ने ५५० रूख सोही वर्ष काटिएका छन् ।

गोकर्ण–साँखु सडक विस्तारका क्रममा गत आर्थिक वर्षमा १६ रूख कटान भएको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाअन्तर्गतको उक्त खण्ड निर्माण तथा विस्तारका क्रममा कुल ४ सय ५८ विभिन्न प्रजातिका बोट काट्ने अनुमति जिल्ला वन कार्यालयमार्फत दिइएको जनाइएको छ ।

सडक विस्तारकै लागि त्रिपुरेश्वरदेखि नागढुंगासम्मका १ सय ७० वटा रूख काटिएका छन् । यसरी रूख काट्दा आयोजनामार्फत कटानको निवेदनपछि वन कर्मचारीले निरीक्षण गरी उचाइ र मोटाइका आधारमा मूल्य निर्धारण गर्छन् । ‘हामी बढीजसो खडा नै लिलाम गर्छौं । काट्न जनशक्ति र खर्च नि चाहिन्छ,’ शाखा अधिकृत दीपा बुढाथोकीले भनिन् । यसैगरी सुक्खा बन्दरगाह निर्माणका क्रममा साबिकको हिमाल सिमेन्ट कारखाना क्षेत्रभित्र र वरपरका गरी ४ सय रूख काटिने भएका छन् ।

यसै वर्ष स्वीकृति लिइएको हो । ‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको इन्टरमोडल यातायात समितिले निर्माण थालेको हो । उक्त क्षेत्रमा सबैजसो रूख लहरे पीपल छन् । ती काटिने क्रममा छन्,’ सूचना अधिकारी रेग्मीले भने । वन कार्यालयमा निवेदन परेसँगै सिफारिसका लागि वन विभाग हुँदै मन्त्रालयमा पठाइने र मन्त्रिपरिषद् बैठकबाट मात्र रूख कटानको स्वीकृति प्रदान गरिने रेग्मीले बताए ।

यसैबीच, वनका अधिकारीले स्थानीय तह स्वायत्त भएसँगै जथाभावी निर्माण बढेको बताएका छन् । स्थानीय तहले नै बेचेर स्थानीय तहकै कोष वा विकासमा लगानी गर्ने गरेका छन् । यद्यपि यो क्रम अन्यत्रभन्दा राजधानीमा निकै कम छ ।

‘जथाभावी डोजर चलाइदिन्छन् । राजधानीकै अलि परका क्षेत्रमा सडक बनाउन र अन्य विकास निर्माणका काम भन्दै वन जंगलमै डोजर लगाउँछन् । त्यसको तथ्यांक कतै हुन्न,’ वन कार्यालयका एक अधिकृतले भने । निजी जग्गामा भएको रूख काट्दा समेत सरकारकै स्वीकृति आवश्यक भएकोमा जथाभावी रूख काटिरहे पनि कारबाही गर्न नसकिएको अवस्था रहेको उनको भनाइ छ ।

आफ्नै जग्गाको रूख काटेर बाहिर लान वा बेच्न पाइन्न । ‘वडाध्यक्षलाई कारबाही गर्ने कि काट्नेलाई वा सर्वसाधारणलाई । व्यावहारिक समस्या हुन्छ । थाहा पाएर रोकुन्जेल काटिसकेका हुन्छन्,’ ती कर्मचारीले भने ।

प्रकाशित : मंसिर ११, २०७५ ०८:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT