नयाँ र पुरानाबीच घम्साघम्सी

वीणा झा

यसपालिको निर्वाचनमा सर्वसाधारणका अघिल्तिर दुइटा महत्त्वपूर्ण प्रश्न तेर्सिएका छन् । पहिलो, यतिका वर्ष जनाकांक्षा अनुरूप कार्य गर्न नसकेका राजनीतिक दलहरूले अब गर्लान् भन्ने के सुनिश्चित ? अनि अर्को कहिल्यै राजनीति नगरेकाहरूका देश बनाउँछु भन्ने प्रतिबद्धताप्रति कतिको आश्वस्त हुने ?

घोषणापत्रको आकर्षणले विगतमा झैँ मतदाता रिझाउन गाह्रो छ । त्यस्तै आम जनतासामु बिभिन्न ब्रान्डमा प्रकट भएका पात्रहरूबाट उत्तम छान्नु पनि कम चुनौतीपूर्ण कार्य छैन, मतदाताका लागि । समाजमा रहेका प्रत्येक अवयव एक–अर्कासँंग निरन्तर अन्तरसम्बन्धित र प्रभावित रहेझैं अहिले नेपालमा अस्तित्वमा रहेका पुराना राजनीतिक दलहरू तथा नयाँ उदीयमान राजनीतिक दलहरू पनि एक–अर्कासँंग अन्तरसम्बन्धित र प्रभावित छन् । ती पुराना ऐतिहासिक दलका नेताहरूले जेलनेलका साथै अनेकौं कष्ट नझेलेको भए अहिले नयाँ उदीयमान राजनीतिक दलहरू यति सहजतासाथ अस्तित्वमा आउन सक्ने अवस्था रहँदैनथ्यो । साथै ती स्थापित दलहरूले आफ्नो कार्यकालमा भ्रष्टाचारभन्दा इमानदारीपूर्वक जनताका आकांक्षा अनुरूप राजनीति गरिदिएका भए आज समाजमा नयाँ राजनीतिक दलहरूको जन्म नै हँुदैनथ्यो होला । त्यस्तै यी नयाँ राजनीतिक दल युवा पुस्ताका साथ अगाडि नआएको भए ती ऐतिहासिक दलहरूले अलिअलि भए पनि आफू र दलभित्रको शुद्धीकरणको विचार गर्नेतर्फ सोच्ने अवस्थामा पुग्दैनथे होला । अघोषित राजनीतिक सिन्डिकेटको मारमा नेपाली पिल्सिन बाध्य भइरहन्थे । घोषणापत्र अनुसार तिनमा एक महत्त्वपूर्ण समानता भेटिन्छ । ती हुन्– आर्थिक समृद्धि, विकास र उद्यमशीलताद्वारा समाज र देशको कायापलट गर्ने । विगतमा जनताले चुनेकाहरूको कार्य मूल्यांकन त जनतासंँग छ, तर प्रथम पटक राजनीतिमा होमिएकाहरूबारे बिभिन्न आधारमा तिनका समाजप्रतिको दृष्टिकोण बुझ्नु आवश्यक छ ।

पुराना स्थापित दलहरूले केही ’नि गरेनन् भन्न मिल्दैन । किनकि राणाशासनको अन्त्य, पञ्चायती व्यवस्थाको समाप्ति, राजतन्त्रको अन्त्य, प्रजातन्त्र हुँदै गणतन्त्रसम्मको व्यवस्थासँगै मुक्त कमैया, महिला आयोग, सामाजिक सुरक्षा भत्ता, गाउँ–गाउँमा बढाएको हक–अधिकारप्रतिको सचेतना, आफ्नो गाउँ आफै बनाउँ भनी दिएका संरचनागत आधारहरू तिनका देन हुन् । तर व्यवस्था परिवर्तनसँगै व्यक्ति वा पात्र परिवर्तन गर्न नसक्नु, सत्तामोहमा गाँजिनु, असल नेतामा नभई नहुने गुण त्यागको अभाव हुनु जस्ता विकृतिका कारण तिनीहरू परिवारको नेतासम्म मात्रै सीमित भइरहे । आफ्नो परिधि फैलाउन सकेनन् । जहाँ समाजका नेता, देशका नेता र विश्वका नेता हुने सम्भावना थियो, त्यो अवसर गुमाए । सानो, साँघुरो परिधिभित्र परिवार, नाता र अवसरवादीहरू मात्रै अटाए र सर्वसाधारण जनता हेरेको हेरयै भए । लोभ, लाभ र विलापमै समय खर्चिए । अहिले पनि यिनका चुनावी कार्यक्रममा आफ्नो एजेन्डाभन्दा अरूको निन्दा बढी सुन्न पाइन्छ । 

पहिलो चरणको प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा हुने निर्वाचनमा जम्मा ४१ महिलाको उम्मेदवारी छ भने दोस्रो चरणमा हुने प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभातर्फ २५६ निर्वाचन क्षेत्रमा कुल ४७०८ जनाले दिएको उम्मेदवारीमा महिलाको संख्या ३३५ जना छ । दलित, महिला, सीमान्तकृत समुदायका हकहितका कुरा नीति निर्माणमा उल्लेख गरिए पनि विचार र व्यवहारमा के रहेछ भन्ने कुरा तिनका उम्मेदवार सूचीबाट छर्लंग हुन्छ । समस्या नीतिमा भन्दा पनि नियतमा देखिन्छ, नत्रभने बिभिन्न उद्देश्य राखी विपरीत विचार र सिद्धान्त बोकेकाहरू अनेक नामले गठबन्धन गर्छन्, तर किन महिला उम्मेदवारकै लागि क्षेत्रगत गठबन्धन गर्दैनन् ? यसले गर्दा जुन दलका जिते पनि जित महिलाकै हुन्थ्यो र प्रभावकारी ढंगले महिलाको नेतृत्व विकास पनि हुन्थ्यो, जुन समानुपातिक रूपमा भित्रिंँदा त्यति सहज नहोला ।

दलका नेता तथा प्रतिनिधिहरूका तडक–भडकमा सर्वसाधारण अलमलिनु स्वाभाविक हो । तर यसपालि आफ्नो मतको सदुपयोग सजगताका साथ गर्नैपर्छ र सही व्यक्तिलाई छान्नैपर्छ, अन्यथा देश ठूलो दुर्घटनामा पर्ने सम्भावना बढ्छ । केका आधारमा उम्मेदवारलाई सही मान्ने भन्ने प्रस्टता पनि त्यतिकै आवश्यक छ । व्यक्तिगत आश्वासन वा प्रलोभनले निर्णयमा विचलन ल्याउने कि देश बनाउने सही नेता छान्ने ? निर्णय जनताको हातमा छ । कुन दलको भन्दा पनि कुन चरित्रको हो, त्यो विचार गर्नुपर्छ । समाजबारे सुनेकालाई होइन, बुझेकालाई मत दिने, जसले समाजमा रहेका विविधता भित्रका विशिष्टता र समस्या बुझेको होस् ।

प्रकाशित : मंसिर १, २०७४ ०७:४६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

इमानदार नेताको खाँचो

वीणा झा

काठमाडौँ — राजनीतिक पार्टी विचार र सिद्धान्तका आधारमा फरक हुन्छन् । तर एउटा बिन्दुमा सबै एक हुनुपर्छ । त्यो हो, ‘देश र जनता’ । तर हामीकहाँ जब सरकार बनाउने र टिकाउने प्रसंग आउँछ, परस्पर विरोधी सिद्धान्त बोकेका पार्टीहरू पनि मिल्छन् । सरकारमा बस्न सकेनन् भने जनताका नाममा ‘ठेकेदारी’ गर्छन् । यो प्राय: सबै स्थापित राजनीतिक पार्टीहरूको चरित्र बनेको छ ।

राजनीतिक पार्टी विचार र सिद्धान्तका आधारमा फरक हुन्छन्। तर एउटा बिन्दुमा सबै एक हुनुपर्छ। त्यो हो, ‘देश र जनता’। तर हामीकहाँ जब सरकार बनाउने र टिकाउने प्रसंग आउँछ, परस्पर विरोधी सिद्धान्त बोकेका पार्टीहरू पनि मिल्छन्। सरकारमा बस्न सकेनन् भने जनताका नाममा ‘ठेकेदारी’ गर्छन्। यो प्राय: सबै स्थापित राजनीतिक पार्टीहरूको चरित्र बनेको छ।

सबै नीतिभन्दा माथि हुन्छ, राजनीति। किनकि यसले सरकार बनाउँछ, कानुन बनाउँछ, कार्यान्वयन गर्छ, अनुगमन तथा नियन्त्रणमा भूमिका खेल्छ। राजनीतिको केन्द्रमा जहिले पनि आम जनता हुन्छ। नेपालका नेताहरू भने कसका लागि राजनीति गर्छन्? पटक–पटक सरकार चलाएका राजनीतिक पार्टीहरूलाई एक–एक गरी केलाएर हेर्दा तिनका कार्यशैली कतैबाट पनि देश र जनता केन्द्रित भेटिँदैन। तिनको ध्यान सधैं सत्तामा टिकिराख्न र भविष्यमा समेत शक्ति आफ्नै हातमा राखिराख्नतिर केन्द्रित देखिन्छ। जवाफदेहिताको कमीले अहिले हरेक क्षेत्र, शिक्षा, स्वास्थ्य, सुरक्षामा भ्रष्टाचार, बेथिति र अराजकता कहालीलाग्दो अवस्थामा पुगेको छ। बिना झन्झट कुनै किसिमको सेवा पाउन नसकिने अवस्था छ। जनताको दैनिक भोगाइलाई सहज बनाउने प्रयास गर्नुको सट्टा दलहरूले निर्वाचन केन्द्रित गठबन्धन बनाउन, मन्त्रिपरिषद विस्तारलाई प्राथमिकता दिएको देखिन्छ।

नेपाली जनताले प्रजातन्त्र ल्याएको ३ दशक हुनलाग्यो। प्रजातन्त्र आएपछि जन्मेकाहरूले पनि समानताका लागि लड्नु पर्दैछ, भ्रष्टाचारको विरोध गर्नु पर्दैछ। यस्तो अवस्था किन आयो? दलहरूले कसका लागि राजनीति गरे? दलहरूले विगतका भुलहरू सुधार्दै अघि बढ्ने सम्भावना पनि तत्काल देखिएको छैन। आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि राजनीतिक दलहरूले अघि सार्न खोजिरहेका उम्मेदवारहरूले त्यसलाई छर्लंग पार्छ।

स्थानीय निर्वाचनमार्फत आम नेपालीले स्थानीय सरकार बनाएका छन्। जनप्रतिनिधिले काम थालिसकेका छन्। तर उनीहरूको काम पनि सन्तोषजनक देखिनसकेको छैन। जनप्रतिनिधि गलत पो छानियो कि? छानिएकाहरूको क्षमता विकासमा ध्यान दिइएन कि? ती प्रतिनिधिले चुनावका बेला गरेको वाचा अहिले भुलेजस्तै देखिन्छ। काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले निर्वाचनका बेला प्रस्तुत गरेको १०० दिने कार्यसूची मतदाताले भुलेका छैनन्। काठमाडौंवासीको अहिलेको अपेक्षा धुलोमुक्त, ट्राफिक जामरहित र फोहोर व्यवस्थापन गरिएको सहर हो। स्मार्ट सिटीको सपना बाँडेका शाक्यले मतदाताको सामान्य अपेक्षा पनि पूरा गर्नसकेका छैनन्।

राजनीतिक दलको अदूरदर्शी निर्णय र दम्भले उनीहरूलाई घाटा पुर्‍याउँछ। उनीहरूकै अस्तित्वमा खतरा सिर्जना पनि हुनसक्छ, जसका उदाहरण विश्व राजनीतिमा थुप्रै छन्। त्यसैले नेपालका राजनीतिक दलहरू सुध्रिन जरुरी छ। नागरिकले पनि राजनीतिक दलमात्र हेरेर पुग्दैन। त्यहाँ भित्रका नेता कस्ता छन्, हेर्नुपर्छ। उनीहरूका नैतिकतासँगै विकासका कार्ययोजना र नेतृत्वदायी क्षमता हेर्नुपर्छ। आउँदै गरेको निर्वाचनमा हामीले सही प्रतिनिधि छान्न सकेनौं भने विकास र समृद्धिका हाम्रा सपना अझै टाढिन्छन्, मुलुक भ्रष्टाचारको दलदलमा भासिँदै जान्छ। कुनै कार्यालय प्रमुख भ्रष्टाचार विरोधी छन् अर्थात् इमानदार र नेतृत्व गर्नसक्ने क्षमताका छन् भने उक्त कार्यालयमा भ्रष्टाचार हुने सम्भावना ज्यादै न्यून हुन्छ, उल्लेख्य प्रगति पनि हुनसक्छ। १८ घन्टासम्म लोडसेडिङ भोगेकालाई अरू उदाहरण चाहिँदैन। त्यसैले अब जो जहाँ छौं, त्यहींबाट आफ्नो जिम्मेवारी पूरा गर्ने बेला भएको छ। ऊर्जावान, नैतिकवान, क्षमतावान र स्वाभिमानी नेता छान्न र त्यसका लागि वातावरण निर्माण गर्न सक्नुपर्छ। सही व्यक्तिलाई प्रोत्साहन गर्नुपर्छ।

प्रकाशित : कार्तिक १३, २०७४ ०८:१६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT