फुल्चोकीमा हिउँ हेर्न जाँदा हराएका बालक एक हप्तापछि सकुशल भेटिए- समाचार - कान्तिपुर समाचार

फुल्चोकीमा हिउँ हेर्न जाँदा हराएका बालक एक हप्तापछि सकुशल भेटिए

मकर श्रेष्ठ

ललितपुर — फुल्चोकीमा हिउँ हेरेर फर्किने क्रममा एक साता अघि हराएका १७ वर्षीय बालक जाेन तामाङ भेटिएका छन् ।

जोन तामाङको बीएण्डबी अस्पतालमा उपचार गरिंदै । तस्बिर : कविन अधिकारी/कान्तिपुर

उनी फुल्चोकी जंगलबाट सकुशल भेटिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक विनोद सिलवालले बताए ।


सिलवालका अनुसार आफन्तले खोजी गर्ने क्रममा ति बालक भेटिएका हुन् । 'म बच्चा भेटिएकाे ठाउँबाट फर्किंदै छु,' सिलवालले भने ।


ललितपुरको थसिखेलस्थित अजय शिशू सदनमा अध्ययनरत उनी गत बिहीबार फुल्चोकीमा हिउँ हेरेर फर्किदा हराएका थिए । विद्यालयका प्रिन्सिपलसहित ५ र ६ का ११ विद्यार्थी हिउँ हेर्न गएका थिए । कक्षा ६ बाट फुल्चोकी जानेमा तामाङ एक्ला थिए ।


प्रिन्सिपलको लापरवाहीले यस्तो घटना भएको अभिभावकको आरोपपछि प्रहरीले विद्यालयका प्रिन्सिपल दुर्गाबहादुर ओलीलाई समेत नियन्त्रणमा लिएकाे थियाे ।


प्रकाशित : माघ १७, २०७४ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्

श्रम राज्यमन्त्रीमार्फत् डेनमार्क पठाउने भन्दै ४१ लाख ठगी

पीडितहरु भन्छन्- हाम्रो त घरबासै उठ्ने भयो
होम कार्की

काठमाडौँ — घोरही उपमहानगरपालिका-१५, दाङका २७ वर्षीय विशाल बस्नेतले श्रम राज्यमन्त्री डिल्लीराम चौधरीमार्फत डेनमार्क पठाउने भन्दै ६ जनासँग ४१ लाख रुपैयाँ लिएर फरार भएका छन् ।

आफ्नै गाँउलेलाई ठगी गरेर फरार रहेका घोरही-१५, दाङका बिशाल बस्नेत । 

सरकारी कोटामार्फत डेनमार्क पठाउने स्वीकृति पाएको कागज देखाई बस्नेतले पीडितसँग ७ लाख ५० हजार रुपैयाँसम्म उठाएर फरार भएका हुन् । ठगिएका युवक सबै बस्नेतकै छरछिमेक हुन् । ‘श्रम राज्यमन्त्री चौधरी हाम्रै जिल्लाका माननीय हुन् । बस्नेतले मन्त्रीस्तरीय निर्णयबाट २८ जनालाई डेनमार्क पठाउन लागेको भन्दै भरपर्दो सरकारी कागज देखाए । मन्त्री चौधरीसँग आफ्नो निकै नजिकको सम्बन्ध रहेको र मन्त्रीमार्फत डेनमार्क पठाइने जिम्मा लिए,’ पीडित डोजराज कालाथोकीले भने,‘ठगिएपछि बुझ्दा यो विषय मन्त्रीलाई नै थाहा छैन रहेछ । उनीसँग मन्त्रीको कुनै सम्बन्ध नै रहेनछ ।’

डेनमार्क पठाउन भन्दै बनाइएको नक्कली भिसा ।

बस्नेतले घोराहीका २० वर्षीय सुमन वली, तुलसीपुरका २३ वर्षीय घनश्याम विष्ट, ३२ वर्षीय डोजराज कालाथोकी, २० वर्षीय अर्जुन बुढाथोकी, २३ वर्षीय अर्जुन बिक र २८ वर्षीय सूर्य विसीलाई ठगी गरेका हुन् । उनीहरुलाई गत पुस २६ गते डेनमार्क जाने उडान छ भन्दै काठमाडौं बोलाएका थिए । ‘हामी घरबाट बिदा भएर काठमाडौं आयौं । बस्नेतले नै गोंगबु बसपार्कनजिक रहेको बाग्लुङ परिचय गेस्ट हाउसमा लगेर राखे ।,’ पीडित वलीले भने,‘फिंगरमा समस्या आयो । माघ ५ गते पठाउँछु भन्यो । त्यो दिन नपठाएर ७ गतेको टिकट देखाए । ७ गते विमानस्थल जाने भनेर कान्तिपुर मल अगाडि आएर बिहानदेखि बस्नेतलाई पर्खेर बसिरह्यौं । बिहान ११:३० बजेसम्म आउँदैछु भन्दै थियो । त्यसपछि उनी बेपत्ता भए ।’

बस्नेतले उनीहरुको लागि डेनमार्कको भिसा समेत राहदानीमा लगाइदिएका थिए । ‘भिसा र टिकट दुवै नक्कली रहेछ,’ उनले भने । वैदेशिक रोजगार विभागले व्यक्तिगत रुपमा ठगी गरेको भन्दै पक्राउ पुर्जी र बस्नेतको परिवारको नाममा रहेको जग्गा बेचबिखनमा रोक्काको पत्र जारी गरेको छ । पीडितले पक्राउ पुर्जी प्रहरीलाई बुझाइसकेका छन् । ‘डेनमार्कको होटलमा महिनामा एक लाख रुपैयाँ तलब पाउने आशामा घरबाट बिदा भएका थियौं’अर्जुन बिकले भने,‘अहिले हातमा पक्राउ पुर्जी बोकेर घर फर्किनुपरेको छ ।’

ठगिनेहरु सबै सामान्य आर्थिक अवस्थाका हुन् । ‘सय कडा ५ रुपैयाँ ब्याज दिने हिसाबमा ऋण लिइयो । ऋण कसरी तिर्ने भन्ने तनाबमा छु । घर फर्किने आँट पनि आएको छैन’, बस्नेतकै घर नजिकका डोजराजले भने,‘हामीजस्ता गरिब परिवारलाई किन यसरी ठग्नु पर्‍यो ।’

प्रकाशित : माघ १७, २०७४ १८:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×