कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुई वटा नागरिकता लिएको भन्दै गाउँपालिका अध्यक्षविरुद्ध उजुरी

काशीराम डाँगी

रोल्पा — पश्चिमी रोल्पाको सुकीदह गाउँपालिकाका अध्यक्ष बीरबहादुर खत्रीविरुद्ध दुईवटा नागरिकता लिएको अभियोगमा छानविन माग गर्दै बुधबार जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरिएको छ ।

फरक फरक नाम र समयमा दुई वटा नागरिकता लिएकोबारे छानविन गरी कानुनी कारवाही गर्न माग गरिएको छ ।


स्थानीय हरिबहादुर पुनले प्रमुख जिल्ला अधिकारीसमक्ष जाहेरी दर्ता गराएका हुन् । प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले जाहेरी बुझ्दै अनुसन्धान थाल्ने प्रतिबद्धता जनाए । ‘मुद्दा दर्ता भएको छ । अब उक्त विषयबारे अनुसन्धान थालिनेछ,’ प्रजिअ भट्टराईले भने ।


जाहेरीकर्ता पुनका अनुसार खत्रीले ४ वर्षको फरकमा दुई वटा नामबाट नागरिकता लिएका छन् । वास्तविक नाम भिउदे खत्री भएको र आफ्नै नाममा खत्रीले २०४२ मंसिर १० गते ३८९२ नम्बरको को एउटा र २०४६ बैशाख १५ गते १८६ नम्बरको बीरबहादुर खत्रीको नाममा गरी दुईवटा नागरिकता लिएको आरोप लगाइएको छ ।


गाउँलेहरुका अनुसार पहिले जिल्ला प्रशासन कार्यालयमा आफै उपस्थित भएर नागरिकता लिएका खत्रीले दोस्रो पटक भने गाउँमै पुगेको टोलीबाट नागरिकता लिएका थिए । दोस्रो पटक नागरिकता लिंदा खत्रीले ६ वर्षअघि मृत्यु भएका आफ्नै साइला भाई बीरबहादुर खत्रीको नाममा नागरिकता लिएको आरोप छ । पूर्व माओवादी लडाकु खत्री माओवादी केन्द्रका तर्फबाट अध्यक्ष निर्वाचित भएका थिए ।


खत्रीको नेतृत्वमा गाउपालिकाको नाम फेर्ने प्रस्ताव पारित गरिएपछि उनीविरुद्ध विपक्षीहरुले असहमति जनाउदै मुद्दा दर्ता समेत गरेका हुन् । जाहेरीकर्ता पुन खत्रीसँगै अध्यक्षमा काँग्रेसका तर्फबाट चुनाव लडेका थिए । सुकीदह गाउँपालिकाको नाम ‘गंगादेव’ बनाउने गरी गाउँसभाबाट बहुमतले प्रस्ताव पारित गराएपनि स्थानीयको विरोधका कारण कार्यान्वयन गरिएको छैन । नाम फेर्न गरिएको प्रस्तावविरुद्ध खत्रीसँगै एमालेबाट अध्यक्षमा प्रतिष्पर्धा गरेका रोशन वली आन्दोलन समिति समेत गठन गरिएको छ ।

अध्यक्ष खत्रीले भने आफूविरुद्ध लगाइएका मुद्दा र आरोपका विरुद्ध प्रतिवाद गर्न आफू तयार भएको बताएका छन् । उनले सबै आरोप राजनीतिक प्रतिशोधका कारण विपक्षीले लगाएको र आफूले कानुनी रुपमै प्रतिवाद गर्ने दावी समेत गरे ।


प्रकाशित : माघ १७, २०७४ १७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?