भुटानी सत्तालाई उपकारी बन्न आग्रह- विचार - कान्तिपुर समाचार

भुटानी सत्तालाई उपकारी बन्न आग्रह

काठमाडौँमा जन्मिएका वर्तमान भुटान नरेश अत्याचारी होइन, उपकारी राजाको पहिचान बोकेर नेपाल भ्रमणमा आउनुहोस् । 
कृष्ण पहाडी

काठमाडौँ — नेपालका शिविरहरूमा रहेका भुटानी शरणार्थीहरूमध्ये झन्डै १ लाख १० हजारलाई पश्चिमा मुलुक मूलत: अमेरिकामा पुनर्वास गराइएपछि भुटानी शरणार्थी समस्या समाधान भएको हो कि भन्ने कतिपयलाई परेको छ ।

तर अझै पनि ठूलै संख्यामा शरणार्थीहरू शिविरमै छन् (कम्तीमा ८,५००) र शिविरबाहिर पनि । मुहान अर्थात् भुटानमा नेपालीभाषीमाथि अत्याचार निरन्तर छ । अझै भुटानी कारागारहरूमा ३५ जना राजबन्दी थुनामा रहेको तथ्यांक प्राप्त भएको छ भने सयभन्दा बढी नेपालीभाषीमाथि झूटा मुद्दा लगाएर थुनिएको छ । तीमध्ये केही त सन् ’९० को दशकदेखि थुनामै छन् भनिन्छ, त्यसो हो भने मानवअधिकार उल्लंघनको यस्तो जघन्य कृत्य कसरी सह्य हुन सक्छ ? भुटानका युवा राजाले यसबारे चासो देखाएर उचित छानबिन हेतु पहल गर्नु आवश्यक छ र यी राजबन्दीहरूको बिनासर्त रिहाइका साथै उचित क्षतिपूर्ति प्रदान गर्नुपर्छ । तीन वर्षअघि प्रकाशमा आएको एक समाचारअनुसार, भुटान नरेश जिग्मेकेशर नामग्याल नेपाल यात्रा गर्न चाहन्छन् । पछिल्लो चरणमा उनको जीवनीमा उनको जन्मस्थान काठमाडौं बताइएको छ । नरेश आफैँले काठमाडौंमा जन्मिएको दाबा गर्नुका पछाडि केही कारण छन् । जस्तो कि उनका पिता जिग्मे सिङ्घे वाङचुकको विधिवत् विवाह भुटानको एकै घरानाको ४ जना कन्या अर्थात् दिदीबहिनीहरूसँग सन् १९८८ मा भएको थियो । तीमध्ये साहिंली कन्याको कोखबाट वर्तमान भुटान नरेशको जन्म १९८० मा भएको थियो अर्थात् विवाह हुनुभन्दा ८ वर्षपहिले भने विवाह हुँदाको बखत तत्कालीन राजाका अविवाहित रानीहरूबाट ८ जना सन्तान जन्मिसकेका रहेछन् । सन् १९७९ मै गुप्त रूपमा विवाह भएको अहिले भनिए र लेखिए तापनि जन्मको बेला वर्तमान भुटान नरेशको पिताको पहिचान र जन्मस्थल नखुलाएकै कारण भुटान नरेश स्वयंले आफू काठमाडौंमा जन्मिएको बताउनुपरेको हो । एउटा देशको राष्ट्रप्रमुखको जन्मथलो नेपाल भएको सुन्दा कतिपय नेपालीलाई रोमाञ्चक लाग्छ र आफ्नो देशमा जन्मिएको त्यो राष्ट्रप्रमुखले मानवताको पक्षमा ठोस कदम चाले हुन्थ्यो भन्ने आग्रह जन्मिन्छ । त्यही आग्रहले प्रेरित भएर भुटान देश र भुटानी जनताको हितमा भुटान नरेशले तत्काल वास्तविक लोकतन्त्रका लागि ठोस राजनीतिक कदम थाल्न आह्वानसहित यो पंक्तिकार केही आग्रह गर्छ ।


पूर्वी हिमालय शृंखलामा अवस्थित सानो देश भुटान जसको क्षेत्रफल नेपालको मध्यमश्चिमाञ्चल विकास क्षेत्रभन्दा सानो छ भने जनसंख्या ८ लाखको हाराहारीमा छ । धेरैलाई थाहा नहुन सक्छ सन् १८६५ को भुटान–भारत सन्धि हुनुभन्दा अघि भुटान र नेपालबीच अन्तर्राष्ट्रिय सीमा जोडिएको थियो । यो सानो र सुन्दर देश सन् ८० को अन्त्यतिर मानवअधिकार उल्लंघनका कारण अत्यधिक चर्चामा आयो । भारतको दार्जिलिङ केन्द्रविन्दु बनाएर गोरखाल्यान्ड आन्दोलन चर्किएपछि भुटानी सत्ता झनै क्रूर भएर निस्कियो र नेपालीभाषीहरूमाथिको दमनलाई तीव्र बनायो । नेपालीहरूमाथि नियोजित ज्यादती मञ्चन गर्न कहिले नागरिकता ऐन, कहिले जनगणनाको नीतिलाई हतियार बनाइयो अनि सुरु भयो अत्याचारको शृंखला । एक देश एक जनताको नारासहित एकरूपताको नाममा ‘ड्रिग्लाम नाम्जा’ भन्दै मानवअधिकारविरोधी नीति थोपरियो । त्यो अत्याचारविरुद्ध औंला ठड्याउँदै टेकनाथ रिजालले न्यायका लागि खबरदारी के गर्नुभएको थियो भुटानी सत्ता रिजालमाथि नै खनियो र पक्राउ गर्‍यो । जेनतेन रिजाल छुट्नुभयो र पूर्वी नेपालमा आएर बस्न थाल्नुभयो । राजाकै पूर्वसल्लाहकार रिजालले भुटानमा मानवअधिकार र लोकतन्त्रका लागि आवाज उठाउन थालेपछि भुटानी सत्ताले रिजालविरुद्ध डरलाग्दो षड्यन्त्रको तानाबाना बुन्यो । दुर्भाग्य त्यो षड्यन्त्रमा नेपालको राजपरिवारसमेत सामेल भयो । शरणको मरण नगर्ने कहावत प्रसिद्ध भएको देशमा एक जना लोकतन्त्रको योद्धालाई कर्‍याककुरुक पारेर कसाहीको हातमा सुम्पने काम नेपालको राजपरिवारले गर्‍यो ।


सन् १९८९ को एक बिहान विराटनगरस्थित मेरो आवासमै (एक जना पत्रकारमार्फत) टेकनाथ रिजालसँग पहिलो पटक भेट भएको थियो । नेपाल र भुटानको राजपरिवारबीच घनिष्ठ सम्बन्धको पृष्ठभूमि सुनेको हुँदा त्यो भेटमा मैले रिजाललाई त्यही कुरा सुनाउँदै सावधानी अपनाउन आग्रह गरेको थिएँ । १६ नोभेम्बर १९८९ को मध्यरातमा नेपालका सुरक्षाकर्मीले झापाको विर्तामोडस्थित रिजालको आवास घेरे र रिजालसहित ३ जना भुटानीलाई पक्रेर अपहरणको शैलीमा काठमाडौँ पुर्‍याए । त्रिभुवन विमानस्थलमा भुटानको ध्वजाबाहक ड्रुक एयर रिजालसहितका योद्धाहरूलाई अपहरण गरेर थिम्पु लैजान तम्तयार थियो । नेपालको तत्कालीन सत्ताले रिजालसहितको टोलिलाई त्रिभुवन विमानस्थलमा भुटान नरेशका एडीसी कर्णेल भी.नामग्याललाई हस्तान्तरण गरे जो पछि मेजर जनरल हुँदै भारत र नेपालका लागि भुटानका राजदूतसमेत नियुक्त भएका थिए । रिजाललाई पक्रेर लगेपछि उनकै एक जना महिला नातेदारको आग्रहमा निजसँगै म रिजाल परिवारलाई भेट्न विर्तामोड पुगेको थिएँ र १० वर्षसम्म रिजालको रिहाइका लागि सक्दो अभियान मैले गरेँ ।


भुटानको बन्दीगृहमा त्यसपछि सुरु भयो रिजाललाई धम्क्याउने, गलाउने र सिध्याउने खेल । ४ वर्षपछि अर्थात् सन् १९९३ मा भुटानी सत्ताले रिजाललाई आजन्म कारावासको सजाय सुनायो । त्यो बेलासम्म कुनै लिखित संविधान नभएको र निर्वाचनको नसम्म नसुनिएको भुटान एउटा बन्द देश थियो जसको सर्वेसर्वा भुटान नरेश थिए । स्वतन्त्र देश भएर पनि भारतसँग मात्र विशेष सम्बन्ध भएको भुटान शेष विश्वका लागि पहेली थियो । नेपालको शाही सत्तामार्फत रिजाललाई भुटान ल्याई थुनेपछि भुटानी नरेशको मनोबल झनै बढ्यो र सुरु भयो नेपालीभाषीमाथि दमन र अत्याचारको अर्को शृंखला । देख्दादेख्दै १ लाखभन्दा बढी नेपालीभाषी कतिपय धपाइए त कतिपयले पलायन गरे । नेपालीभाषीलाई धपाउनु भुटानको प्रमुख गृहनीति रह्यो भने धपाइएका/पलायन गरेकाहरूलाई भारत–भुटान सीमाबाट नेपाल–भारत सीमा काँकडभिट्टासम्म सहज ढंगले पुग्न दिनु भारतको विदेश नीति रह्यो । जबकि तिनै शरणार्थीहरूले पछि भुटान फिर्तीको अभियान चलाउँदा, काकरभिट्टा सीमामा रोकेर भारतले ‘भुटानी सत्ता जे भन्छ भारतीय सत्ता त्यही गर्छ’ भन्ने चरितार्थ गरेको थियो ।


सन् १९९० मा नेपालमा बहुदलीय व्यवस्थाको पुन:स्थापनापछि भुटानी शरणार्थी समस्या र रिजालको रिहाइको माग नेपाली समाज/प्रेसमा अत्यधिक महत्त्वको विषय बन्यो र शरणार्थी समस्या अन्तर्राष्ट्रियकरण पनि हुँदै गयो तर भारत त्यसविरुद्ध उभिन पुग्यो । तत्कालीन भारतीय प्रधानमन्त्री पीभी नरसिंह रावको सन् १९९२ मा नेपाल भ्रमणका बेला काठमाडौं नगरपालिकाले राष्ट्रिय सभागृहमा आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा भुटानको समस्या अन्तर्राष्ट्रियकरण गर्नु कसैको पनि हितमा नहुने बताएपछि नेपाल यो मामलामा रक्षात्मक हुँदै गएको र रावले १९९३ मा भुटान भ्रमण गरेपछि भुटान झनै आक्रामक हुँदै गएको देखिन्छ । फलस्वरूप भुटान र नेपालबीच शरणार्थीहरूलाई ४ तहमा वर्गीकरण गर्ने दुई देशको मन्त्रीस्तरीय बैठकको सहमति हुन पुग्यो । त्यसअनुसार एउटा स्वेच्छाले भुटान छाडेका, दोस्रो गैरभुटानी, तेस्रो अपराधीहरू र चौथो, जबरजस्ती निष्कासित गरिएका भनेर शरणार्थीहरूलाई वर्गीकरण गर्ने र चौथोलाई मात्र फिर्ता ल्याउने भुटानको अडान थियो । यो वर्गीकरणमा माथिल्लो तीनवटामा धेरैलाई पार्ने र नेपालमै आश्रित गर्ने र चौथो अर्थात् अत्यन्त थोरैलाई मात्र भुटान फर्काउने भन्ने भुटान र भारतको चालबाजीमा नेपाल फस्यो । त्यो वर्गीकरणको धारणा गलत थियो भन्ने कुराको ठोस प्रमाण तेस्रो देशमा गरिएको पुनर्वास नै हो । यदि वर्गीकरणमा उल्लेख भएजस्तो स्वेच्छाले भुटान छाडेका वा अपराधी भएको भए अमेरिकाले ९२ हजार भुटानी शरणार्थीहरूलाई स्वीकार गर्ने थिएन । भुटानी शरणार्थीहरूलाई ठूलो संख्यामा स्वीकार गर्ने अमेरिका र अन्य देशको त्यो कदम भुटान र भारतको गालामा चड्कन नै थियो । यद्यपि, तेस्रो देश पुनर्वासको नीतिले भुटानको लोकतान्त्रिक आन्दोलन कमजोर भएको गुनासो पनि सुनिँदै आएको छ ।


निरन्तर १० वर्षको कहालीलाग्दो कारावासपछि पनि रिजाल नगलेपछि अन्तत: भुटानको सत्ता रिजालको रिहाइको निर्णयमा पुग्यो । किनकि रिजालको ह्रासोन्मुख स्वास्थ्यस्थितिका कारण अब फेरि रिजाल सक्रिय हुन नसक्ने निष्कर्ममा भुटानी सत्ता पुगेको थियो । सन् १९९९ मा जेलमुक्त भएको केही समयपछि रिजाल नेपाल आउनुभयो र बिस्तारै तङ्रिनु पनि भयो । सन् २००६ मा नेपालमा ठूलो परिवर्तन भएपश्चात् भुटानमा पनि नरेश जिग्मे सिङ्घेले राजगद्दी त्याग गर्ने घोषणा गर्नुभयो र अन्तत: २००८ मा युवा जिग्मे केशरको राज्याभिषेक सम्पन्न भयो । त्यही सेरोफेरोमा भुटानमा देखावटी निर्वाचन पनि भयो । जस्तो कि नेपालमा पञ्चालयकालमा हुने गथ्र्याे । नेपालमा संविधानसभाका लागि निर्वाचन भइरहँदा भुटानमा भने सरकारी कर्मचारीसहित केही निकायको संलग्नतामा झारा टार्न लिखित संविधान जारी भएको देखिन्छ ।

सन् १९९९ अघिसम्म भुटानमा टेलिभिजन र इन्टरनेटमाथि प्रतिबन्ध लगाइएको थियो । घटनाक्रमहरू हेर्दा भुटानको राजसत्ताले भुटानलाई बन्द राष्ट्रको रूपमा राख्दा नै आफू सुरक्षित हुने धारणा पालेको देखिन्छ । भारत आश्रित भुटानको यो नीतिले भुटानको सार्वभौमसत्तालाई अप्ठयारोमा पार्न सक्छ भन्ने तथ्य भुटान नरेशले चाँडै बुझ्नु आवश्यक छ । पछिल्लो चरणमा डोक्लाममा बाटो खन्न चिनियाँ सेना आएपछि चीन–भारत सम्बन्ध चिसिएको त छ नै भुटानसमेत गहिरो संकटमा परेको छ । स्मरणीय छ, विवादित भनिएको डोक्लाम क्षेत्र न चीनको हो न भारतको त्यो त भुटानी भूमि हो र भुटानकै आग्रहमा भारतीय सेना डोक्लाम पुगेको हो । यो स्थितिमा भुटानलाई भारतको चुम्बकीय वृत्तबाट तानेर चिनियाँ वृत्तमा तान्न चीनले गरेको कसरतको कम्पन निश्चय पनि भुटान नरेशले अनुभव गर्नुभएको हुनुपर्छ । भुटान बन्द राष्ट्र नै रहिरह्यो, भुटानमा अत्याचार भइरह्यो भने बलियो छिमेकीले हावा भर्नेबित्तिकै भुटानमा ठूलो भूचाल आउन सक्छ ।


भुटान नरेश नामग्यालज्यू, कुनै बेला बन्दको यस्तै नीति लिएको तिब्बतमा चिनियाँ सेना पस्दा दलाई लामाको सत्ता त रहेन, रहेन तिब्बत स्वतन्त्र राष्ट्र पनि रहेन । कुनै बेला सिक्किमका राजा चोग्यालकी अमेरिकन पत्नी र काजी अर्थात् प्रधानमन्त्री लेन्डुप दोर्जीकी बेल्जियम पत्नीको अन्तद्र्वन्द्वमा सिक्किमको राजनीति रुमलिएको बेला, राजा र नागरिकहरूबीच दूरी असाध्यै बढेको बेला भारतले जनमतसंग्रहको आवरणमा सिक्किमलाई भारतीय संघमा विलय गराएको ४३ वर्ष पनि भएको छैन । अहिले डोक्लाममा आएको चिनियाँ सेना एकाबिहान थिम्पु पस्यो भने न तपाईंको गद्दी रहन्छ, न देश । भारत आश्रित बन्द मुलुकको रूपमा रहिरहँदा कुनै दिन जनमतसंग्रहको आडमा भारत पस्यो भने न तपाईंको गद्दी रहन्छ न देश । इतिहासबाट पाठ सिक्दै आन्तरिक सुधारसहित आफ्ना नागरिकलाई नै विश्वासमा लिनु भुटानी सत्ता र नरेशको पहिलो कर्तव्य हो जुन भुटान राष्ट्रको हितमा छ । यसका लागि विगतमा भुटानी सत्ताले खेद्नुसम्म खेदेको टेकनाथ रिजाललाई नै सम्मानसहित भुटान आमन्त्रण गरी साँचो अर्थमा लोकतान्त्रीकरणको प्रक्रिया थालनी गर्नु बुद्धिमानी हुनेछ । नेपालका तत्कालीन राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई ८ वर्ष थुन्नुभयो । प्रवासमा रहँदा भारतको दोधारे नीतिबाट वाक्क भएर बीपीले अर्का राजा वीरेन्द्रसमक्ष मेलमिलापको आह्वान गर्नुभयो । तर त्यसलाई नेपालका दरबारीयाहरूले कमजोरी ठाने । अन्तत: त्यसको ३ दशकपछि नेपालमा राजतन्त्रको उन्मूलन भयो । पूर्वनरेश जिग्मेले टेकनाथ रिजाललाई १० वर्ष थुन्नुभयो भने वर्तमान नरेश अहिले पनि आफ्ना पिताको धङ्धङीबाट मुक्त हुन सक्नुभएको छैन ।


भुटानमा पनि नेपालकै जस्तो इतिहास दोहोरिन सक्छ । १ लाखभन्दा बढी शरणार्थीहरू ती जो पश्चिममा स्थापित भएका छन् । १० वर्षभित्र तिनको प्रभाव र आर्थिक अवस्था अझ बलियो हुनेछ र भुटानमा लोकतन्त्रका लागि तिनले गर्ने आर्थिकलगायतका सहयोगले भुटान पनि गणतन्त्रकै बाटोमा जानेछ । भुटानी नरेशले बेलैमा होस पुर्‍याउनुभएन भने हिंसा वा सशस्त्र संघर्षको दुश्चक्रमा भुटान फस्न सक्छ । भुटान अहिले चीन र भारतको चेपुवामा निस्सासिएको अनुभव गर्दै छ । निर्धक्क सास फेर्न कमसेकम घरभित्रको झगडा मिलाउनुहोस्, नागरिकको मन जित्नुहोस् भुटान नरेशलाई यही आग्रह छ । हिमालयको काखमा अवस्थित सानो सुन्दर देश भुटान स्वतन्त्र राष्ट्रकै रूपमा शिर ठड्याएर सदासर्वदा उभिनुपर्छ । काठमाडौँमा जन्मिएका वर्तमान भुटान नरेश नेपाल भ्रमणमा आउनुभयो भने अत्याचारी होइन, उपकारी राजाको पहिचान बोकेर आउनुहोस् । सम्पूर्ण राजबन्दीलाई रिहाइ गर्नुहोस्, भेदभावको नीतिलाई समाप्त गर्नुहोस् । समग्रमा लोकतान्त्रिक भुटान नै भुटानको सार्वभौम सत्ताको बलियो रक्षाकवच हो भन्ने सत्यलाई बेला छँदै हृदयंगम गर्नुहोस् । अन्यथा नेपाल आउनुभयो भने पनि यहाँले नेपालको नागरिक समाजको विरोधको सामना गर्नुपर्नेछ या त पूर्वराजा ज्ञानेन्द्र अहिले थाइल्यान्डलगायतका मुलुकमा टुरिस्ट भिसामा भ्रमण गरेजस्तै घुमन्ते/फिरन्तेको रूपमा तपाईंले जन्मथलो नेपाल भ्रमण गर्ने दिन आउन सक्छ ।

प्रकाशित : माघ १०, २०७४ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्

चोरिएका हुन्, चोरिएका होइनन्

देश–विदेश
हाम्रो सम्पदाको अधिकारमाथि प्रमाण जुटाउन पुरातत्त्व विभाग, परराष्ट्र मन्त्रालय र डेनमार्कस्थित नेपाली दूतावासले किन ढिलाइ गर्ने ?
देवेन्द्र भट्टराई

काठमाडौँ — अन्वेषक लैनसिंह बाङ्देलको ‘स्टोलन इमेजेज अफ नेपाल’ कृतिको नामकामले नेपालको कला–सम्पदालाई फेरि पुनर्जीवन दिएको इतिहास त्यति पुरानो भइसकेको छैन । लैनसिंहकै छोरी कला अन्वेषक डा.डिना बाङ्देल पनि देश–देशावरमा नेपाली कला, संस्कृति र सभ्यताको व्याख्याता बनी हिंडेकी थिइन् ।


समयको अन्तरमा डा.डिनालाई ‘सुपरभाइजर’ राखेर पीएचडी अध्यनरत एक जना डेनिस विद्यार्थी उल्रिक जोहेसनले नेपाली कला–सम्पदाको विगत–आगतमा तरंग ल्याउने काम गरेका छन् । आफ्नो शोधको सिरानीमा ‘स्टोलन इमेजेज अफ नेपाल’ कृतिलाई राखेर र डा.डिना (स्वर्गीय) को मार्गनिर्देशनलाई समातेर उल्रिक अहिले नेपाल आएका छन्, साथमा सन् ५० को दशकमा नेपालबाट युरोप लगिएका ८८ थान मूर्ति, चित्रसहितको ‘रिप्लिका’ (तस्बिर) लिएर उनी नेपाल आएका छन् ।

डेनमार्कको आर्हसस्थित मोज्गार्ड म्युजियमका क्युरेटर उलेरिकले आफ्नो शोध र पेसाको सुविधामा नेपाल विषयक शोध–सामग्री भेटेका थिए । कोपनहेगनको नेसनल र आर्हसको मोज्गार्ड म्युजियममा संकलित यी सामग्रीको थप इतिहास र महत्त्व पहिल्याउन उल्रिक यतिखेर काठमाडौं उपत्यकाका विभिन्न मुकाममा प्रदर्शनी गर्दै हिँडिरहेका छन् । अन्वेषक लैनसिंहले भनेजस्तो ‘स्टोलन’ भनेर दाबी–किटान नगरेरै भए पनि यी सामग्रीको पृष्ठभूमि पहिल्याउन लागिपरेका उल्रिक नेपाली सम्पदाप्रेमी र कलाविद्का लागि रुचिकर नाम बनेका छन् । ‘भारतको बाटो हुँदै नेपाल आएका डेनिस आर्ट–क्युरेटर वेरर्नर ज्याकोब्सेन सन् १९५७ देखि २ वर्षका लागि काठमाडौंको कालिमाटीमा डेरा लिएर बसेको इतिहास छ,’ पाटनको ज्यापु समाजमा अर्को प्रदर्शनी तयारीमा जुटेका उल्रिक सुनाउँछन्, ‘त्यही बेला यी दुर्लभ सामग्री नेपालबाट डेनमार्क लगिएको बुझिन्छ ।’ तर, उनका भनाइमा कला–सम्पदाका अरू व्याख्याताले भनेजस्तै ‘चोरिएर’ यी सामग्री लगिएको होइन, बरु उपत्यका आसपासका बासिन्दाले आफैं यी सामग्री ल्याएर निश्चित शुल्कमा बुझाउने गरेको इतिहास उनले शोधका क्रममा पाएका छन् । क्युरेटर वेरर्नर ज्याकोब्सेनसँगै सन् १९५७ मा काठमाडौं आएका एक अमेरिकी अन्वेषकले अहिले डेनमार्कका म्युजियममा संग्रहित नेपाली सम्पदा खरिद गरेर लगिएको बयान दिएका रहेछन् । क्युरेटर ज्याकोब्सेन (सन् १९१४–१९७९) आफैं डेनिस कल्चरल इन्स्टिच्युटसँग सम्बद्ध थिए । ज्याकोब्सेन स्वतन्त्र आर्ट–क्युरेटर थिए जसले डेनमार्कको नेसनल र मोज्गार्ड म्युजियममा कला–सम्पदा संकलन गरिदिने जिम्मा पाएका थिए ।

शोधकर्ता उल्रिक १६ वर्षअघि पहिलो पटक नेपाल आएका थिए । त्यसपछि भिन्न योजनामा जोडिएर ५ पटक नेपाल आइसकेका छन् । पछिल्ला वर्षमा डेनमार्कको आर्हस युनिभर्सिटीको मानवशास्त्र संकायमा नेपालको पारम्परिक कला–सम्पदामा पीएचडी गरिरहेका उल्रिकले नसोचेको र अध्ययनका हिसाबमा पनि अद्भुत स्रोत–सामग्री फेला पारेका छन् । ‘अद्भुत’ यस अर्थमा कि बितेका ६० वर्षयता डेनमार्कको म्युजियममा थन्किएका सम्पदा सामग्रीबारे न पुरातत्त्व विभाग जानकार छ, न विषयविद्हरूले यसमा सरोकार राख्न सकेका छन् । आर्ट–क्युरेटर तथा कला अन्वेषक डा.डिनाले २ वर्षअघि डेनमार्कको नेसनल म्युजियममा गरेको भ्रमण क्रम र आफ्ना पीएचडी शोधार्थी विद्यार्थी उल्रिकसँगको सल्लाहमा यी पुरातात्त्विक सामग्रीको ‘रिप्लिका’ तस्बिर पहिलो पटक नेपालीले देख्न पाएका हुन् । ‘यी ऐतिहासिक सम्पदा घर (नेपाल) फर्काउने पक्षमा ‘लबिइङ’ गर्नेभन्दा पनि यी सामग्रीको ऐतिहासिक पक्ष, महत्त्व र स्थानविशेष पहिल्याउन म आएको हुँ,’ उल्रिक उत्साहित थिएm ‘प्रदर्शनीमा राखिएकामध्ये भैरवमूर्तिलाई एक स्थानीय बयोवृद्ध बासिन्दाले पाटनको इटुम्बहाल टोलमा धेरै अघि आफूले देखेको जनाएका छन्, यो सोधीखोजीको गम्भीर विषय हो ।’

आज भइरहेकै सम्पदा जोगाउने र सम्मान गर्ने कुरामा हाम्रा पुरातत्त्व विभाग, अभिलेखालय, संग्रहालय, संस्कृति मन्त्रालय आदि चुकिरहेका बेला शोधकर्ता उल्रिकले घर–आँगनमै आएर नेपाली सम्पदाको एउटा इतिहासलाई उधिनेर देखाएका छन् । अन्वेषक लैनसिंहले ‘स्टोलन इमेजेज अफ नेपाल’ कृतिमा औंल्याएका आधारमा पाटन संग्रहालयबाट हराएको उमामहेश्वरको मूर्ति १८ वर्षपछि पनि घर फिर्ता आएको थियो । लैनसिंहले पुस्तकमा उल्लेख गरेकामध्ये दर्जनौं कला–सम्पदा घर फिर्ता भइसकेका छन्, तर यसमा सरोकार राख्ने निकाय–व्यक्तिको ‘तदारुकता’ जहिल्यै पनि अपेक्षित छ । यहाँ सम्पदा र इतिहासका नाममा चाहिनेभन्दा नचाहिने ‘इगो’ को लडाइँ चलिरहेको छ, यो बेला रानीपोखरी वा काष्ठमण्डपको फाइदाकारी योजनामै धेरैजसो सरोकारसम्बद्ध अधिकारी झुत्ती खेलिरहेका भेटिन्छन् । अब कसले डेनर्माकका म्युजियममा फेला परेका नेपाली सम्पदाको इतिहास र ऐतिहासिकता खोजिदिने हो ?

‘एन्थ्रोपोलोजीको सिद्धान्त र कार्यरूपमा विश्वास गर्ने विद्यार्थीका रूपमा मैले जे देखेको छु, त्यही राखिदिएको मात्रै हुँ,’ शोधकर्ता उल्रिक भन्छन्, ‘यी सामग्रीमा साँच्चै नेपाली कला–संस्कृति र धार्मिक विश्वासको आधारशिला छ भने यसबारे नेपालीबाटै थप खोजबिन हुनुपर्छ । विषयका विज्ञहरू अथवा पुरातत्त्व विभाग र सम्बद्ध निकायले आफ्ना सामग्रीको प्रामाणिकता दाबी गर्न सक्नुपर्छ । यसरी आधारहरू क्रमश: बन्दै गयो भने यी सम्पदाहरू घर फिर्न पनि सक्छन्, होइन भने म मेरो पीएचडी–थेसिस पूरा गर्नेछु, अनि चुपै लागेर बस्नेछु ।’

नभन्दै यसरी हराएका सम्पदाको विषय र सोधखोजको सन्दर्भ निकै अघि बढिसकेका बेला हाम्रो सम्पदाको अधिकारमाथि प्रमाण जुटाउन पुरातत्त्वले किन ढिलाइ गर्ने ? परराष्ट्र मन्त्रालय र डेनमार्कस्थित नेपाली दूतावासले यी दुर्लभ मानिएका ऐतिहासिक सम्पदाबारे थप अध्ययन गर्न किन नसकिरहेका हुन् ? यतिखेर एउटा लैनसिंह बाङ्देल (नेपाली अन्वेषक) ले होइन, कुनै विदेशी शोधार्थीले उसका देशमा थन्किएर बसेका नेपाली (हाम्रा) सामग्रीबारे सचित्र सूचना दिंदै हिँडिरहेको अवस्था छ । अब यी सामग्रीको अवस्थिति र ऐतिहासिकता खोज्ने काम हाम्रो पुरातत्त्व विभागको हो जोसँग यस्तो सोधखोज र अन्वेषणमा आवश्यक स्रोतसामग्री र पहुँचसमेत छ । कतिसम्म भने यिनै डेनिस शोधार्थी उल्रिकले पुरातत्त्व विभागमा गएर डेनमार्कको म्युजियममा भेटिएका ऐतिहासिक सम्पदाबारे धेरैअघि जानकारी दिइसकेका रहेछन् तर हाम्रो पुरातत्त्व भने तैं चुप मै चुपको अवस्थामा छ ।

प्रकाशित : माघ १०, २०७४ ०६:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×