कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इमानदार नेताको खाँचो

वीणा झा

काठमाडौँ — राजनीतिक पार्टी विचार र सिद्धान्तका आधारमा फरक हुन्छन् । तर एउटा बिन्दुमा सबै एक हुनुपर्छ । त्यो हो, ‘देश र जनता’ । तर हामीकहाँ जब सरकार बनाउने र टिकाउने प्रसंग आउँछ, परस्पर विरोधी सिद्धान्त बोकेका पार्टीहरू पनि मिल्छन् । सरकारमा बस्न सकेनन् भने जनताका नाममा ‘ठेकेदारी’ गर्छन् । यो प्राय: सबै स्थापित राजनीतिक पार्टीहरूको चरित्र बनेको छ ।

इमानदार नेताको खाँचो

सबै नीतिभन्दा माथि हुन्छ, राजनीति । किनकि यसले सरकार बनाउँछ, कानुन बनाउँछ, कार्यान्वयन गर्छ, अनुगमन तथा नियन्त्रणमा भूमिका खेल्छ । राजनीतिको केन्द्रमा जहिले पनि आम जनता हुन्छ । नेपालका नेताहरू भने कसका लागि राजनीति गर्छन् ? पटक–पटक सरकार चलाएका राजनीतिक पार्टीहरूलाई एक–एक गरी केलाएर हेर्दा तिनका कार्यशैली कतैबाट पनि देश र जनता केन्द्रित भेटिँदैन । तिनको ध्यान सधैं सत्तामा टिकिराख्न र भविष्यमा समेत शक्ति आफ्नै हातमा राखिराख्नतिर केन्द्रित देखिन्छ । जवाफदेहिताको कमीले अहिले हरेक क्षेत्र, शिक्षा, स्वास्थ्य, सुरक्षामा भ्रष्टाचार, बेथिति र अराजकता कहालीलाग्दो अवस्थामा पुगेको छ । बिना झन्झट कुनै किसिमको सेवा पाउन नसकिने अवस्था छ । जनताको दैनिक भोगाइलाई सहज बनाउने प्रयास गर्नुको सट्टा दलहरूले निर्वाचन केन्द्रित गठबन्धन बनाउन, मन्त्रिपरिषद विस्तारलाई प्राथमिकता दिएको देखिन्छ ।

नेपाली जनताले प्रजातन्त्र ल्याएको ३ दशक हुनलाग्यो । प्रजातन्त्र आएपछि जन्मेकाहरूले पनि समानताका लागि लड्नु पर्दैछ, भ्रष्टाचारको विरोध गर्नु पर्दैछ । यस्तो अवस्था किन आयो ? दलहरूले कसका लागि राजनीति गरे ? दलहरूले विगतका भुलहरू सुधार्दै अघि बढ्ने सम्भावना पनि तत्काल देखिएको छैन । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि राजनीतिक दलहरूले अघि सार्न खोजिरहेका उम्मेदवारहरूले त्यसलाई छर्लंग पार्छ ।

स्थानीय निर्वाचनमार्फत आम नेपालीले स्थानीय सरकार बनाएका छन् । जनप्रतिनिधिले काम थालिसकेका छन् । तर उनीहरूको काम पनि सन्तोषजनक देखिनसकेको छैन । जनप्रतिनिधि गलत पो छानियो कि ? छानिएकाहरूको क्षमता विकासमा ध्यान दिइएन कि ? ती प्रतिनिधिले चुनावका बेला गरेको वाचा अहिले भुलेजस्तै देखिन्छ । काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले निर्वाचनका बेला प्रस्तुत गरेको १०० दिने कार्यसूची मतदाताले भुलेका छैनन् । काठमाडौंवासीको अहिलेको अपेक्षा धुलोमुक्त, ट्राफिक जामरहित र फोहोर व्यवस्थापन गरिएको सहर हो । स्मार्ट सिटीको सपना बाँडेका शाक्यले मतदाताको सामान्य अपेक्षा पनि पूरा गर्नसकेका छैनन् ।

राजनीतिक दलको अदूरदर्शी निर्णय र दम्भले उनीहरूलाई घाटा पुर्‍याउँछ । उनीहरूकै अस्तित्वमा खतरा सिर्जना पनि हुनसक्छ, जसका उदाहरण विश्व राजनीतिमा थुप्रै छन् । त्यसैले नेपालका राजनीतिक दलहरू सुध्रिन जरुरी छ । नागरिकले पनि राजनीतिक दलमात्र हेरेर पुग्दैन । त्यहाँ भित्रका नेता कस्ता छन्, हेर्नुपर्छ । उनीहरूका नैतिकतासँगै विकासका कार्ययोजना र नेतृत्वदायी क्षमता हेर्नुपर्छ । आउँदै गरेको निर्वाचनमा हामीले सही प्रतिनिधि छान्न सकेनौं भने विकास र समृद्धिका हाम्रा सपना अझै टाढिन्छन्, मुलुक भ्रष्टाचारको दलदलमा भासिँदै जान्छ । कुनै कार्यालय प्रमुख भ्रष्टाचार विरोधी छन् अर्थात् इमानदार र नेतृत्व गर्नसक्ने क्षमताका छन् भने उक्त कार्यालयमा भ्रष्टाचार हुने सम्भावना ज्यादै न्यून हुन्छ, उल्लेख्य प्रगति पनि हुनसक्छ । १८ घन्टासम्म लोडसेडिङ भोगेकालाई अरू उदाहरण चाहिँदैन । त्यसैले अब जो जहाँ छौं, त्यहींबाट आफ्नो जिम्मेवारी पूरा गर्ने बेला भएको छ । ऊर्जावान, नैतिकवान, क्षमतावान र स्वाभिमानी नेता छान्न र त्यसका लागि वातावरण निर्माण गर्न सक्नुपर्छ । सही व्यक्तिलाई प्रोत्साहन गर्नुपर्छ ।

प्रकाशित : कार्तिक १३, २०७४ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?