कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुगा रटाइ शैली छोड्ने कि?

रोश्ना सुब्बा

कक्षाकोठामा गयो, विद्यार्थीको किताब माग्यो, सिधै पाठमा प्रवेश गर्‍यो, त्यसमै आधारित भएर पाठ पढ्यो, पढायो।

सुगा रटाइ शैली छोड्ने कि?

त्यसपछि बोर्डमा प्रश्न–उत्तर लेखिदियो, बुझ्यौ होइन त भनी सोध्यो। सकियो। थुप्रै शिक्षकका कक्षा यसैगरी सुरु र अन्त्य हुने गरेको पाइन्छ। शिक्षक वक्ता हुने र विद्यार्थी श्रोता हुने यो प्रवचन शैलीले विद्यार्थीलाई खोज्न र सोच्न सिकाउँदैन। किताबमा जे छ वा जे पढेको छ, खरखर्ती त्यही पढ्न र लेख्नमात्र सिकाउँछ। घोक्न मात्र सिकाउँछ। धेरै विद्यालयका शिक्षकको पढाउने शैली कण्ठ पार्न लगाउने क्रियाकलापमा सीमित छन्। शिक्षा मन्त्रालय अन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले कक्षा ३, ५ र ८ का विद्यार्थीको सिकाइ उपलब्धिका सम्बन्धमा गरेको राष्ट्रिय परीक्षणमा आधारित प्रतिवेदन अनुसार कक्षामा घोकाउने र कण्ठ पार्ने क्रियाकलाप बढी हुने गरेको छ। शिक्षा मन्त्रालयका सहसचिव तथा केन्द्रका प्रमुख डा. लेखनाथ पौडेल भन्छन्, ‘सम्झने, घोक्ने र हुबहु उतार्नेमा विद्यार्थीहरू राम्रा छन्। तर सिर्जनात्मक हुने पक्षमा कमजोर छन्। सिकेको कुरा प्रयोग गर्न, विश्लेषणसहित लामो उत्तर लेख्नमा कमजोर छन्।’

गाईको बारेमा लेख्नुपर्‍यो भने कक्षाका (प्राथमिक तह) प्राय: सबै विद्यार्थीको उत्तर लगभग उस्तै हुन्छ। गाई राष्ट्रिय जनावर हो। यो चारखुट्टे जनावर हो। गाई कालो हुन्छ, सेतो हुन्छ। गाईले दूध दिन्छ, गोबर दिन्छ आदि। हामीभन्दा अघिका र हामीमध्ये धेरैले यस्तै लेख्न सिक्यौँ। अझै यस्तै लेख्छन्। गहुँतको पनि फाइदा छ कि? हामीकहाँ कस्ता–कस्ता गाई पाइन्छन्? गाई पालन कसरी व्यवसाय बन्दैछ? यी प्रश्न र अन्य जानकारीबारे पनि केही थाहा छ कि वा कसैलाई सोधेर हुन्छ, लेखेर ल्याऊ र साथीलाई सुनाऊ भनिदिने हो भने विद्यार्थीले सोधखोज गर्थेे। आफूले थाहा पाएको जानकारीको आधारमा आफ्नै पारामा लेख्न र साथीहरूलाई पनि सुनाउन सक्थे। मुख्य उद्देश्य त उनीहरूमा लेखाइ र अभिव्यक्ति सीप विकास गर्नु नै हो। 

बालबालिकालाई उमेर, कक्षा र तहअनुसार के, कति र कसरी सिकाउने भन्नेबारे पाठ्यक्रम र शिक्षक निर्देशिकामा उल्लेख गरिएको छ। संक्षिप्त रूपमा पाठ्यपुस्तकमा समेत जानकारी दिइएको हुन्छ। साथै सामुदायिक विद्यालयमा अधिकांश र निजीका शिक्षकहरू पनि तालिमप्राप्त छन्। तर फरक–फरक सिकाइ गति तथा भिन्न–भिन्न तरिकाले सिक्ने बालबालिकालाई उही प्रवचन शैलीमा पढाइन्छ। कति साना केटाकेटी त यसरी आँखा चिम्लेर उत्तर सुनाउँछन् कि पूर्णविराम र फुलस्टप समेत भन्छन्। जसले धेरै कण्ठ पार्न सक्छ, ऊ राम्रो विद्यार्थी गनिन्छ। 

वनस्पतिको जीवनचक्र पढाउनुअघि नै गमलामा भए पनि कुनै फूल वा तरकारीको बिउ उमारेर देखाइदिए कसरी अंकुरण हुँदो रहेछ, त्यसबाट कसरी बेर्ना र बिरुवा हुँदो रहेछ, त्यसमा कसरी कोपिला लाग्दो रहेछ, अनि फूल फल्दो रहेछ भनेर अवलोकन गराउने हो भने बालबालिकाले वनस्पतिको जीवनचक्र सजिलै बुझ्न सक्थे। सिकाइका क्रममा जिज्ञासा वा आफ्ना कुरा शिक्षकसामु राख्थे। एक विद्यार्थीले शिक्षकले लेखेको अंग्रेजी शब्दको हिज्जे गलत हो भने। शिक्षकले उनलाई बढ्ता जान्ने हुन्छस् भन्दै हपारे। नपत्याए यहाँ हेर्नुस् भन्दै ती विद्यार्थीले मोबाइल देखाएछन्। तँलाई कक्षामा मोबाइल ल्याउँछस् भनी शिक्षकले फेरि गाली गरे। यो प्रसंग सुनाउँदै मनोविज्ञ डा. गंगा पाठक भन्छिन्, ‘मोबाइल कक्षामा लानुहुन्छ कि हुँदैन, त्यो अर्को विषय हो। तर गल्ती सच्याइदिएकोमा शिक्षकले धन्यवाद पो दिनुपर्ने हो। यसो गर्दा शिक्षकको इज्जत घट्दैन। बरु विद्यार्थी नजिकिन्छन्।’ 

भारतीय लेखिका सुधा मुर्थीले आफ्नो पुस्तक ‘हाउ आई टट माई ग्रयान्डमदर टु रिड’मा भनेकी छन्, ‘कहिलेकाहीँ विद्यार्थीहरू यति गाह्रो प्रश्न सोध्थे कि मलाई तत्काल जवाफ दिन गाह्रो हुन्थ्यो। त्यस्तो बेला म खोजेर, पढेर यसको जवाफ अर्को दिन दिन्छु भन्थेँ र दिन्थेँ।’ विद्यार्थीले कति बुझे भनी थाहा पाउन शिक्षकलाई सजिलो हुने हुँदा उनी कलेजमा आफ्नो कक्षाको केही समय प्रश्न–उत्तरका लागि छुट्याउँथिन्। 

विद्यार्थीले पाठभन्दा बाहिरको प्रश्न सोधेमा वा आफूले उत्तर दिन नसकेमा कति शिक्षक नचाहिने प्रश्न सोध्ने हो भनी रिसाउँछन्। यस्तै दुई–तीनपटक बताउँदा पनि पाठ बुझ्न नसक्ने विद्यार्थीले प्राय: गाली खानुपर्छ। यसरी प्रश्न सोध्न प्रेरित नगरिएपछि विद्यार्थी कक्षामा डराएर, खुम्चिएर बस्छन्। यसले गर्दा पनि कक्षा प्रवचन कक्षजस्तो हुन पुग्छ र पढाइ–सिकाइ कण्ठ गर्नेमा सीमित हुन पुग्छ। यस्तो सिकाइ व्यवहारमा प्रयोग गर्न सकिँदैन। शैक्षिक गुणस्तर परीक्षण केन्द्रका डा. लेखनाथ पौडेल सिकाइलाई व्यवहार र जीवनसँग जोड्न नसक्दाको परिणाम यसरी बताउँछन्, ‘लम्बाइ ४ मिटर र चौडाइ ३ मिटर भनी एरिया निकाल भन्यो भने विद्यार्थी फर्मुला प्रयोग गर्न सक्छन्। तर त्यही फर्मुला प्रयोग गरेर कक्षाकोठाको टेबल वा डेस्कको एरिया निकाल्न जान्दैनन्।’ 

अर्थपूर्ण सिकाइ त्यतिखेर हुन्छ, जब बालबालिकाले आफ्नो परिवेशमा अनौपचारिक तरिकाले सिकेको पूर्वज्ञानलाई औपचारिक सिकाइमा जोड्न सक्छन्। दाङको पद्मोदय माध्यमिक विद्यालयका गणित शिक्षक लोकबहादुर बस्नेतका अनुसार ४/५ कक्षाका विद्यार्थीलाई क्षेत्रफल निकाल्न सिकाउनुछ भने पाठमा छिर्नुअघि उनीहरूको अनुभवबारे कुराकानी गर्नुपर्छ। जस्तो, कसैले डन्डिबियो खेल्ने क्रममा बित्ताले वा हातले ठाउँ नापेको हुनसक्छ। यसरी कुरा गर्दै गएपछि डेस्कको एक छेउदेखि अर्को छेउ कसरी नाप्ने होला भनी सोध्यो भने कसैले यति बित्ता भन्छन्। कसैले अरु केही भन्छन्। विद्यालयमा गणित प्रयोगशाला नै बनाएर गणित सिकाउने गरेका शिक्षक बस्नेत भन्छन्, ‘यसरी कन्सेप्ट बुझाएपछि मात्र किताबमा भएको सूत्र अर्थात एरिया (क्षेत्रफल) बराबर लम्बाइ र चौडाइको गुणनफल भनेर विद्यार्थीलाई सिकाउनुपर्छ। यसपछि उसले आफ्नो डेस्क, बेन्च, कक्षाकोठा र अन्य क्षेत्रको क्षेत्रफल निकाल्न सक्छ।’

सिधै पाठमा प्रवेश गर्नु अर्थात कोरा लेक्चरमा मात्र कक्षा टुंग्याउनु एक किसिमले विद्यार्थीलाई घोक्न बाध्य पार्नु हो। बालबालिकालाई उनीहरूको पूर्वज्ञानको आधारमा अवलोकन, प्रश्न–उत्तर तथा छलफल, सोधखोज गरेर तयार गर्ने परियोजना कार्यजस्ता फरक–फरक विधि प्रयोग गरेर सिकाएमा सिकाइ उपयोगी र रुचिकर हुन्छ। यसो गर्दा उनीहरू उत्साहित भएर सिकाइ प्रक्रियामा सक्रिय हुन्छन्। कुनै पनि विषय–वस्तुबारे खोज्ने, फरक तरिकाले सोच्ने, लेख्ने, तर्क गर्ने, खोजेका कुरालाई अरुसामु प्रस्तुत गर्ने, एकअर्काका कुरा सुन्ने र छलफल गर्ने सीप सिक्छन्, जुन उनीहरूलाई जीवनभर काम लाग्छन्। यस्ता सीप किताब रटाएर सुगा रटाइ शैलीमा विद्यार्थीले सिक्न सक्दैनन्।

प्रकाशित : श्रावण ११, २०७४ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?