मेरो काठमाडौंको पीडा

मल्ल के. सुन्दर

काठमाडौं अर्थात काठमाडौं उपत्यका– कुनै बेला नेपाल खाल्डोको रूपमा पहिचान बनाएको थियो, यसले । लिच्छवि कालदेखि मल्ल कालसम्म यसै उपत्यका केन्द्रित प्रशासनिक तथा राजनीतिक इकाइलाई नेपाल मण्डल भनी चिनिन्थ्यो ।

मुलुकको राजधानी सहर सहितको यस उपत्यका भित्रका महानगर, उपमहानगर तथा नगरपालिकाहरूको स्थानीय तहको चुनाव सम्पन्न भइसकेको छ । चुनावको क्रममा उम्मेदवारहरूले यस सहरमा मेट्रो रेल, मोनो रेलदेखि सडकहरूमा फ्लाइओभर निर्माणका वाचा कबुल गर्न भ्याए । कुनै–कुनै राजनीतिक दलले त आउँदो पाँच वर्षभित्र वार्षिक प्रतिव्यक्ति आय पाँच हजारसम्म पुर्‍याउने सपना बाँडे । चुनावी पूर्वसन्ध्या राजनीतिक दलहरूको यस्तै नौरंगी घोषणापत्रको सार्वजनिकीकरणबाट क्षणिक रूपमै भए पनि मनोरञ्जनात्मक बनेको थिए ।

अहिले प्रदेश नं. ३ अन्तर्गतका सम्पूर्ण स्थानीय तहमा जनप्रतिनिधि चयनको काम सकिसकेको छ । यसै क्रममा आ–आफ्नो पदीय सपथ ग्रहणको लगत्तै काठमाडौं महानगरपालिकाका मेयर लगायत अन्य उपमहानगरपालिका र नगरपालिकाका निर्वाचित नेतृत्वलेआफ्नो कार्यकालको शुभारम्भको रूपमा गरिने केही महत्त्वपूर्ण अभियानको सार्वजनिक घोषणा गरिसकेका छन् । आशा गरौं, चुनावी क्रममा मतदातासमक्ष गरिएका वाचा अनुसारका काम र हाल सुरु गर्न लागिएका अभियान आशातित लक्ष्यतिर उन्मुख हुनेछन् ।

विदितै छन्, प्राय: सबैजसो उम्मेदवार तथा तिनसँग सम्बन्धित दलहरूको प्रमुख जोड सहरको धुवाँ, धुलोको सही व्यवस्थापन । सडक–बजार फोहोरबाट उन्मुक्ति । भत्केका, बिग्रेका सडकको मर्मत–सम्भार । साँघुरो सडकको विस्तार । ट्राफिक जामको समस्याबाट मुक्ति । पार्किङ कम्पलेक्सको निर्माण । खानेपानी वितरण र ढलको समस्या समाधान आदि छन् । अर्थात सहर सुन्दर, आकर्षक, व्यवस्थित तथा प्रदूषणमुक्त बनाइनेछ । सभ्य, स्वस्थ र बस्नलायक हुनेछ । साथै आधुनिकीकरणको क्रममा मेट्रो रेल, मोनो रेलदेखि मेगा सिटी तथा स्मार्ट सिटीका सपना पनि यसै क्रममा बाँड्ने काम भएको छ । नवनिर्वाचित जनप्रतिनिधिहरूको नौलो जोश र कल्पनाशीलताको प्रतिविम्बका रूपमा बुझौं यसलाई पनि ।

स्थानीय तहका हाम्रा निर्वाचित प्रतिनिधिहरूको यावत सोच, कल्पना तथा लक्ष्य कार्यान्वयन भएमा उपत्यकाभित्र विकासका लहरका रूपमा अग्ला तथा लामा फ्लाइओभर, ओभरहेड ब्रिजसहित फराकिला सडक, अग्ला पार्किङ स्लट, सुरुङ मार्गबाट गुड्ने रेल र सडक माथिबाट ओहोर–दोहोर गर्ने मोनो रेल हुनेछन् । अग्ला–अग्ला अपार्टमेन्टले बढ्दो जनसंख्याको लागि आवासको व्यवस्था गरिनेछ । थुप्रै आकर्षक भौतिक संरचनाहरूको निर्माणक्रम सुरु हुनेछन्, अबबाट । कल्पना अनुसार काठमाडौं खाल्डो आधुनिक सुविधायुक्त स्मार्ट सिटी बन्छ होला ।

काठमाडौं उपत्यका जहाँ सात/सातवटा विश्व सांस्कृतिक सम्पदा क्षेत्र आरक्षित छन् । अव्यस्थित सहरी विस्तार तथा आधुनिकीकरणका नाममा हुने गरेका मानवीय तथा भौतिक अतिक्रमणका कारण कतिपय ती सम्पदाहरू विश्व सम्पदा सूचीबाट हट्न सक्ने चेतावनी युनेस्कोबाट निरन्तर प्राप्त भइरहेको छ । २०७२ को महाभूकम्पले पुर्‍याएको क्षतिका कारण यसमा अर्को संकट थपेको छ । वास्तुकला, संस्कृति, सम्पदाका कारण अन्तर्राष्ट्रिय स्तरमै चर्चित काठमाडौं उपत्यका जसको विशेषता र पहिचान भन्नु नै सम्पदा–संस्कृति हो । यी विश्वका लागि आकर्षक र हाम्रालागि गर्व गर्नलायक धरोहरहरू हुन् । तसर्थ प्रश्न हो, हजारौं वर्ष पुरानो काठमाडौं उपत्यकाका यस विशिष्ट महत्ता र पहिचानलाई अझ बढी संरक्षित, सुरक्षित तथा समृद्ध तुल्याएर काठमाडौं उपत्यकाको व्यवस्थापन गर्ने हो वा विकास तथा आधुनिकीकरणको नाममा कंक्रिट र सिमेन्टका अग्ला तथा भद्दा संरचनाहरूको अर्को जङ्गलको विस्तार गर्ने ? आजको आवश्यकता के हुन् ? यद्यपि यसको अर्थ हामी आधुनिकीकरणबाट विमुख हौं भन्ने किञ्चित होइन ।

संस्कृतिविद् र वातावरणका ज्ञाताहरू भन्ने गर्छन्, काठमाडौंले आजसम्म भोग्दै आएको पीडा भन्नु नै आधुनिकता, विकास तथा सहरी विस्तारका नाममा विगत ६ दशकदेखि यहाँका सांस्कृतिक सम्पदा, प्राकृतिक स्रोतसाधन र भूमिमाथि भइरहेको अनियन्त्रित अतिक्रमण हुन् । सार्वजनिक ठाउँ, खुल्ला चउर, छावनी, चरन क्षेत्रमाथि सेना, प्रहरी लगायत सरकारी निकायबाट भइरहेको अतिक्रमण । सुकुमवासीका नाममा खोला किनारमा बस्ती विस्तार । खेतीयोग्य हरियाली भूमिमाथि अव्यवस्थित आवास खडा गर्ने होडबाजी । पोखरी तथा ढुङ्गेधारा मास्ने तथा त्यसमाथि भौतिक संरचनाको निर्माण आदि यसका दृष्टान्तहरू हुन् ।

पोखरीहरू सुके, परम्परागत ढुङ्गेधाराका मूल थुनिए । उपत्यकाको सांस्कृतिक जीवनका आधार वागमती र विष्णुमती लगायत अन्य नदीहरूको स्थिति विजोगपूर्ण भए । पिउने पानीसम्मको जोहो गर्न नसक्ने भए । स्वच्छ हावाका लागि खुल्ला स्थानहरू रहेन । धुलो, धुवाँ र फोहोरका साथै मानिसको भिडको बस्तीका रूपमा परिणत भए, उपत्यका । त्यही उपत्यका जसलाई देखेर आदिकवि भानुभक्तले अलकापुरीको संज्ञा दिए । यसको प्राकृतिक सौन्दर्य, वातावरणीय स्वच्छता र मन्दिर, गुम्बा, स्तुप आदि आराध्यस्थलहरूका कारण उपत्यका देवभूमि भनेर चिनिन्थ्यो, हिजो । तर अहिले त्यसो रहेन । निर्वाचित जनप्रतिनिधिहरूमा यसको पीडाबोध भएकै होला ।

तर विडम्बना ! यी विसंगतिबाट पीडित उपत्यकालाई नै लक्षित गर्दै राज्यसत्ता अति अविवेकीपूर्ण रूपबाट प्रस्ताव गरिरहेको छ, नयाँ चारवटा स्याटेलाइट सिटी निर्माण परियोजना । सरकारी र निजी स्रोतबाट करिब ६ खर्ब ५ अर्ब रुपैयाँ यसका लागि लगानी गरिनेछ । हालको खेतीयोग्य तथा हरियाली खुल्ला रहेका झन्डै डेढ लाख रोपनी जग्गा यसका लागि अधिग्रहण गरिनेछ ।

चार स्याटेलाइट सिटीमध्ये सबभन्दा ठूलो भक्तपुरको तेलकोटमा अनि सूर्यविनायक तथा ललितपुरको सैंबु तथा काठमाडौंको तार्केश्वर र टोखा नगरपालिका भित्रको क्षेत्र समेटिनेछन् । उपत्यका विकास प्राधिकरण यसका लागि अगाडि सारिएको छ । परियोजनाका अनुसार यसले डेढ लाख घडेरीको विकास गर्नेछ । अर्थात सांँगुरिएको उपत्यकाको आकाशलाई थप भौतिक संरचनाहरूको भिडले अझ थप संकुचनमा पारिनेछ । साथै १३ लाख नयाँ जनसंख्या थपिनेछ । मुलुककै सबभन्दा चर्को जनघनत्वको भार खेप्दै आइरहेको उपत्यका जहाँ वर्तमान अवस्थामै प्रतिवर्ग किलोमिटर लगभग ३ हजारको जनघनत्व कायम छ । स्पष्टत: नयाँ स्याटेलाइट सहरको निर्माणपश्चात यो समस्या अझ विकराल बन्नेछ ।

उपत्यकाभित्र प्रदूषित वातावरण, चर्को ट्राफिक जाम, धुलो, धुवाँ र फोहोर व्यस्थापन । ढल निकासको अभाव, खानेपानीका लागि काकाकुल सहर अनि अव्यवस्थित बस्तीहरूको विस्तार जसलाई समस्याका रूपमा बुझिरहेका छौं, हाम्रा जनप्रतिनिधिहरूले पनि सोही अनुरुप आफ्ना योजनाको चर्चा गरिरहेका छन् । वास्तवमा अहिलेको पीडा यही नै हो ।

राज्यसत्ता, राजनीतिक दल अनि जनप्रतिनिधिहरूले हालसम्म जसरी काठमाडौं उपत्यकाको समस्याको रूपमा उपरोक्त सन्दर्भहरूको चर्चा गरिरहेका छन्, यथार्थत: ती सब समस्या होइनन्, असरहरू मात्र हुन् । समस्याको मूल जरो होइनन्, यी । सबैलाई चेतना हुनुपर्छ, उपत्यका जहाँको भूमि, प्राकृतिक स्रोतसाधन सीमित छन् । यसले धान्न सक्ने क्षमताको निश्चित सीमा छ ।

तर निर्दलीय पञ्चायती व्यवस्थासँगै आरम्भ भएको महेन्द्रपथीय राष्ट्रवादले सुनियोजित तरिकाले अगाडि ल्याएको एकल जातीय सम्मिलीकरणको अभियान तथा त्यसको कार्यान्वयनस्वरुप सुरु भएको आन्तरिक आप्रवासन । इस्वीको साठीको दशकपश्चात आरम्भ भएको यस लहरको पहिलो तारो काठमाडौं उपत्यका बन्यो । प्रतिवर्ष जनसंख्या वृद्धिदर पाँच प्रतिशत नाघ्यो । यसमा आन्तरिक आप्रवासन नै मूल कारक रह्यो । अन्यथा राष्ट्रिय जनसंख्या वृद्धिदर १.४ भन्दा बढी छैन । अचाक्लिएको यस जनसंख्या वृद्धिको क्रमले सन् २०११ को जनगणनासम्म उपत्यकाको जनसंख्या २५ लाखभन्दा उँभो पुग्यो । यद्यपि यो गणकहरूले स्थलगत रूपमा सूचीकृत गर्न भ्याएको औपचारिक संख्या मात्र हो ।

विज्ञहरूको अनुमान छ, हाल काठमाडौंमा अस्थायी बसोबास गर्नेहरूको संख्यासहित जनसंख्या ५० लाख नाघ्छ । वास्तविक समस्या र पीडा भन्नु नै उपत्यकाभित्र जारी रहेको अनियन्त्रित आन्तरिक आप्रवासन हो । खानेपानीको अभावदेखि ट्राफिक जाम अनियन्त्रित रूपमा वृद्धि भइरहेको आप्रवासन समस्याबाट सिर्जित तात्कालिक असरहरू मात्र हुन् । अव्यवस्थित आवास निर्माण, खेतीयोग्य जमिनको ह्रास, धुलो, धुवाँ, फोहोर सबै यहाँको जनसंख्याको अत्यधिक चापका परिणति हुन् । यसको सही उपचार हो, आन्तरिक आप्रवासन माथिको नियन्त्रण । यसको कानुनी उपचार । सही भूउपयोग नीतिको कार्यान्वयन । आवास तथा बस्ती विकासका सम्बन्धमा उपत्यकाको क्षमता अनुरुप प्रभावकारी नियमन ।

दु:खद छ, एकातिर काठमाडौंले लामो समयदेखि भोगिरहेको यो पीडा रहेको छ, अर्कोतिर हाम्रा योजनाकार, नीति निर्माता, राजनीतिज्ञ, जनप्रतिनिधिहरू समस्याका यी मूल स्रोतबारे पटक्कै जानकार देखिन्नन् । रुखको फेद खोज्नमा होइन, झरेका पात गन्नमा ब्यस्त छन् ।

प्रकाशित : जेष्ठ २७, २०७४ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

श्यामश्वेत दाह्री–जुङ्गा

विमल निभा

म कुनै सिनेकलाकार होइन । तथापि यस्तैहरूका एक ‘ग्लेमरस’ जमघटमा म पुगेको थिएँ । नेपाली चलचित्र जगतका हिरो–हिरोइनहरूसँगको सुस्वादु डिनर थियो । म मेरो एक ‘स्क्रिप्ट–राइटर’ मित्रका साथ थिएँ ।

त्यहाँ एक चालु हास्य कलाकारले मतिर हेरेर भने, ‘निभाजी, तपाईंले आफ्नो अनुहारमा यो दाह्री–जुङ्गा किन राख्नुभएको हो ?’

‘मैले राखेको होइन ।’ मेरो सहज उत्तर थियो, ‘यो आफै आएको हो ।’

‘तपाईंको यो सेतो–कालो दाह्री–जुङ्गा अमिताभ बच्चनको नक्कल हो ।’ उनको स्वर चर्को भयो, ‘तपाईंले अमिताभको पुरै सिको गर्नुभएको हो ।’

त्यसपछि मैले केही भनिन । किनभने मसँग संवादरत हास्य कलाकारको शिरमा ब्लेक लेभल ह्विस्की मजैले सवार भइसकेको थियो । आज झन्डै चार वर्षपछि सो कुराको मलाई यसरी किन स्मरण भइरहेको हो हँ ? जबकि वर्तमान अवस्था विलकुलै दाह्री–जुङ्गा अनुकूल रहेको छैन । हो, म तात्तातो राजनीतिको कुरो गरिरहेको छु । अहिले यही विषयमा कलम चलाउनुपर्ने होइन र ? भर्खरै नयाँ प्रधानमन्त्रीको फटाफटी चयन भयो । र नेपाली कांग्रेस पार्टीका सभापति शेरबहादुर देउवा चौथो पटकका प्रधानमन्त्री भएका छन् ।

आजको अखबार हेर्नोस्, त्यहाँ सद्य: प्रधानमन्त्री देउवाको फुल साइजको तस्वीर छापिएको छ । क्या सफा, चिल्लो र दाह्री–जुङ्जाविहीन अनुहार ! त्यसो भए, यो अप्रासङ्गिक दाह्री–जुङ्गाको बखान किन त ? वस्तुत: यही ठोस ‘अनमेल’ले नै मलाई केही लेख्न हुटहुट्याएको हो । यो सहीमा नेता र जनता बीचको मामला हो । र दाह्री–जुङ्गा त प्रसङ्गवश आएको हो । अँ त म एकपटक फेरि ताजाताजी प्रधानमन्त्रीको छापावाल मुखमण्डलमा हेर्छु । अहो, अढाई इन्ची मुस्कानसहितको दुई मोटा–मोटा ओठ तलमाथि जुङ्गा–दाह्रीको कुनै नामोनिसान छैन । कुनै बखत रहेको भए पनि हामीलाई के थाहा हुनसक्छ ? यो त कांग्रेसी इतिहास निरन्तर ‘फलो’ गरिरहनेहरूका निजी विषय हो । म के जानुँ ?

मलाई त यो देशको दाह्री–जुङ्गा नभएको ‘क्लिनसेभ्ड’ प्रधानमन्त्री शेरबहादुर देउवाबारे मात्र थाहा छ । यसलाई (अखबारको फोटो) हेर्दाहेर्दै एकाएक मअघि निवर्तमान प्रधानमन्त्री कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’को टम्म मिलेको ओठमाथिको बाक्लो जुङ्गा आयो । जनयुद्धकालीन झ्वाम्म दाह्री त उहिल्यै हटिसकेको हो । र मेरो आत्मीय उम्मेद के छ भने जुङ्गा अहिलेसम्म यथास्थानमै होला । कुनै बेलाको प्रमुख दुश्मन नेपाली कांग्रेस पार्टीसँगको ‘अन्तरंग सहमति’मा एकथान जुङ्गा भए पनि बचेकोमा मेरो बधाई ! यसलाई एक प्रकारको क्रान्तिकारी उपलब्धि नै मान्नुपर्छ । अर्थात् नेकपा माओवादी (केन्द्र) को केन्द्रीय प्राप्ति ।

के यही पहिलेको र अहिलेको प्रधानमन्त्रीद्वय कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवा बीचको बहुचर्चित ‘भद्र सहमति’ हो ? बल्ल नेपालको चलनचल्तीको ‘पोल्टिक्स’ कथित भद्रपनाको चुम्बकीय घेरामा आएको छ । यो भद्रताको अतिवाद नितान्त गोप्य प्रकारको रहेको थियो । अब सहसा बाहिरतिर आएर छताछुल्ल भएको छ । तर भद्रताको सम्पूर्ण कांग्रेसी मार्का ‘क्लाइमेक्स’ (नेकपा माओवादीको केन्द्रीय सहयोगमा) बेहोर्नु बाँकी नै छ । कृपया तम्तयार रहनोस् । 

मेरो सेतो–कालो दाह्री–जुङ्गाबारे केही वर्षअघि सोधिएको प्रश्नको जवाफ दिन आज म तत्पर भएको छु । कुन्नि, त्यस समयको प्रश्नकर्ता हास्य कलाकारको दृष्टिपथमा यो जानेछ अथवा जाने छैन ! अब जे भए पनि मेरो विनम्र प्रत्युत्तर हाजिर छ । वास्तवमा भारतीय सिनेमाका श्यामश्वेत दाह्री–जुङ्गावाल नायक अमिताभ बच्चनको नभएर म उनको बाउ (फादर) को नजिकमा जरुर छु । याद रहोस्, अमिताभ पिता हरिवंशराय बच्चन एक सुप्रसिद्ध हिन्दी भाषाका कवि हुन् । यद्यपि उनको कविताहरू मलाई त्यति मन पर्दैन ।

कवि हरिवंशराय बच्चनको सबभन्दा चलेको काव्यकृति हो– मधुशाला । यो पुराना रोमान्टिक कवि उमर खैय्यामको रुबाइहरूका भावनात्मक अनुवाद हो । याने नक्कल नै चाहिँ नभनु । जे होस्, असलमा म पनि एक कवि भएकोले हरिवंशराय बच्चनको ‘साइड’मा पो उभिएको छु त ! उनको छोरो अमिताभ बच्चनसँग मेरो के सरोकार हुनसक्छ ?

‘जब छरपस्ट अतिथि तारासरि 
शीत छरिएको चउरमा
पुग्छ्यौ तिमी ज्योतिचरणले 
मधु वितरण यात्रामा
सुन प्रिये, त्यही सिलसिलामा 
तब त्यहाँ तिमी एउटा
घोप्ट्याइदिनु प्याला खाली 
मेरो त्यो रङ्गभूमिमा ।’

(कवि वासु शशीद्वारा अनुदित उमर खैय्यामको रुबाई) 

प्रकाशित : जेष्ठ २७, २०७४ ०९:२३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×