कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेलम्चीको प्रतीक्षा

प्रभा बराल

काठमाडौँमा बसेर, राज्यलाई कर तिरेर, असल नागरिकको कर्तव्य निर्वाह गर्दा पनि धारामा खानेपानी पाउने कुरा मृगतृष्णा बनेको देख्दा काठमाडौँवासीमाथि निराशाको बादल मडारिएको वर्षौं भइसक्यो । नियमित महसुल नबुझाउने हो भने भारी जरिवाना हामीले नै तिर्नुपर्छ । यही जरिवानाबाट बच्न पानी आए नि, नआए नि धाराको लाइन जोडेकै कारण नियमित महसुल तिर्नैपर्‍यो ।

मेलम्चीको प्रतीक्षा

जरिवानाबाट बच्न एकमुष्ट वार्षिक रकम डिपोजिट गर्दै आइरहेकी थिएँ ।

पुन: त्यो प्रक्रिया दोहोर्‍याउन पानीको मिटरमा देखिएको अंक टिपेर खानेपानी संस्थान पानीपोखरी पुगेँ । तर मैले त्यहाँ बढी पानी प्रयोग गरेको भन्दै सत्र सय रुपैयाँ बढी तिर्नुपर्ने भनियो । न्यूनतम आठ हजार लिटर पानी मासिक रूपमा प्रयोग गर्ने उपभोक्ताको अधिकार भए पनि कति महिनादेखि धारामा पानी चुहिएको छैन भने कसरी बढी रकम उठयो ? म आश्चर्यचकित भएँ । ‘कसरी यत्रो रकम उठयो मेरो धारामा त पानी नै आउँदैन’ मैले आफू अगाडि उभिएकी कर्मचारीसँग गुनासो गरेँ । ‘खै कसरी उठयो तपाईंले नै ल्याएको मिटर अंक त्यसै भन्छ उनी एकाएक जंगिँदै बोलिन् ।

जनताको करबाट तलब–भत्ता खाने उनले जनतासँगै आक्रोशित बनेर जवाफ दिने उनको शैलीप्रति म निरीह नागरिक नै नरम बन्दै उनलाई सोधेँ, ‘हाम्रो क्षेत्रको मिटर रिडिङ गर्ने कर्मचारी को हुनुहुन्छ ? उहाँलाई बोलाइदिनुस् न ।’ यो कुरामा भने उनी तयार भइन् र पियनलाई बोलाएर मैले भनेको मान्छे झिकाउन लगाइन् । ‘विद्युत्को मिटरजस्तै खानेपानीको मिटर नियमित जाँच्न किन आउँदैनन् मेडम ? हाम्रै घरमा मिटर जाँच्न आउनेसँग हामीले हाम्रा गुनासा व्यक्त गर्न पाउँथ्यौं नि ?’ 

‘तपाईंहरूले आवाज उठाउनुपर्‍यो नि नियमित मिटर जाँच भएन भनेर । खोइ कोही कराउन आउनुहुन्न । ‘आजै हो तपार्इंले यसो भनेको सुनेँ ।’ उनका कुरा सनेर मनमनै रिस उठे पनि केही बोल्न सकिनँ । चुपचाप मेरा आँखा बाहिरतिर सोझिए, जनताको घरघरमा पानी पुर्‍याउने जिम्मा लिएका कर्मचारीहरू घाममा बसेर गफ हाँकिरहेका थिए । कामै नगरी पनि तलब पाइने कर्मचारीतन्त्र देखेर सुस्केरा काढ्नुबाहेक मसँग अर्को केही उपाय थिएन । 

‘बोलाउनु भा हो दिदी † भन्दै मिटर रिडिङ गर्ने कर्मचारी आइपुगे । ‘उहाँले भेट्न खोज्नभा’छ ?’ मतिर औंला सोझाउँदै उनी बोलिन् । ‘हेर्नुस् दाइ म फलानो एरियाकी मान्छे, मेरो घरमा पानी नआएको नौ महिना भइसक्यो । यहाँ त बढी पानी प्रयोग गर्‍यो भनेर सत्र सय रुपैयाँ बढी उठेको छ । के हो यो यहाँले राम्ररी हेरिदिनुपर्‍यो ।’ कागज देखाउँदे मैले भनेँ । ‘तपाईंले पानी तान्दा मोटर लगाउनुहुन्छ होला, पानी नै नआए पनि हावाले मिटर घुमाउँछ । त्यसैले मिटर घुम्यो, बढी अंक देखियो ।’ ‘उसो भए मैले हावाले मिटर घुमाएको पैसा पनि तिर्नुपर्‍यो त ? घरमा सरकारी धारा जडान गरेर पनि महँगो टयाङ्करको पानी किन्नुपर्छ महिनापिच्छे फेरि यत्रो रकम कसरी तिर्ने मैले,’ कडीकडाउ साथ बोलेँ । 

‘भोलि म एघार बजे तपाईंको घर आइपुग्छु । घरको नक्सा दिनुस् ।’ उनी बोले । ‘हुन्छ भोलि एकपल्ट मिटर जाँच गर्नुस् अनि महसुल तिर्ने कुराको निधो गरौंला,’ मैले घरको नक्सा दिंदै भनेँ । भोलिपल्ट दुई तीन पटक फोन गरेर उनलाई सम्झाएपछि मात्र उनी मेरो घरमा आइपुगे र मिटर हेरे । ‘यसमा टिपेको अंक त तपाईंले हेरेजस्तै ठीक छ । यो लाइनमा पानी नै आउँदैन । मलाई थाहा छ म न्यूनतम शूल्क नै बनाइदिन्छु, भोलि कार्यालयमा आउनुस् ।’ 

पानी आउला कि भन्ने आसमा मोटर लगाउँदा विद्युत्को बिल बढेर नागरिकलाई पर्ने एउटा आर्थिक भार त छँदै छ, हिजो एकै पटक गएर बन्ने काम फेरि भोलिपल्ट पनि जानुपर्दाको समय सम्झेर सारै विरक्त लाग्यो । ‘हैन दाइ पानी नै नआउने भएपछि खानेपानी संस्थानले किन नयाँ धारा जडान गर्ने अनुमति दिन्छ त ?’ मैले असन्तुष्टि पोखेँ । ‘त्यो त महानगरपालिकाले घर बनाउन अनुमति दिएपछि हामीले पानीको लाइन त दिनैपर्छ नि । महानगरपालिकाले घर बनाउने अनुमति नदेओस् न हामी पनि दिँदैनौं,’ उनले बाउँटिदै उत्तर दिए ।

सडक चौडा गर्ने नाममा कति वर्षसम्म सडक धुलाम्मे भए । जनताको जीवनस्तर कष्टकर बन्यो । बल्ल–बल्ल सडक पिच बन्यो फेरि मेलम्चीको पानी ल्याउने भनेर अर्बौ खर्च गरेर बनाइएको सडक खनियो र पाइप बिछयाइयो । चौबीस वर्ष अघिदेखि मेलम्चीको पानी काठमाडौँ आउँदै छ भन्ने कुरामा कोही बेखबर थिए र ? सडक भत्काइएको बेलामा नै पाइप बिछयाउन सकिँदैन्थ्यो ? आमनेपालीको ओठमा यो प्रश्न झुन्डिएको छ अचेल । 

काठमाडौँका मुख्य सडक धूवाँ र धूलोले कुइरीमन्डल छन् आजभोलि । नेताहरू गाडीको सिसा लगाएर चिल्लो गाडीमा दौडिन्छन् तर जनताको स्वास्थ्य र कष्टकर दैनिकीप्रति बेखबरजस्तै लाग्छन् उनीहरू । जनतालाई सामान्य सुविधासमेत दिन पछि पर्ने यस्ता नेताबाट हामीले कस्तो आशा राख्ने ? अस्तिजस्तो मात्र लाग्छ स्वर्गीय प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले अबको पाँच वर्षभित्र मेलम्चीको पानी काठमाडौँ ल्याएर यहाँका धुलाम्मे सडक सफा पार्छु भनेको तर आज चौबीस वर्षमा १६ वटा प्रधानमन्त्री फेरिइसके । भ्रष्टाचार, निजी स्वार्थ, ढिलासुस्ती र लाचारी व्यवस्थापनले मेलम्ची आयोजनाको लागत रकम २३ अर्ब नाघिसकेको छ र पनि पूर्णता पाउन सकेको छैन । २०७३ वैशाख १ गते जनतालाई मेलम्चीको पानी वितरण गरी नयाँ वर्षको उपहार प्रदान गर्ने भनिए पनि २०७४ साल लाग्ने बेला भइसक्दा पनि पाइप बिछयाउने कामले पूर्णता पाउन सकेको छैन ।


धेरै रकम खर्च गरेर दैनिक सत्र करोड लिटर भित्रिन लागेको मेलम्चीको पानी विगतमा विद्युत् चोरीजस्तै ठूलाबडाहरूको आँगनमा मात्रै रेलोखेलो नबनोस् । कुनै पनि कुरा निर्माण गर्नुभन्दा पनि त्यसलाई जोगाउन ठूलो कुरा हो । तसर्थ दैनिक पाँच करोड लिटर चुहावट हुने पानीको पनि यथाशक्य नियन्त्रण गर्ने प्रयास होस् । बिजुली भईकन पनि वर्षौंवर्ष अँध्यारोमा बस्न बाध्य जनतालाई खानेपानी दिलाउन अर्को कुलमानको खोजी गर्न नपरोस् । चक्रपथभित्र मात्र वितरण गरिने मेलम्चीको पानी चक्रपथबाहिर बसोबास गर्ने नागरिकका लागि पनि समानुपातिक रूपमा वितरण गर्ने प्रावधान मिलाइयोस् । 

प्रकाशित : फाल्गुन १७, २०७३ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?