कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

बुढीगण्डकी आयोजना नेपाली लगानीमै बनाउनुपर्छ : महामन्त्री शर्मा

काठमाडौँ — कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बुढीगण्डकी जलविद्युत आयोजना नेपाली लगानीमा निर्माण गर्नुपर्ने बताएका छन् । स्वदेश तथा विदेशमा रहेका नेपालीहरूको लगानीमा सो आयोजना सम्पन्न गर्ने काम सरकारले गर्नुपर्ने उनले बताए । 

बुढीगण्डकी आयोजना नेपाली लगानीमै बनाउनुपर्छ : महामन्त्री शर्मा

प्रतिनिधिसभाको आइतबारको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र अर्थ मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै महामन्त्री शर्माले 'मेरो सहभागितामा नेपाल बन्दैछ' भन्ने सन्देश दिन पनि नेपाल भित्र र बाहिर रहेका नेपालीहरूको लगानीमा सो आयोजना सम्पन्न गर्न उपयुक्त हुने धारणा राखेका थिए ।

नेपाल बन्नसक्छ र यो उज्यालो दिशातर्फ अगाडि बढ्दैछ भन्ने सन्देश दिन पनि सरकारले १२ सय मेघावाट क्षमताको सो आयोजनाको निर्माण कार्यमा ढिलाई गर्न नहुने शर्माले बताए ।

‘बुढिगण्डकी परियोजना निर्माण गर्ने सन्दर्भमा हामीले कदम चाल्दै गर्दा सत्ता, प्रतिपक्ष हामी सबै एक छौं । सबै आग्रह पूर्वाग्रहभन्दा माथि उठेर स्वदेश र विदेशमा भएका समस्त नेपालीलाई गाँसी राखेर यो परियोजना निर्माण गरेर नेपाल बन्नसक्छ, बन्दै छ र मेरो सहभागितामा बन्दैछ, नेपाल बन्ने एउटा उज्यालो दिशातिर जाँदैछ भन्ने सन्देश दिनका लागि सरकार सफल बन्नुपर्छ,' शर्माले भने, 'हामी माझ चर्चामा रहेको परियोजना हो बुढिगण्डकी । अघिल्ला बजेटहरूमा पनि हामी बुढी गण्डकी बनाउने लेख्दै आयौं । बनाउने त बनाउने तर, कुन पैसाले बनाउने ? एउटा विकल्पको रुपमा हामीले सोच्यौं कि विदेशीको पैसाले बनाउने । केवल विद्युत उत्पादन मात्रै हो भने त विदेशीलाई दिँदा केही फरक पर्दैन तर यो बहुउद्देश्यीय परियोजना हो । पहिलो त १२ सय मेघावाट विद्युतको कुरा छ । दोस्रो, हजारौं हेक्टरमा सिंचाई र तेस्रो, लाखौंले पीउने पानी । चौंथो, पर्यटन । सहायक प्रोजेक्टको रुपमा माछा पालन । विदेशी कम्पनीलाई नदिने हो भने अर्को विकल्प विदेशबाट ऋण लिने ।'

विदेशी ऋण लिने विषयमा सोच्न सकिने महामन्त्री शर्माको भनाइ थियो । सहुलियत ऋण मिलेमा लिन सकिने उनको भनाइ थियो । 'तर कतिपय देश ऋणको पासोमा परिरहेको हामीले देखेका छौं । हामीले ऋणले बनाएका पोखरा र भैरहवाको एयरपोर्टले हामीलाई झस्काएका छन् । अर्को विकल्प उसो भए हामी आफैँ बनाउने । अलि अघिल्लो सरकारले निर्णय गर्‍यो–गर्‍यो आयोजना आफ्नै लगानीमा बनाउने । हामी सत्ता, प्रतिपक्ष सबै दल त्यसमा सहमत छौ,' उनले भने ।

प्रकाशित : असार २, २०८१ १४:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बहालवाला मुख्यसचिवमाथि नै भ्रष्टाचार मुद्दा दायर भएको छ । यसबारे तपाईं के भन्नुहुन्छ ?

x