कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

गोरखाको साम्दोमा सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोस्ट’ स्थापना

रासस

काठमाडौँ — मुलुकको सीमा रक्षाको प्रमुख जिम्मेवार बोकेको सशस्त्र प्रहरी बल नेपालले चीनको सीमातर्फ गोरखाको साम्दोमा बोर्डर आउट पोस्ट (बिओपी)को स्थापना गरेको छ ।

गोरखाको साम्दोमा सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोस्ट’ स्थापना

सशस्त्र प्रहरी नं २९ गुल्म गोरखाको मातहत रहने गरी चुमनुब्री गाउँपालिका–१ स्थित साम्दोमा आइतबार बिओपी स्थापना गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

उक्त बिओपी गोरखा सदरमुकामबाट करिब एक सय ६४ किलोमिटर उत्तरतर्फ रहेको छ । समुद्री सतहतबाट करिब तीन हजार आठ सय ७५ मिटरको उचाइमा स्थापना भएको बिओपीबाट करिब १५ किलोमिटर नजिक चीनसँगको सिमानामा रुइला नाका रहेको छ ।

नेपाल र चीन सीमा इलाकामा स्थापना गरिएको बिओपीले विपद्जन्य घटना, हिमपात, हिमपहिरोमा परेका नागरिकको उद्धार, अवैध चोरी निकासी तथा पैठारी नियन्त्रण, सीमावर्ती क्षेत्रमा हुने आपराधिक तथा अवाञ्छित क्रियाकलाप न्यूनीकरण, नियमित सीमास्तम्भ तथा सीमा इलाकाको निगरानीलगायत कार्य गर्ने सशस्त्र प्रहरीले जनाएको छ ।

यसअघि सशस्त्र प्रहरीले चीनतर्फ दार्चुलाको तिंकर, हुम्लाको हिल्सा, मुस्ताङको नेचुङ, रसुवाको टिमुरे, सिन्धुपाल्चोकको तातोपानी र गुम्बा, दोलाखाको लामाबगर, संखुवासभाको किमाथाङ्का, ताप्लेजुङको ओलाङचुंगोलासहित नौ स्थानमा बिओपी स्थापना गरिसकेको छ ।

सशस्त्र प्रहरीले भारतको सिमानातर्फ दुई सय ४४ र चीनको सिमानातर्फ १० गरी सीमा क्षेत्रमा कूल दुई सय ५४ बिओपीको स्थापना गरेको छ ।

प्रकाशित : जेष्ठ १४, २०८१ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×