कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

जुत्ता सिलाउने, चुरा र चिया बेच्नेको बचत अपचलन गरेर गोर्खा मिडियामा अध्यक्ष र एमडी

सूर्यदर्शन सहकारीबाट १८ हजार ७ सय बचतकर्ताको करिब डेढ अर्ब रकम हिनामिना भएको पोखरा महानगरको छानबिन समितिको निष्कर्ष
दीपक परियार

पोखरा — डोको बोकेर गाउँ–गाउँ डुल्दै चुरा बेचेको दुई–चार पैसा सूर्यदर्शन सहकारीमा डुबेपछि पोखरा–१३ मियाँपाटनका ६५ वर्षीय हाजी अलि मोहम्मद तनावमा थिए । यहीबीच उनलाई मस्तिष्कघात भयो । शरीर नचल्ने मात्रै भएन, दुवै मृगौला पनि फेल भए । हाजीकी श्रीमती रमजानी निशाको दिनचर्या अचेल बिछ्यौनामा पल्टिरहने श्रीमान्को हेरविचारमा बित्छ ।

जुत्ता सिलाउने, चुरा र चिया बेच्नेको बचत अपचलन गरेर गोर्खा मिडियामा अध्यक्ष र एमडी

साउदी र कतारमा ७ वर्ष काम गर्दा हाजी अलिले केही रकम बचत गरेका थिए । पोखरा फर्किएर उनले टुँडिखेलमा कस्मेटिक पसल खोले । श्रीमती रमजानीले त्यसअघि नजिकका गाउँमा डोकोमा चुरापोते बेचेर कमाएको अलिअलि पैसा साथमा थियो । दुई वर्षअघि सूर्यदर्शनका कर्मचारी पसलमै पुगेर राम्रो ब्याज पाइने भन्दै खाता खोल्न लगाए ।

हाजीले विदेशबाट ल्याएको बचतसमेत जोडेर पहिलोपटक २० लाख र अर्कोपटक १० लाख गरी ३० लाख रुपैयाँ मुद्दतीमा राखे । ०७९ साउन/भदौदेखि सहकारीमा समस्या आएको गाइँगुइँ चलेपछि उनीहरू बचत फिर्ता माग्न सहकारीमा पुगे । सहकारीका कर्मचारीले मुद्दतीमा राखेको एक वर्ष नपुगेको भन्दै फर्काइदिए । ०७९ पुस २ मा रमजानी र हाजी आफ्नो बचत फिर्ता माग्न फेरि पुगे ।

बिछ्यौनामा पल्टिरहेका श्रीमान्‌‌सँगै रमजानी निशा । तस्बिरहरू : दीपक परियार/कान्तिपुर

सहकारीका कर्मचारीले रकम नभएको र सञ्चालक समिति पनि सम्पर्कमा नरहेको बताए । हाजी घर फर्किएर बेस्सरी रोए । रुदारुँदै घरभित्रै ढले । ‘हाम्रो बालबच्चा छैनन्, बूढाबूढी मात्रै छौं,’ रमजानीले भनिन्, ‘बुढेसकाललाई भनेर राखेको पैसा डुब्यो भन्ने पीरले उहाँ ढल्नुभयो ।’ उतिबेलै मणिपाल शिक्षण अस्पताल पुर्‍याउँदा चिकित्सकले मस्तिष्कघात भएको र त्यसैले दुवै मृगौला फेल हुने अवस्था निम्त्याएको बताए । रमजानीले १५ दिन श्रीमान्लाई आईसीयूमा राखेर घर ल्याइन् ।

हाजी बिरामी भएको जति भयो, पसल बन्द गरेको त्यति नै भयो । रमजानीले ऋण खोजेर श्रीमान्को उपचार गराइरहेकी छन् । एक वर्ष निजी अस्पतालमा डायलसिस गरेपछि बल्ल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पालो आएको छ । हाजी बिछ्यौनाबाट हलचल गर्न सक्दैनन् । बोल्न खोज्छन्, बुझिँदैन । रातभरि छट्पटाउँछन् । श्रीमान्को हेरविचार गर्नुपर्दा उनी घरबाहिर निस्कन पाएकी छैनन् ।‘पहिला अलिअलि बचत भएको पैसा घरमै राखिन्थ्यो, सहकारीमा सुरक्षित हुन्छ भनेर राखियो । अहिले त्यही सहकारीले यस्तो बनायो,’ उनले भनिन्, ‘पैसा डुबे पनि ज्यानलाई सञ्चो भए त दुःख, सुख गरेर खान सकिन्थ्यो, मान्छे नै यस्तो भएपछि के गरेर खाने ?’ सूर्यदर्शनले बचत हिनामिना गरेपछि श्रीमान्को मृगौला फेर्ने उपाय रमजानीसँग छैन । चिकित्सकले पक्षघात भएको बिरामीको मृगौला फेर्दा खर्च मात्रै हुने भएकाले बाचुञ्जेल डायलसिस गरेर राख्न सुझाएका छन् ।

‘छोराछोरी भएको भए पनि एउटा आधार हुन्थ्यो, मेरो कोही पनि छैन । रुनी पनि कति रुनी, रोईरोई आँसु सक्किइसक्यो,’ श्रीमान्को निधार सुम्सुम्याउँदै उनले भनिन्, ‘सूर्यदर्शनबाट पैसा आयो भने उपचार गर्न पाइएला, त्यो पनि भएन भने मर्ने शिवाय केही उपाय छैन । अरूसँग लिएको कर्जा तिरेर मर्न पाए हुन्थ्यो । अरू केही चाहिएको छैन ।’ सहकारीपीडितको समस्या सरकारले सुनेको नसुन्यै गरेको उनलाई चित्त बुझेको छैन । सहकारी ठगीमा सरकारमै भएका मान्छेको संलग्नताबारे त्यसै हल्ला नचलेको उनको बुझाइ छ । ‘भएरै भने होलान्, नभै निस्सै भनेनन् होला,’ उनी भन्छिन्, ‘केही नगरेको भए हल्ला नै आउने थिएन ।’

उनका बहिनी ज्वाइँ मुमताज अलि मियाँ सहकारी ठगीमा संलग्नलाई राज्यले नै संरक्षण गरेको देख्छन् । ‘पोखरा महानगरपालिकाको प्रतिवेदनमा गृहमन्त्री रवि लामिछानेको नाम आएको छ,’ उनी भन्छन्, ‘सरकार सञ्चालन गर्ने ठाउँमा स्वयं उहाँ नै भएपछि संसदीय छानबिन समिति कसरी बन्ला ?’ सरकारीपीडितलाई राहत दिनेभन्दा आफ्नो कुर्सी जोगाउने खेलमा गृहमन्त्री लागेको उनको आरोप छ ।

उदयपुरबाट ८ वर्षअघि श्रीमान्सँगै पोखरा आएकी विमला नेपाली बगर टुँडिखेलमा जुत्ता सिलाउँछिन् । मुटुको भल्भ फेरेका श्रीमान् दिलबहादुर उतिसारो काम गर्न सक्दैनन् । १० वर्षीया छोरी देवयानीको पनि मुटुमा प्वाल परेको छ । श्रीमान् र छोरीको उपचार गर्न सूर्यदर्शनमा दैनिक बचत गर्दै झन्डै १४ लाख रुपैयाँ पुर्‍याइन् । खाइनखाई जम्मा गरेको रकम सहकारीमा डुब्यो । ०७९ फागुन २५ मा अरू पीडितसँगै पोखरा महानगर पुगेर बिलौना पोख्दापोख्दै ढलेपछि उनलाई अस्पताल नै भर्ना गर्नुपरेको थियो ।

पसलमा परिवारसँग विमला नेपाली ।

‘श्रीमान्ले भारी काम गर्न सक्नुहुन्न । बेलाबेलामा छोरीको शरीर सुन्निन्छ । समयमै अस्पताल पुर्‍याउन सकेको छैन । ६ महिनादेखि घरभाडा खप्टिएको छ । दुई छोरीको फिस तिर्न सकेको छैन,’ एकैसासमा उनले पीडा सुनाइन्, ‘आफन्तको ऋण तिर्नु छ । कमाएको पैसा फसेको छ । म कहाँ जाउँ, के गरौं केही सोच्नै सकेको छैन ।’ डाक्टरले छोरीको शल्यक्रिया ११–१२ वर्षको उमेरभित्र गर्नुपर्ने बताएका छन् । अहिले पैसा नहुँदा फलोअपमै समयमा लैजान सकेकी छैनन् । पसलमा बसेर अरूको जुत्ता चप्पल सिलाउँदा उनी सोच्छिन्, ‘मिल्ने भए यही सियो धागोले छोरीको मुटु सिलाउँथे ।’

बुढ्यौलीलाई राखेको जग्गा बेचेर पोखरा सराङकोटका ७८ वर्षीय भीमप्रसाद चपाइँले २० लाख रुपैयाँ कृषि विकास बैंकमा बचत गरेका थिए । अलिकति भए पनि धेरै ब्याज पाउने आसमा उक्त रकम बैंकबाट झिकेर सूर्यदर्शन सहकारीमा जम्मा गरे । बचतकर्ताको रकम अपचलन गरी सञ्चालकको समूह नै फरार भएपछि अहिले उनी परिवारमै एक्लिएका छन् । ‘दुई छोरालाई अंश दिएर आफ्नो भागको जग्गा राखेको थिएँ । त्यही बेचेर सहकारीमा राखें, अहिले सानो झुप्रोमा बस्नुपरेको छ,’ उनले सुनाए । उनको जेठो छोरा बितिसकेका छन् । कान्छो छोरा भिन्दै बस्छन् । भएको सम्पत्ति सहकारीमा डुबेपछि कान्छो छोराले पनि हेर्दैनन् ।

सूर्यदर्शन बचतपीडित संघर्ष समितिले गर्ने आन्दोलनका कार्यक्रममा आउन उल्टै ऋण गरेर सराङकोट–पोखरा ओहोरदोहोर गरिरहेका छन् । ‘छोराछोरी सबै आफ्नो बाटो लागेपछि बुढेसकालमा जीवन निर्वाह गरौंला भनेर पैसा जम्मा गरेको थिएँ,’ खेतबारीमा काम गर्दागर्दै दुवै हातमा उठेका ठेला देखाउँदै उनले भने, ‘अहिले आफ्नै पैसा देउ भनेर आन्दोलन गर्दा धम्की आउँछ ।’ आन्दोलनमा नजान राजनीतिक पार्टीका कार्यकर्ताको धम्की आउने गरेको उनले सुनाए । पहिला सहकारी राम्रैसँग चले पनि ग्यालेक्सी टेलिभिजन सुरु भएपछि समस्यामा पर्न थालेको उनले बुझेका छन् । ‘सहकारी लुट्ने योजनामा ग्यालेक्सी टीभी खोलिएको रहेछ,’ उनले भने, ‘रवि लामिछाने गृहमन्त्रीमा आउनुको कारण पनि सहकारी ठगीको प्रमाण नष्ट गर्ने, अनुसन्धानलाई प्रभावित बनाउने र सरकारमा गएर शक्ति आर्जन गर्न रहेछ ।’

दाजुभाइलाई अंशबन्डा गर्दा भागमा परेको रकम सहकारीमा जम्मा गरेर पोखराका सुरज केसीको परिवार भाडामा बसेको छ । उनी मुटुरोगी हुन् भने आमा मधुमेह र उच्च रक्तचापकी रोगी । केसीको ‘ओपन हार्ट सर्जरी’ गरेर ‘प्रोस्थेटिक मेटालिक भल्भ’ जोडेको १४ वर्ष भयो । गाह्रो काम गर्न नसक्ने भएपछि औषधोपचार गरौंला, दुई छाक खाउँला भनेर जम्मा गरेको ६५ लाख रुपैयाँ सहकारीले हिनामिना गरेको सुनेपछि उनले अचेल सुर गुमाएका छन् ।

पोखरा–१८ लामागाउँमा जोडेको घरजग्गा ०७९ जेठमा बेचेर आमा मधुले आफ्ना दुई छोरा सुरज र विक्रमलाई भाग लगाइदिइन् । सुरजले ६५ लाख र विक्रमले ७० लाख रुपैयाँ सूर्यदर्शनमा जम्मा गरे । ब्याजबाट आउने पैसाले औषधिमुलो गरौंला भनेर उनले आफ्नो भागको ४ लाख रुपैयाँ पनि सूर्यदर्शनमै जम्मा गरिन् । साउन, भदौतिरबाट सहकारीमा समस्या आउन थाल्यो । न ब्याज जम्मा भयो, न चेक साटियो ।

सासू, श्रीमान्, एक छोरी र एक छोराको जिम्मा यतिबेला सुरजकी श्रीमती आशाको काँधमा छ । सहकारीबाट ब्याज आउन छाडेपछि उनले ऋणधन गरेर पोखरा–बागलुङ राजमार्ग छेउमा चिया पसल थापेकी छन् । ‘पसल गर्नुभन्दा पहिला २–४ लाख रुपैयाँ भए पनि देऊ न भनेर अनुनय गरें । केही गरेर खान्छु भनेर आफ्नै पैसा माग्न जाँदा पनि पाइएन,’ उनले भनिन्, ‘एक लाख रुपैयाँ ऋण गरें । पसलबाट कति नै कमाइ हुन्छ र, भाडा तिर्नुपर्‍यो, खानुपर्‍यो । पुग्दै पुग्दैन ।’

चिया पकाउँदै आशा केसी ।

निजी विद्यालयमा पढिरहेकी छोरीको शैक्षिक शुल्क तिर्न नसकेपछि यसै वर्षबाट सरकारी विद्यालयमा भर्ना गरेको उनले सुनाइन् । पसल र कोठाको महिनौंदेखि खप्टिएको भाडा, हातमुख जोर्न परेको मुस्किल सम्झेर दिक्दार मान्छिन् । ‘सहकारी यस्तो हुँदै छ भन्दिएको भए अन्तै राख्न हुन्थ्यो । बाँच्ने आधार त हुन्थ्यो । यो पैसा आएन भने हाम्रो जिन्दगी नै बर्बाद छ । मैले के गरौं ? परिवार हेरौं कि कमाउन जाऔं ?,’ उनी लाचार सुनिइन् ।

दीर्घरोगकै कारण पोखरा इन्जिनियरिङ कलेजमा इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ चौथो सेमेस्टरमा पढ्दापढ्दै सुरजले बीचमै छाड्नुपरेको थियो । मुटुको शल्यक्रिया गरेयता उनले ३–४ थरी औषधि नियमित खानुपर्छ । बेला–बेला अचेत हुन्छन् । महिनामा २–३ पटक स्वास्थ्य जाँचका लागि अस्पताल पुग्नुपर्छ । बेलाबेला मनोचिकित्सकलाई देखाउनुपर्छ । साथमा पैसा नहुँदा औषधिसमेत उधारो खानुपरेको छ । यस्तो अवस्था आउनुमा सूर्यदर्शन सहकारी जिम्मेवार रहेको आशाले बताइन् ।

‘आफैंलाई पीर छँदै छ । आफूलाई सम्हालेर पनि श्रीमान्लाई सम्हाल्नु परेको छ । २–४ दिन जसोतसो दुःख काटौं भन्छु,’ गह पुछ्दै आशाले भनिन्, ‘अब २–४ महिना पैसा आएन भने यो परिवारको हालत के हुन्छ भन्न सक्दिनँ ।’ छोराको अवस्था देखेर आमा यसै बेचैन छिन् । आफैंलाई औषधि खान अब उनीसँग पैसा छैन । ‘घरमा रासन छैन, औषधि छैन । ठूलो छोराको हालत देखेर चिन्ता लाग्छ,’ उनले भनिन्, ‘एउटा आमा भएर त्योभन्दा ठूलो दुःख के हुन्छ ?’

सूर्यदर्शन सहकारीका बचतकर्ता आफ्नो पैसा फिर्ता माग्दै सडक आन्दोलनमा ।

सूर्यदर्शन बचतपीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठ कोरोनाको असर अहिलेको अर्थतन्त्रमा देखिएजस्तै सहकारी ठगीको असर कालान्तरसम्म देखिने बताउँछन् । ‘पीडितको अवस्था दयनीय छ । पैसा डुब्दा परिवारभित्रै कलह छ, सम्बन्धविच्छेद छ, औषधिउपचार गर्न सक्ने, छोराछोरी पढाउन सक्ने उपाय छैन,’ उनले भने, ‘जीवनस्तर खस्किएको छ । कष्टकर भएको छ ।’ पीडितले पनि आफ्नो बचत रकम फिर्ताका लागि धेरैतिर धाउँदा, आन्दोलन गर्दा थाक्ने अवस्था आइसकेको उनी सुनाउँछन् । ‘सबैले सहकारीलाई बुढेसकालको सहारा देखे । रोगको उपचार ठाने । औषधिको खर्च सम्झिए । पेन्सन नहुनेले पेन्सन माने । त्यति विश्वास सहकारीलाई गरे,’ उनले भने, ‘सरकारले कानुनसम्मत दर्ता गरेको सहकारी भनेर विश्वास गरियो । अहिले सहकारीमा समस्या आउँदा सरकार भए/नभएको अत्तोपत्तो छैन ।’

सूर्यदर्शनबाट करिब डेढ अर्ब रकम हिनामिना गरेको आरोपमा कास्की जिल्ला अदालतले गत वर्ष भदौ २४ मा १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि पोखरा महानगरले छानबिन समिति बनाएर पहिलो वित्तीय विश्लेषण प्रतिवेदन तयार गरेको थियो । प्रतिवेदनको आधारमा प्रहरी अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयले असोज १८ मा १९ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

उक्त प्रतिवेदनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले समेत ऋण लिएको उल्लेख छ । प्रतिवेदनमा १८ हजार ७ सय बचतकर्ताको बचत अपचलन भएको र ४ सय ३३ ऋणी रहेको उल्लेख छ । लामिछाने र जीबीको गोर्खा मिडियामा पोखराको सूर्यदर्शन, रूपन्देहीको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी र चितवनको सहाराबाट ९५ करोड ८० लाख ८९ हजार ल्याएर हजारौं सर्वसाधारणको बचत अपचलन गरिएको छ ।

प्रकाशित : जेष्ठ १३, २०८१ ०६:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?