कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

बोक्सी झार्न भन्दै महिलामाथि निर्मम कुटपिट

पीडकले पैंयुको लौराले पिटेको प्रहरी बयानमा उल्लेख, महिलाका शरीरका विभिन्न भागमा नीलडाम र खत
मैले आखत दिएपछि ‘तपाईंलाई बोक्सी सल्काएछन्’ भन्दै ल्वाङ खान दिएर धमाधम पिट्न थाले ।-पीडित महिला
माधव अर्याल

पाल्पा — श्रीमान् गाउँकै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी (अहेब) छन् । श्रीमती बगनासकाली गाउँपालिकाकी मेलमिलापकर्ता हुन् । बिडम्बना ! ४३ वर्षीया उनै मेलमिलापकर्ता महिला यतिबेला बोक्सीको आरोपमा निर्मम कुटपिटमा परेकी छन् । कुटपिट गर्ने व्यक्ति स्थानीयस्तरमा झारफुकको काम गर्दै आएका २९ वर्षीय पदम बस्याल हुन् ।

बोक्सी झार्न भन्दै महिलामाथि निर्मम कुटपिट

बगनासकाली गाउँपालिका–९, चापपानीकी ती महिला गत जेठ ६ मा भैंसी बिरामी भएपछि झारफुक गराउन भन्दै बस्यालको घर गएकी थिइन् । बस्यालले घरको माथिल्ला तलामा लगेर महिलालाई ‘बोक्सीको नजर लागेको’ भन्दै निर्घात कुटपिट गरेका हुन् । कुटपिटबाट घाइते भएकी महिलालार्ई छिमेकीले उद्धार गरेका थिए ।

प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी सुगन्ध श्रेष्ठले पीडितको जाहेरीका आधारमा पीडक बस्याललाई पक्राउ गरी म्याद थप गरेर प्रहरी हिरासतमा राखिएको बिहीबार पत्रकार सम्मेलन गरी बताए । ‘प्रहरीले पीडितको घाउ जाँच गराएको छ,’ उनले भने, ‘पीडकको बयान लिन भने बाँकी नै छ ।’प्रहरी नायब उपरीक्षक श्रेष्ठले महिलामाथि लौरो र हातले कुटपिट भएको बताए । पक्राउ परेका बस्यालमाथि प्रहरीले बोक्सीको आरोप (कसुर र सजाय) ऐन, २०७२ अनुसार अनुसन्धान जारी राखेको छ ।

स्थानीयका अनुसार बस्याल बेलाबेला गाउँमा आफूमा देउता उत्रिएको भन्दै हिँड्थे । कहिले मध्यरात त कहिले दिउँसो उनी आफूलाई देउता उत्रिएको दाबी गर्दै होहल्ला गर्थे । घटनाका दिन श्रीमान् स्वास्थ्य संस्था गइसकेपछि पीडक पदमकी आमाले नै फोन गरेर आफूलाई घरमा बोलाएको पीडित महिलाले बताइन् । ‘टोल–छिमेकमा देउता उत्रेको भन्ने सुनेकी थिएँ,’ उनले भनिन्, ‘त्यस दिन पीडक बस्यालकै आमाले आखत (चामल) लिएर बोलाएकी थिइन् । सोहीअनुसार चामल लिएर गएकी हुँ ।’

पीडित महिला घरमा पुग्दा दुई जना बाहिरका व्यक्ति पनि त्यहाँ थिए । ‘घरमा भैंसीले दूध दिएको थिएन, सोहीअनुसार आखत लिएर गएकी हुँ,’ उनले भनिन्, ‘म घरमा पुग्दा माथिल्लो तलामा पदम र अर्की एक महिला कराएको सुनिएको थियो ।’ त्यही घरमा छिमेकी धनराज गौतम पनि थिए । गौतमले समेत ‘तेरो आँखामा बोक्सी छ भन्दै कुटपिट गरेको र रोएको’ सुनेको बताए ।

फुकफाकका लागि आएका गौतमलाई घर पठाएर बस्यालले महिलालाई माथि बोलाएका थिए । ‘मैले आखत दिएपछि तत्कालै नजरमा बोक्सी सारेछन् भन्दै ल्वाङ दिएका थिए,’ उनले भनिन्, ‘तपाईंलाई बोक्सी सल्काएछन् भन्दै ल्वाङ खान दिएर पिट्न थाले ।’ पीडित महिलालाई बस्यालले पैंयुको लौरा र हातले पिटेको प्रहरी बयानमा उल्लेख छ । प्रहरीका अनुसार महिलाको शरीरका विभिन्न भागमा नीलडाम र खत रहेका छन् ।

‘पल्लो घरमा समेत हल्ला पुगेपछि छिमेकी आएर पिट्नबाट जोगाउनुभएको थियो,’ उनले भनिन्, ‘त्यही बेला मेरा श्रीमान्लाई फोन पनि गरेका रहेछन् । अब फसिने भयो भनेर हुन सक्छ ।’ पीडक बस्यालले रुँदै कराउँदै पूजाकोठामा आएको भन्दै फोन गरेको उनका श्रीमान्ले बताए । घटना भएलगत्तै पीडित महिलाका श्रीमान् घर पुगेका थिए । उनले अर्धचेतजस्तो अवस्थामा भेटिएकी श्रीमतीलाई बस्यालले थर्काइरहेको देखेपछि नाटक बन्द गर्न भन्दै हप्काएको बताए ।

‘त्यसै दिन घाउचोट लागेको कुरा भन्नै सकिनन्,’ पीडितका श्रीमान्ले भने, ‘चोटपटक केही नदेखाएकाले अर्को दिन मात्र नुहाउने क्रममा नीलडाम देखेको हुँ ।’ गाउँ–टोल र छिमेकका महिलालाई घाउचोट देखाएपछि सबैको आग्रहमा प्रहरीमा जाने निधो गरेको पनि उनले सुनाए । प्रहरीमा उजुरी दिए पनि पीडकका आफन्तले फोन गरेर हैरान पारेको पीडितका श्रीमान्ले बताए । प्रहरीमा उजुरी गरेपछि मिलापत्र गर्न दबाब आएको पीडित महिलाका परिवारले बताए । पीडितका श्रीमान्ले भने, ‘अहिलेको जमानामा पनि बोक्सीको आरोपमा कुट्ने प्रचलन अनौठो छ,’ उनले भने, ‘त्यस्तालाई कारबाही गर्नैपर्छ ।’

बोक्सीको आरोप (कसुर र सजाय) ऐन, २०७२ अनुसार बोक्सीको आरोपमा कुनै व्यक्तिलाई कुटपिट गर्ने, खोप्ने, डाम्ने, पोल्ने वा रासायनिक, विषालु जैविक पदार्थ प्रयोग गरी वा अन्य कुनै किसिमले यातना दिने, मलमूत्र खुवाउने, चारपाटा मुड्ने, नग्न पारी वा नपारी कुनै ठाउँमा घुमाउने वा कुनै किसिमले क्रूर, अमानवीय वा अपमानजनक व्यवहार गर्नेलाई पाँच वर्षदेखि आठ वर्षसम्म कैद र ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।

प्रकाशित : जेष्ठ १३, २०८१ ०५:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?