कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

सहकारी ठगीमा गृहमन्त्रीमाथि छानबिन माग गर्दै कांग्रेस अब सडक आन्दोलनमा

जेठ १३ मा राजधानीमा बृहत् प्रदर्शन, त्यसपछि स्थानीय तहसम्म विरोधका कार्यक्रम
सिरोहियामाथिको धरपकड र पक्राउको घटना सञ्चार जगत्लाई डर, त्रास, दबाब र नियन्त्रणमा राख्दै सरकारले सर्वसत्तावादको बाटो लिन खोजेको कांग्रेसको ठहर

काठमाडौँ — सरकार गैरजिम्मेवार, अनुदार, स्वेच्छाचारी, अलोकतान्त्रिक र निरंकुशता उन्मुख भएको ठहर गर्दै प्रमुख प्रतिपक्ष कांग्रेसले त्यसका विरुद्धमा संघीय संसद्, प्रदेश संसद् र सडकबाट सशक्त प्रतिरोध गर्ने निर्णय लिएको छ ।

सहकारी ठगीमा गृहमन्त्रीमाथि छानबिन माग गर्दै कांग्रेस अब सडक आन्दोलनमा

केन्द्रीय कार्यसमिति र संसदीय दलको बुधबार बसेको बैठकले जेठ १३ मा राजधानीमा बृहत् प्रदर्शन गर्नुका साथै त्यसपछि स्थानीय तहसम्म विरोधका कार्यक्रम लैजाने निर्णय गरेको छ । यसअघि संसदीय छानबिन समितिको मागलाई दबाब दिन सडकमा भ्रातृसंस्थालाई मात्र परिचालन गरेको कांग्रेस अब सिंगो पार्टी नै सडक प्रदर्शनमा उत्रने भएको हो ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथिको धरपकड र पक्राउको घटनालाई कांग्रेसले ‘सञ्चार जगत्लाई डर, त्रास, दबाब र नियन्त्रणमा राख्दै सरकारले सर्वसत्तावादको बाटो लिन खोजेको’ ठहर गरेको छ ।

‘देशमा लोकतन्त्र स्थापना र विधिको शासन कायम गर्न अनवरत रूपले क्रियाशील, व्यावसायिक सञ्चारगृह कान्तिपुरमाथि गरेको ज्यादतीपूर्ण कार्यले सरकारको निरंकुश चरित्र देखा परेको छ । कान्तिपुरले देशमा सुशासन, पारदर्शिता र जवाफदेहिता कायम राख्न निरन्तर समाचार सम्प्रेषण गर्दै आएको छ । यसै सिलसिलामा नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र उनी आबद्ध कम्पनीले सहकारीको रकम हिनामिना, दुरुपयोग, अपचलन ठगी गरेको समाचार प्रकाशित हुनु सत्य र स्वाभाविक थियो,’ कांग्रेसले बैठकपछि जारी गरेको निर्णयमा भनेको छ ।

समाचार प्रकाशनका कारण नै पूर्वाग्रहसहित सिरोहियालाई पक्राउ गरिएको कांग्रेसले जनाएको छ । ‘कैलाश सिरोहियालाई पक्राउ गर्ने शैली सञ्चार जगत्लाई तर्साउने उद्देश्यले प्रेरित देखिएको हुँदा नेपाली कांग्रेसको यो बैठक सरकारको पूर्वाग्रह प्रेरित यो कार्यको घोर निन्दा र भर्त्सना गर्दछ,’ कांग्रेसले भनेको छ । सञ्चार माध्यममाथि डर, त्रास सिर्जना गरी अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण गर्ने र नागरिकका मौलिक हक कुण्ठित गर्ने काम नगर्न सरकारलाई कांग्रेसले चेतावनीसमेत दिएको छ ।

सरकारले लामिछानेमाथि छानबिन हुने गरी संसदीय समिति बनाउन नचाहेको, सहकारी ठगीका बारेमा निरन्तर प्रकाशित भएका समाचारलाई लिएर कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियामाथि धरपकड र पक्राउ गरिएको, कांग्रेस नेताहरूलाई लक्षित गरेर गृहमन्त्रीले सदनको रोस्ट्रमबाट गम्भीर आरोप लगाएको विषयमा कांग्रेसभित्र गम्भीर छलफल भएको थियो ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले सिंगो राज्यसत्ता नै कब्जा गर्ने नियत राखेर सरकार मिडियामाथि आक्रमणमा उत्रिएकाले कांग्रेस सडकमा जान बाध्य भएको बताए । बैठकमा सहभागी कांग्रेस नेताहरूले दोहोरो पासपोर्ट प्रयोग गरेका र सहकारी ठगीमा संलग्न रहेका गृहमन्त्री लामिछाने पदमा बस्न लायक नभएको भन्दै राजीनामा र कारबाहीको माग राखेर प्रधानमन्त्रीलाई दबाब दिनुपर्ने धारणा राखेका थिए । संसद्को रोस्ट्रम दुरुपयोग गरेर पार्टी नेताहरूमाथि गम्भीर आरोप लगाएको भन्दै त्यसको पुष्टि गर्ने चुनौती दिन समयसीमा तोकिनुपर्ने र त्यतिञ्जेल पुष्टि गर्न नसके गृहमन्त्रीलाई सर्बत्र बहिष्कार गरेर जानुपर्ने धारणासमेत कांग्रेस नेताहरूले राखेका थिए ।

लामिछाने गृहमन्त्री भइसकेपछि सहकारीको बचत अपचलन र ठगीसम्बन्धी अनुसन्धान प्रक्रिया अवरुद्ध भएको र अनुसन्धान अभियोजन गर्ने सबै संयन्त्रलाई लज्जास्पद रूपमा दुरुपयोग गरिएको कांग्रेसले जनाएको छ । सुप्रिम, सूर्यदर्शन, स्वर्णलक्ष्मी, साहारालगायत विभिन्न सहकारीमा बचतकर्ताले राखेको बचत रकम सुरक्षाको ग्यारेन्टी गर्न, हिनामिना भएको बचत रकम फिर्ता गर्न, गैरकानुनी रूपमा रकम लेनदेन, ठगी र अपचलनमा संलग्न गोर्खा मिडिया नेटवर्क प्रालिलगायतका कम्पनी, संलग्न व्यक्ति, कम्पनी सञ्चालक, सहकारी सञ्चालकलगायतमाथि छानबिन गरी कारबाही गर्ने सुनिश्चितता गर्न संसदीय छानबिन विशेष समितिको गठन हुनुपर्ने माग अझै जोडदार ढंगले राख्ने निर्णय कांग्रेसले गरेको छ ।

विपक्षी दलको जायज मागलाई स्वीकार गर्नुपर्नेमा सत्ता गठबन्धन सहकारी ठगीको विषय लुकाउन, गृहमन्त्रीको संलग्नताको ढाकछोप गर्न अनेकन प्रपञ्चमा उत्रिएको कांग्रेसले उल्लेख गरेको छ । ‘सभामुखसँग मिलेर संसद् नै कब्जा गर्ने प्रयत्न भयो । विपक्षी दललाई पेलेर विश्वासको मतसमेत लिने काम भयो । यसले सरकार स्वयं नै सदनलाई मुठभेडतर्फ धकेल्ने, संसद्बाट उम्किने, प्रश्नबाट भाग्ने, प्रतिपक्षका आवाजलाई रोक्ने र संसद्लाई सहकारी ठगीमा संलग्न केही व्यक्तिको संरक्षणका लागि बन्धक बनाउने मनसायतर्फ उद्यत देखिएको प्रस्ट हुन्छ,’ कांग्रेसको निर्णयमा भनिएको छ ।

लामिछानेले आइतबार संसद्को रोस्ट्रम दुरुपयोग गरी नेताहरूमाथि लक्षित गरेर दिएको अभिव्यक्तिलाई लिएर कांग्रेसले प्रधानमन्त्रीसँग संसद्मा जवाफ माग्ने निर्णय गरेको छ । प्रधानमन्त्रीले जवाफ नदिएमा त्यसबाट उत्पन्न परिणामको जिम्मेवार स्वयं सरकार हुने चेतावनी पनि कांग्रेसले दिएको छ । ‘संसद्को रोस्ट्रमबाट जे कुरा गृहमन्त्रीले बोले, राजाको प्रतिगमनकालमा समेत यस्ता शब्द प्रयोग भएका छैनन् । राजा महेन्द्रले पनि कांग्रेसलाई लक्षित गरेर यस्तो भनेका थिएनन् । पदको गरिमा र सम्पूर्ण जिम्मेवारी बिर्सेर जुन तरिकाले बोलेका छन्, यसको जवाफ प्रधानमन्त्रीले दिनुपर्छ,’ नेता सिटौलाले भने ।

जेठ १३ को प्रदर्शनलाई विशेष बनाउन महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सभापति, भ्रातृसंस्थाका सभापति र तीन जिल्लाका पार्टी केन्द्रीय सदस्यको छुट्टै बैठकसमेत बसेको थियो ।

प्रकाशित : जेष्ठ १०, २०८१ ०५:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?