कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

संघीय संसद् सचिवालयको आवश्यकता सम्बोधन हुनेगरी बजेट व्यवस्था हुन्छ : अर्थमन्त्री पुन

काठमाडौँ — अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा संघीय संसद् सचिवालयलाई प्राथमिकता दिने बताएका छन् ।

संघीय संसद् सचिवालयको आवश्यकता सम्बोधन हुनेगरी बजेट व्यवस्था हुन्छ : अर्थमन्त्री पुन

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल लगायतले बुधबार सिंहदरबारमा आयोजना गरेको बजेटसम्बन्धी छलफलमा उनले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । बैठकमा सभामुख घिमिरेले संघीय संसद् सचिवालयको कामकारबाहीलाई प्रभावकारी बनाउन पनि सरकारले आगामी आर्थिक वर्षको बजेटमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

अर्थमन्त्री पुनले संघीय संसद् सचिवालयको आवश्यकतालाई सम्बोधन हुने गरी प्राथमिकताका साथ आगामी आर्थिक वर्षको बजेट आउने प्रतिबद्धता व्यक्त गरेको बैठकमा सहभागी प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले जानकारी दिए । त्यस अवसरमा संघीय संसद् सचिवालयका अधिकारीहरुले सवारी साधनसमेत काम नलाग्ने अवस्थामा पुगेको उल्लेख गर्दै आगामी आवको बजेटमा नयाँ सवारी साधन खरिद हुनेगरी बजेट व्यवस्था गर्न पनि अर्थमन्त्री पुनसँग अनुरोध गरेका थिए ।

सभापति खानले संसदीय समितिका सांसदहरु र कर्मचारीहरुले संघीय संसद् सचिवालयको कामलाई प्रभावकारी हुनेगरी बजेट व्यवस्था गर्न अर्थमन्त्री पुनको ध्यानाकर्षण गराएको बताए ।

छलफलमा प्रतिनिधिसभा उपसभामुख इन्दिरा रानामगर, अर्थसचिव मधुकुमार मरासिनीलगायतको उपस्थिति थियो ।

प्रकाशित : जेष्ठ ९, २०८१ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?