कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सिरोहियाको गिरफ्तारी गलत : सांसद सापकोटा

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारी गलत भएको सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका सांसद माधव सापकोटाले बताएका छन् । कान्तिपुरले सहकारीको रकम अपचलन लगायतका विषयमा निरन्तर प्रकाशन गरिरहेको बेला नागरिकताको विषय उठान गरी मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई पक्राउ गर्नु गलत भएको सांसद सापकोटाको भनाइ छ ।

सिरोहियाको गिरफ्तारी गलत : सांसद सापकोटा

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई प्रहरीले मंगलबार कान्तिपुर दैनिकको कार्यालयबाट पक्राउ गरेको थियो । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको तथ्य र प्रमाणसहित कान्तिपुरले निरन्तर समाचार प्रकाशन गरिरहेको बेला अध्यक्ष सिरोहियालाई कान्तिपुर दैनिकको कार्यालयबाटै पक्राउ गरिएको हो ।

माओवादी केन्द्रका सांसद सापकोटाले अहिलेको समयमा सिरोहियाको पक्राउ गलत भएको बताएका हुन् । बुधबार ईकान्तिपुरसँग कुरा गर्दै सापकोटाले भने, 'अहिले कान्तिपुरका अध्यक्ष सिरोहियाको पक्राउ गर्नु गलत हो । अहिलेको समयमा उहाँको गिरफ्तारीले प्रश्न उठाएको छ । गलत बेला कान्तिपुरका अध्यक्षलाई पक्राउ गरिएको लाग्छ ।'

सांसद सापकोटाले सिरोहिया पक्राउको निरुपण अदालती पक्रियाबाट छिट्टै हुने अपेक्षा रहेको पनि बताए ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि सिरोहियार निर्दोष रहेको बताएका थिए । अदालती प्रक्रियाबाट सिरोहिया पक्राउ परेको बताउँदै दाहालले बुधबार एक कार्यक्रमपछि प्रतिक्रिया दिएका थिए, 'अदालती प्रक्रियाबाट उहाँ निर्दोष हुनुहुन्छ । सजिलै छुट्नुहुन्छ । यो हल नै भइहाल्छ ।'

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई जिल्ला प्रशासनले दिएको नागरिकताको नम्बर अर्को व्यक्तिसँग मिलेको बहानामा मंगलबार कार्यकक्षबाटै गिरफ्तार गरिएको हो ।

स्वतन्त्र प्रेसको कार्यालयमा राज्यका सुरक्षा निकाय प्रवेश नगर्ने लोकतान्त्रिक अभ्यासलाई कुल्चिँदै काममा रहेका बेलामा अध्यक्ष सिरोहियालाई पक्राउ गर्न प्रहरीको टोली कान्तिपुर कार्यालयको आठौं तलाको कार्यकक्षमै पुगेको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुकुमार भट्टराई र एसपी रवीन्द्र रेग्मीसहितको टोली बर्दीसहितका प्रहरी अधिकृत लिएर कार्यकक्षमा प्रवेश गरेका थिए ।

मंगलबार कान्तिपुरमा गोर्खा मिडियामा चार सहकारीको ९५ करोड ८१ लाख अपचलन, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कम्पनीमा प्रबन्ध निर्देशक भएको अवधिमा मात्रै सहकारीहरूबाट ८० करोड ३१ लाख रुपैयाँ गोर्खा मिडियामा आएको दस्ताबेजबाट पुष्टि शीर्षकमा समाचार छापिएको थियो । लगत्तै बिहानैदेखि कान्तिपुरको कार्यालय परिसर र थापाथली सडकमा समेत ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

कान्तिपुर कार्यालय परिसरमा पत्रकार महासंघ, मिडिया सोसाइटी, कानुन व्यवसायी, नागरिक अगुवा, सांसदहरू, विभिन्न मिडिया प्रकाशक तथा पत्रकारहरूको उपस्थितिका बीचमा बर्दीधारी प्रहरीले सिरोहियालाई लगेका हुन् ।

प्रकाशित : जेष्ठ ९, २०८१ १४:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×