मेरो प्रधानमन्त्रीत्वकालका अधुरा र अलपत्र काम आउँदो निर्वाचनसम्ममा पूरा गर्छौं : ओली
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
इलाम — नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्रीत्वकालका अधुरा र अलपत्र कामहरुलाई आउँदो निर्वाचनसम्ममा पूरा गर्नुपर्ने बताएका छन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![मेरो प्रधानमन्त्रीत्वकालका अधुरा र अलपत्र काम आउँदो निर्वाचनसम्ममा पूरा गर्छौं : ओली](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/rkl-fikal-5kpoli5copy-1742024014207-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
इलाम क्षेत्र नं २ को देउमाई नगरपालिकास्थित मंगलबारे बजारमा बुधबार आयोजना गरिएको चुनावीसभालाई सम्बोधन गर्दै ओलीले आफू सरकारमा रहँदा सुरु गरिएका सडक पूर्वाधार, अस्पताल निर्माणजस्ता योजना अघि सारिए पनि सरकारबाट बाहिरिएपछि अलपत्र परेकाले आउँदो निर्वाचनसम्ममा सम्पन्न गराउने बताएका हुन् । 'म प्रधानमन्त्री हुँदा दुई सय १० पालिकादेखि सदरमुकाम जोड्ने सडक र तीन सय ९६ वटा पालिकामा अस्पताल बनाउन शिलान्यास गरेको थिएँ तर सरकारबाट बाहिरिएपछि ती सबै अलपत्र परेका छन् । अब अधुरा र अलपत्र कामहरुलाई आउँदो निर्वाचनसम्ममा पूरा गर्नुपर्छ ।'
अध्यक्ष ओलीले एमालेले मुलुकमा कस्तो विकास गर्छ भन्ने कुरा आफू प्रधानमन्त्री हुँदा देखाएको समेत दाबी गरे । एमालेले घरघरमा वृद्ध भत्ता पुर्याएको, सामाजिक सुरक्षा भत्ता वितरण गरेको र सडक निर्माणलगायत धेरै काम गरेको पनि उनले बताए ।
उनले इलाम क्षेत्र नं २ को विकास र यहाँका नागरिकको समृद्धिका लागि एमालेले बनाएका उम्मेदवा युवा सुहाङ नेम्वाङलाई जिताउन मतदाताहरुलाई अपिल गरे । एमालेका यस क्षेत्रका सांसद सुवासचन्द्र नेम्वाङको गएको भदौ २६ गते मृत्यु भएपछि इलाम २ मा यही वैशाख १५ गते उपनिर्वाचन हुन लागेको हो । स्वर्गीय नेता सुवासचन्द्र नेम्वाङको सपना पूरा गर्न पनि उनका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाइएको भन्दै अध्यक्ष ओलीले सुहाङलाई मतदान गर्न आग्रह गरे ।
एमालेका उपाध्यक्ष रामबहादुर थापाले एकल जातीय पहिचानको कुराले जातीय सद्भावलाई खल्बल्याउने धारणा राखे ।
नेकपा (माओवादी केन्द्र) को कोशी प्रदेशका अध्यक्ष हर्क नेम्वाङले कम्युनिष्टहरुलाई एक ठाउँमा ल्याउने ‘एजेन्डा’ पूरा गर्नका लागि पनि वामपन्थीहरुका साझा उम्मेदवार सुहाङलाई विजयी गराउनुपर्ने बताए ।
सभामा उम्मेदवार नेम्वाङले आफूले जितेको खण्डमा इलाम २ को विकास गर्ने र यहाँका नागरिकले शिर झुकाउनुपर्ने कुनै काम नगर्ने प्रतिबद्धता जनाए । उनले यही वैशाख १५ गते हुने निर्वाचनमा आफूलाई मतदान गर्न अपिल पनि गरे ।
यस क्षेत्रमा १२ राजनीतिक दल र ७ स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । एमालेका सुहाङसँगै नेपाली कांग्रेसका इलाम सभापति डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू र पहिचानवादीका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू (थेगिम) रहेका छन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)